१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

जितेर गएपछि नेताहरू फर्कंदैनन् माझीबस्ती

जिल्ला सदरमुकाम बागलुङ बजारबाट पाँच किलामिटर तल झरेपछि कालिगण्डकी किनारमा माझी बस्ती छ। बागलुङ पोखरा सडकखण्ड निर्माणको क्रममा विस्थापित भएको उक्त बस्ती त्यहाँ पुनस्र्थापित भएको तीन वर्ष भयो। लोपोन्मुख माझी समुदायको विपन्न बस्ती भएकाले चुनावका बेला यहाँ राजनीतिक दलका नेता कार्यकर्ता र उम्मेदवारको आश्वासन बाँड्ने मुख्य थलो हुन्छ। बागलुङ नगरपालिका–१ खनियाबासको उक्त विपन्न बस्तीमा करिब ५० मतदाता छन्। अहिले फेरि निर्वाचन सँघारमै आइपुगेकाले माझी बस्ती सबै दल र उम्मेदवारको चासोको विषय बनेको छ।

निर्वाचनको समयमा विभिन्न आश्वासन बाँड्दै आउनेहरू चुनाव सकिएपछि फर्केर नआउने गरेको उनीहरूको अनुभव छ। 'आफूहरू जितेर जाने अनि आफ्नो घर तुलाउने हामीले त देख्न पनि नपाउने थियो,’ उनी भन्छन्, ‘केही गरी देखियो भने पनि सुनो नसुनो गर्ने, देखो नदेखो गर्ने चलन छ।’ चुनावका बेला मात्रै नेताहरू विभिन्न प्रलोभन लिएर आउने गरेको उनी बताउँछिन्। ‘चुनाव आको बेलामा यसो गर्चम उसो गर्चम भन्दै आउनुहुन्छ के रे, चुनाव सकिएपछि कोही फर्किएर आउने होइन,’ उनले भनिन्।

१८ घर माझीहरूको आफ्नो सम्पत्तिको नाममा नगरपालिकाले बनाइदिएको साँघुरो घर छ। दैनिक जीवन चलाउन हर दिन ज्याला मजदुरी गर्नैपर्छ। कालिगण्डकी नदीबाट बालुवा निकालेर गुजारा टार्दै आएका उनीहरूलाई अहिले बालुवा निकाल्न पनि रोकिएपछि समस्या परेको छ। ‘हाम्रा समस्या त धेरै छन्, अहिले त हातमुख जोड्नै गाह्रो भएको छ,’ उनले भनिन्, ‘हामी बाँच्ने त्यही कालिगण्डकीको बगरमा गिटी बालुवा निकालेर हो। अहिले त्यही पनि निकाल्न दिएका छैनन्। हामी ऋण काढेर खाएर बाँचेका छौं। कहिलेसम्म यस्तो हुने हो ?’  

पहिले पहिले माझीले कालिगण्डीमा माछा मारेर जीवन चलाउँथे। मिर्मी थुनिएपछि अहिले कालिगण्डकीमा माछा पाउन छोडेको ७० वर्षीय देउकली माझीको भनाइ छ। ‘पहिले पहिले त माछा मारेर बेच्थेम, त्यहीबाट घरखर्च चल्थ्यो, हाम्रा बुढाले ढडिया थापेर हेर्न पठाउँथे, हामीले निकालेर बेच्थ्यौं,’ उनी भन्छिन्, ‘अहिले कालिगण्डकीमा माछा भेटिनै छाड्यो। मिर्मी थुनेपछि माछा हुन छाडे।’ माछा मार्नेसँगै सुन चाल्ने माझी समुदायको मुख्य काम थियो। बगरमा डोजर लगाएर गिटी बालुवा निकालेपछि त्यो कामबाट पनि माझी समुदायले हात धुनुप¥यो।

‘अहिले डोजर लगाएर बगर सबै गहिरो भयो, सुन पाउने ठाउँ नै छैन,’ देउकली माझीले भनिन्, ‘सुन फाल्ने पनि निश्चित ठाउँ हुन्छ, जहाँ पायो त्यहाँ हुँदैन। हिउँदमा हामी म्याग्दी बेनीसम्म सुन खोज्दै पुग्थ्यौं। घरै छाडेर जाने चलन थियो।’ अवैध कालिगण्डकी दोहनविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि अदालतले अन्तिम फैसला नहुँदासम्म कालिगण्डकीबाट गिटी बालुवा निकाल्न रोक लगाएको छ। त्यही आधारमा स्थानीय प्रशासनले माझीलाई पनि गिटी बालुवा निकाल्न दिएको छैन। अदालतले रोक लगाए पनि रातको समय कालिगण्डकीको अवैध दोहन रोकिएको छैन।

माझीलाई मात्रै रोकिएको छ। ‘डोजर रातमा आउँछ र काम गर्छ, हामी हातले काम गर्ने हो, दिनमा हामीलाई दिँदैनन्,’ उनले गुनासो गरिन्। चुनावको चहलपहल सुरु भएपछि अहिले दलका कार्यकर्ता माझी बस्ती धाउन थालेका छन्। भोट दिने विषयमा भने देउकली अन्योलमै छिन्। ‘मत त दिनैप¥यो, बाटो बनाइदिन्छम भनेका छन्, बनाइदिए त दिन प¥यो के रे,’ देउकली हाँस्दै भन्छिन्। उम्मेदवार र दलका कार्यकर्ता चुनावलक्षित गरेर मात्रै माझी बस्तीमा आउनेजाने गरेको कृष्ण माझीले बताए।  

‘हामी बाँगेचौर हुँदा पनि धेरै आउँथे, के छ तिमीहरूको समस्या सब हामी गर्दिन्छौं भन्थे,’ कृष्ण विगतको अनुभव सुनाउँछन्, ‘चुनाव सकिएपछि उहाँहरू फर्केर आएको थाहा छैन। चुनाव केन्द्रित भएर मात्रै आउनुहुन्छ।’ माझी बस्तीको सबैभन्दा ठूलो समस्या रोजगारी भएको उनीहरूको भनाइ छ।

प्रकाशित: १ मंसिर २०७९ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App