१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

लोकतन्त्र संस्थागत गर्न संसदको रोष्टममा उभिन चाहेको हुँ: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले प्रतिगामीहरुबाट लोकतन्त्र जोगाउन आफू फेरी संसदको रोष्टममा उभिन चाहेको बताएका छन्। पाँच दलीय गठबन्धनले बिहीबार बागलुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका केसीले जनताको लामो संघर्षबाट प्राप्त उपलब्धीहरु जोगाउन आफू संसद बनेर भूमिका खेल्ने बताए।

‘विपक्षीले मलाई बुढो भनेकोमा मैले चित्त दुखाएको छैन, म बुढै हो। आउने माघमा म ८३ वर्षको पुग्छु,’ उनले भने,‘लोकतन्त्र, संविधानमाथि खतरा बढेकाले मैले यो उमेरमा पनि संसदको रोष्टममा उभिएर जनतालाई सत्य बताउनुपर्छ र प्रतिगामीहरुविरुद्ध उभिनुपर्छ भनेर उम्मेदवार बनेको हुँ।’  

आफूलाई बुढो भएको भन्ने बाहेक विपक्षीसंग कुनै नारा नभएको बताए। ‘बुढो भयो भनेका मात्र हुन्, यहाँ भ्रष्ट्राचार गर्‍यो, यो बदमासी गर्‍यो भन्न सकेका छैन, यसमा म खुसी नै छु,’ केसीले भने। केसीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुको आडमा एमाले अध्यक्ष ओलीले प्रतिगमनलाई संस्थागत गर्न खोजिरहेको आरोप समेत लगाए।  ‘अहिले उनको साँठगाँठ गठबन्धन कोसंग छ? राजा ल्याएर गद्दीमा राख्नुपर्छ भन्ने, तराईलाई नेपालबाट टुक्राउनुपर्छ भन्ने सिके राउतसंग गठबन्धन छ,’उनी भन्छन्,‘यसले स्पष्ट हुन्छ केपी ओली विगतको प्रतिगमनलाई संस्थागत गर्न लाग्दै छन्। यसमा अहिले छिमेकीको पनि साथ छ।’

सामन्त गोलयसंगको तीन घण्टा भेटपछि ओलीले प्रतिगामी गदम चालेको उनले दाबी गरे। लोकतन्त्र संस्थागत नहुँदासम्म गठबन्धन रहिरहने उनको भनाइ थियो। ‘नेपालमा लोकतन्त्र ल्याएको हामी पाँच दलीय गठबन्धनले नै हो र यसको संस्थागत विकास गर्ने दायित्व पनि हामी नै हो। यसको संस्थागत विकास नभएसम्म गठबन्धन रहन्छ, रहनुपर्छ,’ केसीले भने। देशभित्र चरम दक्षिणपन्थी र उग्रबामपन्थीबाट प्राप्त उपलब्धी गुम्ने खतरा रहेको बताए। अहिलेको निर्वाचन गठबन्धनले नजिते विगतको भन्दा खतरनाक प्रतिगमन हुने उनको भनाइ छ। विगतमा स्थीर सरकार बनाउन भनेर आफुहरुले दिएको साथ केपी ओलीले दुरुपयोग गरेको बताए।

‘हामीले स्थीरता र विकासका लागि ओलीलाई साथ दिएका थियौं,’ केसीले भने,‘ओलीले पार्टी र संसदमा अल्पमतमा परेपछि त्यसको दुरुपयोग गरे।’ राजनीतिक दल, सञ्चार माध्यम तथा जनता इमानदार भएपछि मात्रै लोकतन्त्र संस्थागत हुने उनको कथन थियो। ओलीले पटक पटक संसद विघटन गर्दा अदालत बिउँत्याइ दिएपछि त्यसलाई ९ महिना चल्न नदिन बन्द संसद भवनमा नाँचेकाहरु अहिले फेरी मत माग्न गाउँ पसेको उनले बताए। नेकपा एमाले उम्मेदवारले बागलुङका विभिन्न ठाउँमा बुथ कब्जा हुनसक्ने भन्दै जताएको आशंकाप्रति लक्षित गर्दै केसीले हिजोका दिनमा एमालेले शक्तिको प्रयोग गरे आफुले कब्जा गर्दै आएको हुनाले झस्किएको हुनसक्ने दाबी गरे।

क्षेत्र नम्बर १ क का गठबन्धन उम्मेदवार दीपेन्द्रबहादुर थापाले जनतामा अहिले उत्साह जागेको बताए।  ‘हामी गाउँमा पुग्दा केसी निरासा थियो, अहिले दोस्रो चोटी पुग्दा उत्साह देखिएको छ,’ उनले भने, ‘मैले ४५ वर्षसम्म सहयोगीको रुपमा काम गरेका थिए। अब चालक बन्नका लागि जनतासंग मत माग्न पुगेको छु।’ जनताको पीडा भोगर आएकोले आफुले त्यसलाई राम्रोसंग बुझेको र निर्वाचित भएपछि सम्बोधन गर्न हरतहरले प्रयास गर्ने उनले बताए। क्षेत्र नम्बर १ प्रदेश ख का उम्मेदवार डिल्लीराम सुवेदीले निर्वाचनलाई उत्सको रुपमा प्रयोग गर्न मतदातासंग आग्रह गरे।

आफुहरु संविधान रक्षाको संस्थापन पक्ष भएको उनको दाबी थियो। ‘संविधान रक्षाको हामी संस्थापन पक्ष हौं, त्यसैले हामीलाई यो संविधान र गणतन्त्रको माया छ,’सुवेदीले भने। मौन समयलाई ‘मनि’ समय बनाउन सक्ने भन्दै चनासो हुन उनले आग्रह समेत गरे।  

प्रकाशित: १ मंसिर २०७९ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App