१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेभित्रको बेमेलबाट लाभ लिने दाउमा एमाले

सोलुखुम्बुमा ३० वर्षदेखि नेपाली कांग्रेसबाट लगातार चुनाव लड्दै आएका बलबहादुर केसी र एमालेका केन्द्रीय सदस्य मनवीर राईबीच प्रतिस्पर्धा हुँदैछ। सोलुबाट सातपटक उम्मेदवार भएका केसी चारपटक निर्वाचित भैसकेका छन्। उनी पाँचौंपटक प्रतिनिधिसभा सदस्य बन्ने तरखरमा छन्।

एमालेका राई पनि सोलुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर इतिहास रच्ने अभियानमा छन्। नेपाली कांग्रेसका प्रभावशाली नेता केसीले माओवादीसहितको गठबन्धनले साथ दिँदा पनि सुरक्षित महसुस गरेका छैनन। लामो समयदेखि कांग्रेसबाट एउटै व्यक्ति दोहोरिनु र कांग्रेसकै अर्का नेता आङगेलु शेर्पाको टिकट खोसेर केसी उम्मेदवार भएकाले पार्टीभित्र असन्तुष्टि देखिएको छ।

जिल्ला कार्य समितिले शेर्पालाई प्रत्यक्ष र केसीलाई समानुपातिकतर्फ उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरे पनि केन्द्रले केसीलाई प्रत्यक्षमा टिकट दिएपछि सोलु कांग्रेसमा असन्तुष्टि बढेको हो। केसी कांग्रेसका असन्तुष्टहरूको मत गठबन्धन दलमध्येको माओवादीबाट पूर्ति गर्ने मनस्थितिमा छन्। तर माओवादीभित्र पनि असन्तुष्टि रहेकाले त्यसको फाइदा एमालेले उठाउन सक्ने अवस्था देखिएको छ।

स्थानीय तहको निर्वाचनले सोलुखुम्बुबाट केसीलाई असहज देखाएको छैन। तर कांग्रेस र माओवादीकै मत विभाजित भएमा एमालेले पहिलोपटक सोलुखुम्बुबाट संसद्मा प्रवेश पाउनेछ। २०७४ सालको निर्वाचनमा हराएको माओवादीले नै अहिले केसीलाई समर्थन गर्दा उनको जितमा सहज देखिन्छ तर अहिलेसम्म चुनाव प्रचारप्रसारमा असन्तुष्टहरू नलाग्दा आशंका उब्जिएको छ।

२०४८ सालपछि केसी निरन्तर सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनले चारवटा निर्वाचन जितेका छन्। २०६४ मा माओवादीका गोपाल किरातीसँग पराजित भएका उनी २०७४ सालमा पनि माओवादीकै हेमकुमार राईसँग पराजित भएका थिए। तर अघिल्लोपटक हराउने दल माओवादीको समेत यसपटक केसीलाई साथ छ।

सोलुबाट प्रदेशसभा सदस्यमा प्रतिनिधित्व हुने दुई सिटका लागि माओवादी केन्द्रका उम्मेदवार छन्। २०७४ सालको निर्वाचनमा एमाले माओवादी गठबन्धन थियो। गठबन्धनबाट माओवादीका हेमकुमार राईले तीन हजार मतअन्तरले केसीलाई हराएका थिए। त्यतिबेला राईले २० हजार ९१२ मत ल्याएर विजयी हुँदा केसीले १७ हजार ७४५ मत पाएका थिए। ०७४ मा पराजित केसी यसपटक जित निकाल्ने अभियानमा छन्।

२०४८, २०५१, २०५६ र २०७० मा भएका निर्वाचनमा केसी विजयी भएका थिए। २०६४ सालको निर्वाचनमा पराजित केसी २०७० सालको निर्वाचनमा भने १२ हजार ४६४ मत पाएर विजयी भए। २०७० को निर्वाचनमा एमालेले सोलुखुम्बुमा दोस्रो मत पाएको थियो। एमालेका आङ ङिमा लामा शेर्माले १० हजार १०४ मत पाएका थिए। माओवादीका गोम्बु शेर्पाले ६ हजार २६९ मत पाएका थिए।  

सोलुखुम्बुबाट अहिलेसम्म एमालेका प्रतिनिधि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छैनन्। एमालेका लागि सधैं कांग्रेस नेता केसी नै तगारो बन्दै आएका छन्। सुरुका तीन निर्वाचन जित्दै केसीले ह्याट्रिक गर्दा २०६४ मा माओवादी बाधक बन्यो। २०४८, २०५१ र २०७० मा केसीले एमालेलाईं रोकेका थिए।

२०७४ मा माओवादीसँगै गठबन्धन गरेर प्रदेश संसद्मा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी हुँदा अर्को प्रदेशमा एमालेकै उत्तमकुमार बस्नेत र संघमा माओवादीले बाजी मारेको थियो। यसपटक एक्लै चुनावमा होमिएको एमाले जिल्लामा पहिलो जितको खोजीमा छ। प्रदेशमा एमालेलाई केही सहज देखिएको छ। संघमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

के छ अवस्था?

सोलुखुम्बुमा आठ वटा स्थानीय तह छन्। जसमध्ये भर्खरैको स्थानीय निर्वाचनमा एमालेले खुम्बू पासाङ ल्हामु र माप्य दुधकोसी गाउँपालिकामा मात्र जित हासिल गरेको छ। दुधकुण्ड नगरपालिका, लिखुपिके, नेचा सल्यान, सोताङ, महाकुलुङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। थुलुङ दुधकोसी गाउँपालिका माओवादी केन्द्रले जितेको छ।

खुम्बू पासाङ ल्हमु गाउँपालिकामा नेकपा (एमाले) दुई हजार २८ मत ल्याएर विजयी भएको थियो भने नेपाली कांग्रेसले एक हजार ६ सय ९ मत प्राप्त गरेको थियो। त्यहाँ माओवादीलाई ९९ मत खसेको थियो। स्थानीय निर्वाचनमा माप्य दुधकोसी गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए। तर, पनि एमालेले ३ हजार तीन सय ४३ मत ल्याएर निर्वाचन परिणाम आफ्नो पोल्टामा पारेको थियो। ल्याएको थियो। कांग्रेस–माओवादीको मत दुई हजार नौ सय ८७ छ।

लिखुपिके गाउँपालिका नेपाली कांग्रेसले एक हजार दुई सय ६० मत पाएर विजयी भएको छ। माओवादी उम्मेदवारले १हजार१ सय १३ र नेकपा (एमाले) ले ६सय ८० मत ल्याएका थिए। दुधकुण्ड नगरपालिकामा नेपाली कांग्रेस चार हजार नौ सय ६८, नेकपा एमालेको चार हजार तीन सय ९०, माओवादी केन्द्रको ११ सय ९७ र जसपाको ९२ छ।

नेचा सल्यान गाउँपालिका नेपाली कांग्रेस दुई हजार पाँच सय ६९, नेकपा (एमाले) दुई हजार तीन सय १३, माओवादी केन्द्रको १ हजार १ सय १९ मत छ। त्यहाँ अरू दलले ७२ मत पाएका थिए। थुलुङ दुधकोसी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले चार हजार ४९, नेपाली कांग्रेसले तीन हजार पाँच सय ११ र नेकपा (एमाले) ले १ हजार ६ सय एक मत प्राप्त गरेको थियो।

सोताङ गाउँपालिकामा नेपाली कांग्रेसले १ हजार ६ सय ४८ ल्याएका थिए भने त्यहाँ एमाले १ हजार पाँच सय २० मत पाएर दोस्रो भएको थियो। माओवादी केन्द्रले १ हजार तीन सय ५३ मत पाएको थियो। महाकुलुङ गाउँपालिकामा नेपाली कांग्रेसले २ हजार १ सय मत ल्याएको थियो। त्यहाँ १ हजार ६ सय २६ मत ल्याएर माओवादी केन्द्र दोस्रो र १ हजार ४ सय ५३ मत प्राप्त गरी एमाले तेस्रो भएको थियो।

स्थानीय तहमा अध्यक्ष पदमा प्राप्त मत अनुसार नेपाली कांग्रेसको २० हजार ६ सय ५२, एमाले १७ हजार ४ सय एक र नेकपा (माओवादी केन्द्र) ले १० हजार पाँच सय ५६ मत छ। स्थानीय तहमा प्राप्त परिणाम अनुसार सोलुमा कांग्रेस–माओवादीको मत ३१ हजार २ सय आठ र एमालेको १७ हजार चार सय एक छ।

प्रकाशित: २८ कार्तिक २०७९ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App