सुर्खेतको सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मंगलबार पुनः मतदान हुने भएको छ। निर्वाचनमा खटिएका कर्मचारीको गल्तीका कारण प्रतिनिधिसभाका १०० मतपत्र प्रदेशसभाको बाकसमा खसेपछि यहाँको तीन वटा केन्द्रको मतदान रद्द गरिएको थियो।
निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालका अनुसार निर्वाचन आयोगले दुई दिनभित्र रद्द गरिएका क्षेत्रमा पुनः निर्वाचन गर्न निर्देशन दिएकाले मंगलबार निर्वाचन गर्ने तयारी भइरहेको बताए। उनले पुनः मतदान हुने क्षेत्र र निर्वाचनको सुरक्षाका लागि सरोकारवाला निकायसँग छलफल गरेर निर्णय सार्वजनिक गरिने बताए।
‘निर्वाचन आयोगले दुई दिनभित्र रद्द गरिएका स्थानमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ,’ उनले भने, ‘सोही अनुसार मंगलबारका लागि निर्वाचनको तयारी गरिरहेका छौं।’
सिम्ताको सिम्ता बहुमुखी क्याम्पसमा तीन वटा मतदान केन्द्र थिए। ति मध्ये ‘क’ मतदान केन्द्रमा प्रतिनिधिसभाका एक सय मतपत्र मतदाताले प्रदेशसभाको बाकसमा खसाएका थिए।
प्रकाशित: ५ मंसिर २०७९ ०४:५५ सोमबार