१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

नयाँ र वैकल्पिक शक्तिहरूसँग मिल्न बाबुरामले दिए बालेनलाई सुझाव

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नयाँ र वैकल्पिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्न सुझाव दिएका छन्।

बिहीबार ललितपुरको ज्वागलमा मेयर शाहसँगको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै डा. भट्टराईले आफू सधैँ वैकल्पिक शक्तिहरूको एकताको पक्षमा रहेको बताए।

सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै डा. भट्टराईले भने, ‘म नयाँ र वैकल्पिक शक्तिहरू सब एक भएर जानुपर्छ भन्ने पक्षको मान्छे हुँ। म निरन्तर त्यसमा लागेको छु। मेरो त यो १० वर्षदेखिको सपना हो।’

उनले सोही विषयमा परामर्श गर्न मेयर शाहले बोलाएको र आफू आएको स्पष्ट पारे। ‘उहाँ (बालेन) को पनि चाहना त्यही थियो,’ भट्टराईले भने।

डा. भट्टराईले आफूले बालेन लगायतका नयाँ नेतृत्वलाई मिलेर जान सुझाव दिएको बताए। ‘मेरो सुझाव- तपाईं नयाँ र वैकल्पिक भन्नेहरू जति पनि छन्, मेरो सपना पूरा गर्न एक भएर अगाडि बढ्नुस्, त्यसमा मेरो सद्भाव रहन्छ भन्ने हो,’ उनले भने।

आफ्नो भूमिकाबारे सोधिएको प्रश्नमा उनले आफू अभिभावकत्व ग्रहण गर्न वा बाहिरै बसेर सघाउन तयार रहेको संकेत गर्दै नयाँ पिँढीलाई नेतृत्व लिन आग्रह गरे।

आजै सोही स्थानमा रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच पनि वार्ता भएको थियो। रवि निस्किएलगत्तै डा. भट्टराई बालेनलाई भेट्न पुगेका थिए।

प्रकाशित: १० पुस २०८२ १८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App