५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

अनुभवी त्रिपाठीलाई अर्बपति चौधरी चुनौती

हृदयेश त्रिपाठी र विनोद चौधरी।

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपालका एक मात्र अर्बपति विनोद चौधरी पनि प्रतिस्पर्धामा छन्। सन् २०१३ देखि अर्बपतिहरूको सूचीमा रहन सफल व्यवसायी चौधरी नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका हुन्।

पञ्चायतकालमा राजपरिवारसँग निकट चौधरी २०४६ सालपछि एमालेसँग नजिकिएका थिए। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि उनी कांग्रेसमा प्रवेश गरे। कांग्रेस प्रवेशसँगै उनी मधेसी कोटामा समानुपातिक सांसद भए। कांग्रेसको १४औं महाधिवेशनबाट मधेसी कोटामा केन्द्रीय सदस्य चुनिएका चौधरी अहिले प्रत्यक्षतर्फ सत्ता गठबन्धनको सहयोगमा नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर १ मा संसदीय राजनीतिका पाका र अनुभवी नेता हृदयेश त्रिपाठीसँग चुनावी प्रतिस्पर्धामा छन्। २०४६ सालको राजनीतिक परिवर्तनपछि निरन्तर जनअनुमोदित त्रिपाठी भने मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेको सहयोगमा उम्मेदवार बनेका हुन्।

उद्योग-व्यवसायमा सफल र अनुभवी चौधरी तथा संसदीय राजनीतिमा चुनावी परिणामलाई निरन्तर आफ्नो पक्षमा पार्ने विरलै नेतामध्येका एक त्रिपाठीबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्ने देखिएको छ। अहिले पनि चौधरीले समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बन्न चाहेको भए उनी सूचीमा रहन सक्थे। तर उनी प्रत्यक्षतर्फबाट उम्मेदवार बनेर जनअनुमोदित हुने संघर्षमा छन्। चौधरीको जनअनुमोदित भएर सक्रिय राजनीतिमा आउने रहर संसदीय राजनीतिका पाका तथा जनता प्रगतिशील पार्टीका नेता त्रिपाठीका लागि चुनौती बनेको छ।

नेपाल सद्भावना पार्टीबाट राष्ट्रिय राजनीतिमा उदाएका त्रिपाठी २०५१ सालको मध्यावधि निर्वाचनपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति भएसँगै थप चर्चामा आएका थिए। त्रिपाठी प्रतिस्पर्धी चौधरीलाई राजनीतिक नेता मान्न तयार छैनन्। त्रिपाठीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा चौधरीको भूमिका केही नभएको दाबी गर्दै एक कार्यक्रममा भने, ‘उहाँँ नेता होइन, प्रसिद्ध उद्योगपति हो, डलरपति हो।’

त्रिपाठीले व्यवसायी चौधरी कांग्रेस कोटामा नवलपरासी पश्चिम १ मा उम्मेदवार भएकोमा असन्तुष्टि व्यक्त गर्दै ‘पर्यटक उम्मेदवार’ को संज्ञा पनि दिएका छन्। उनले पर्यटक उम्मेदवारलाई जनताले नरुचाउने दाबी गरेका छन्। त्रिपाठीले भने, ‘चौधरी मेरा परम मित्र हुनुहुन्छ। मोटरसाइकलमा हिँड्नुभएको छ। अर्बपति उहाँले पातमा खानुभएको छ। यो हाम्रा लागि खुसीको कुरा हो तर राजनीति उहाँको विषय होइन।’

चौधरीले आफूलाई कसैले पर्यटक उम्मेदवार भन्छ भने त्यो पराजित मानसिकताको उपज भएको प्रतिक्रिया दिएका छन्।

उनले संविधानले नै हरेक नागरिकलाई १ सय ६५ निर्वाचन क्षेत्रभित्र उम्मेदवार हुने अधिकार दिएको र आफूले नवलपरासीलाई कर्मथलो बनाएर वर्षौंदेखि काम गर्दै आएको बताए। आफू नाम र दामका लागि नभएर देशप्रतिको माया र आर्थिक परिवर्तन ल्याउन पूर्णकालीन राजनीतिमा सक्रिय भएको चौधरीले बताएका छन्। चौधरीले आफू हिजो पनि बसमा हिँडेको र सरकारी विद्यालय पढेर आएको भन्दै जनताबाट अनुमोदित भएर देशको आर्थिक एवं सामाजिक विकासमा योगदान गर्ने चाहनाले सक्रिय राजनीतिमा प्रवेश गरेको जवाफ त्रिपाठीलाई दिएका छन्। राजनीतिका लागि राजनीति गर्न नभएर त्यसमा परिवर्तन ल्याउन आफू सक्रिय राजनीतिमा आएको भन्दै उनले त्रिपाठीसँग मित्रवत सम्बन्ध रहेको बताएका छन्। उनले आफूले स्वस्थ चुनावी प्रतिस्पर्धामा विश्वास गर्ने पनि बताए।

लोकतन्त्रमा पनि यहाँ (नवलपरासी पश्चिम १) का नागरिकले त्यसको अनुभूति गर्न नपाएको र विकासका दृष्टिले बत्तीमुनिको अध्याँरो जस्तै रहेको चौधरीको भनाइ छ। ‘मुसहरहरूले राम्रो ओत पाएका छैनन्। थारू, मधेसी समुदायको आर्थिक अवस्था जर्जर छ। लुम्बिनी प्रदेशमा सबैभन्दा बढी युवा वैदेशिक रोजगारीमा यही क्षेत्रबाट गएका छन्। सुस्ता समस्या वर्षाैंदेखि समाधान भएको छैन,’ चौधरीले भने, ‘यी समस्या सम्बोधन गर्नु मेरो प्राथमिकता हुनेछ।’

ऊखु किसानले भुक्तानी नपाएको, केरा किसानले मूल्य नपाएको, सिँचाइको समस्या, गण्डक नहरमा रहेको हाइड्रोबाट १५ मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा ३ मेगावाट मात्र भैरहेको जस्ता विषयलाई पनि उनले चुनावी मुद्दा बनाएका छन्। सडक र आर्थिक विकासलाई पनि जोड दिँदै चौधरीले भने, ‘यो देशलाई छोटो समयमा विकसित राष्ट्रमा परिणत गर्न सकिन्छ भन्नेमा म प्रस्ट छु। म यो देशमा परिवर्तन ल्याएरै छाड्नेमा कटिबद्ध छु।’

२०१६ असार ४ मा जन्मेका हृदयेश त्रिपाठी २०३३ सालदेखि राजनीतिमा लागेका हुन्। त्रिपाठी नेपाल सद्भावना पार्टीको प्रवक्ता, महासचिव, तराई मधेस लोकतान्त्रिक पार्टीको उपाध्यक्ष हुँदै हाल जनता प्रगतिशील पार्टीको संयोजक छन्। पटकपटक मन्त्री बनिसकेका त्रिपाठी २०४६ सालको राजनीतिक परिवर्तनपछि निरन्तर जनताबाट अनुमोदित हुँदै आएका छन्। २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट एमालेको चुनाव चिह्नमा प्रतिनिधिसभा सदस्य निर्वाचित त्रिपाठी फेरि पनि एमालेकै समर्थनमा चुनावी मैदानमा खडा भएका हुन्।

२०१२ वैशाख १ मा जन्मेका चौधरी करिब डेढ दशकअघि राजनीतिक दलमा आबद्ध भएका हुन्। उनी समानुपातिक कोटामा एमालेबाट पहिलो संविधानसभाको सदस्य बनेका थिए। उनी व्यवसायसँगै विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध छन्।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतलाई आधार मान्ने हो भने नवलपरासी पश्चिम १ मा कांग्रेसको सबैभन्दा धेरै ३० हजार ३ सय ४२ भोट छ। त्यस्तै एमालेको २६ हजार ७ सय ७९, माओवादी केन्द्रको ५ हजार ३ सय ४७, जनता प्रगतिशील पार्टीको ४ हजार ६ सय ८१, जनता समाजवादी पार्टी (जसपा) को ३ हजार ५ सय ९९, नेकपा एकीकृत समाजवादी (नेकपा एस) को १ हजार १ सय ४१, राष्ट्रिय जनमोर्चाको २ सय ६० मत छ।

प्रकाशित: २३ कार्तिक २०७९ ००:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App