परम्परागत क्षेत्र छोडेर कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेत क्षेत्र नं. २ को उम्मेदवार बने। यसै क्षेत्रका एमाले उम्मेदवार शेरबहादुर तामाङले सार्वजनिक अभिव्यक्तिमार्फत बस्नेतलाई ‘टुरिष्ट’ को संज्ञा दिए।
बस्नेतले पनि चुनावी सभाबाटै तामाङलाई जवाफ फर्काए। तामाङको सिन्धुकोटस्थित घरमा झार उम्रिएको, मेलम्ची बाढीमा राहत, उद्धार गर्न सबैभन्दा पहिला आफू पुग्दा मन्त्री रहेका उनले वास्ता नगरेको भन्दै बस्नेतले ‘असली टुरिस्ट’ को हो भनेर चिन्ने जिम्मेवारी मतदातालाई नै सुम्पिए।
यतिबेला कांग्रेस, एमालेको चुनावीसभामा पुग्दा दुबै उम्मेदवार एक/अर्काविरुद्ध यस्तै आक्रमक अभिव्यक्ति दिइरहेका भेटिन्छन्। पूर्वमन्त्री रहेका ‘हेबिवेट’ उम्मेदवारको चर्का भाषणले क्षेत्र नं. २ चर्चामा मात्र छैन, चुनावी सरगर्मीसमेत ह्वात्तै बढाएको छ।
कांग्रेस केन्द्रीय सदस्य बस्नेत सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा ओर्लिएका हुन्। एमालेका स्थायी समिति सदस्य तामाङ भने एक्लै प्रतिस्पर्धामा होमिएका छन्। यो तामाङको परम्परागत क्षेत्र हो भने बस्नेतको लागि नयाँ। दुई पटक चुनाव जितेर दुबै पटक मन्त्री बनेका उनीहरु पहिलो पटक चुनावी मैदानमा भिड्दै छन्। त्यसैले यहाँको चुनाव सबैको चासोमा छ।
बस्नेतले क्षेत्र नं. १ बाट चुनावी प्रतिस्पर्धा गर्दै आएका थिए। यो उनको गृहक्षेत्र हो। गठबन्धनका कारण यो क्षेत्र माओवादीको भागमा परेपछि बस्नेत २ मा आइपुगेका हुन्। केन्द्रीय व्यक्तित्व र प्रभावशाली नेताको छवि बनाएका उनीहरुबीच कडा टक्कर हुने धेरैको अनुमान छ।
तेस्रो पटक जित्ने बस्नेतको दाउ
बस्नेत संसदीय राजनीतिको चुनावी मैदानमा चतुर खेलाडी मानिन्छन्। बस्नेतकै शब्दमा ‘चुनाव कसरी जित्नु पर्छ’ उनलाई राम्रैसँग थाहा छ। उनी योसमेत छैटौँ पटक संसदीय चुनाव भिड्दै छन्। यसअघिका पाँच चुनावमा उनी दुई पटक विजयी भइसकेका छन्। उनको राजनीतिक ‘करियर’ मा एउटा रमाइलो संयोग बनेको छ, बिजोरपटक हार्ने, जोरपटक जित्ने। बस्नेतका अनुसार यो पटक उनले चुनाव जित्ने पालो हो।
२०४८ देखि बस्नेतले एउटा बाहेक हरेक संसदीय चुनावमा प्रतिस्पर्धा गर्दै आएका छन्। पहिलो पटक उम्मेदवार बनेको २०४८ को आमनिर्वाचनमा उनी साविक क्षेत्र नं. १ मा एमालेका अमृतकुमार बोहोरासँग पराजित भए। २०५१ को मध्यावधि निर्वाचनमा उनले टिकटै पाएनन्। दोस्रो पटक टिकट पाएको २०५६ को चुनावमा सोही क्षेत्रबाट एमालेका बोहरालाई नै हराएर चुनाव जितेका उनी स्वास्थ्य राज्यमन्त्री बने।
साविक क्षेत्र नंं १ बाटै २०६४ को संविधान सभा निर्वाचनमा बस्नेत तेस्रो स्थानमा रहेर पराजित भए। बस्नेत तेस्रो पटक उम्मेदवार बनेको यो निर्वाचन माओवादीका राजकुमार श्रेष्ठले जितेका थिए। जोरपटक चुनाव जित्ने संयोग बनाएका उनी २०७० को अर्को संविधान सभा चुनावमा यसै क्षेत्रबाट निर्वाचित भए। त्यतिबेला उनले एमालेका अरुण नेपाललाई हराएका थिए। यो चुनाव जितेको कार्यकालमा उनी सूचना तथा सञ्चारमन्त्री भएर सरकारको प्रवक्तासमेत बने।
चुनाव जितेको कार्यकाल मन्त्री बन्ने अर्को संयोग पनि बस्नेतले बनाएका छन्। पाँचौ प्रतिस्पर्धामा २०७४ को निर्वाचनमा उनी पराजित भए। एमाले समेतको मतमा बस्नेतलाई १० हजारभन्दा बढी मतान्तरमा हराउँदै सभामुख अग्निप्रसाद सापकोटाले चुनाव जितेका थिए। यो पटक पनि उनले अन्तिमसम्म क्षेत्र नं. १ नै दाबी गरेका थिए। साविक क्षेत्र नं. ३ सहित २ को आधा भूगोल गाभेर हाल बनेको क्षेत्र नं. २ बाट अहिलेसम्म कांग्रेसले जित्न सकेको छैन। साविक क्षेत्र छोडेपछि पार्टीले खाता खोल्न २ मा पठाएको प्रतिक्रिया बस्नेतले दिँदै आएका छन्। चुनावी अभियानका क्रमम उनले निर्वाचनपछिको नयाँ सरकारको गृहमन्त्रीको रुपमा आफूलाई प्रस्तुत गर्दै आएका छन्।
तामाङ जिते ह्याट्रिक, हारे तीन पटक
एमाले उम्मेदवार तामाङ लगातार चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा छन्। उनले यसअघि २०७० र २०७४ को चुनाव लगालग जितेका थिए। उनी योसमेत पाँचौँ पटक चुनावी मैदानमा छन्। २०५६ मा पहिलो पटक उनी साविक क्षेत्र नं. ३ मा मालेबाट उम्मेदवार बनेर पराजित भएका थिए। २०६४ को संविधान सभा निर्वाचनमा एमालेबाट यसै क्षेत्रमा उम्मेदवार बनेर उनी पराजित भए। माओवादी, एमाले र राप्रपाबीचको त्रिपक्षीय टक्करमा उनी दोस्रो भए।
२०७० को अर्को संविधान सभा चुनावमा तामाङले जितको पहिलो स्वाद चाखे। उक्त चुनावमा राप्रपाका पशुपति शम्शेर राणालाई हराउँदै उनी निर्वाचित भएका थिए। माओवादीसमेतको मतमा २०७४ को निर्वाचनमा उनी क्षेत्र नं. २ बाट बिजयी भए। कांग्रेसको साथ पाएको राप्रपाका पशुपति शमशेर राणालाई नै पराजित गर्दै सांसद बनेका उनी यो एउटै कार्यकालमा दुई पटक कानुनमन्त्री बने।
२०४८, २०५१ र २०५६ चुनावमा लगातार जितेर ह्याट्रिका गरेका राणा त्यसपछिका तीनवटै निर्वाचनमा ह्याट्रिकै हार बेहोरेपछि यो चुनावमा प्रतिस्पर्धामा छैनन्। उनी समानुपातिक उम्मेदवार बनेका छन्। त्यसैले यहाँ बस्नेत र तामाङबीच मुख्य प्रतिस्पर्धा हुँदै छ।
अंकगणित बस्नेतको पक्षमा
यहाँ स्थानीय तह निर्वाचनको मतपरीणाम भने गठबन्धनको पक्षमा देखिन्छ। यहाँ गठबन्धन एमालेभन्दा १६ हजार २ सय ४९ मतले अगाडि देखिन्छ। गठबन्धनसँग ४७ हजार २५ र एमालेसँग ३१ हजार ७ सय ७६ मत छ। स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको भोटको आधारमा कांग्रेसले २९ हजार २ सय ९३, माओवादीले १६ हजार ६९ र एकीकृत समाजवादीले १ हजार ६ सय ६३ मत ल्याएका थिए।
गठबन्धनका कांग्रेस–माओवादी स्थानीय चुनावमा प्राप्त गरेको मत संरक्षण गरेरै जित्ने दाउमा छन्। चुस्त पार्टी र चलायमान कार्यकर्ताद्धारा संगठित एमाले भने पार्टीको मत बढाउँदै गठबन्धनका असन्तुष्ट कार्यकर्ता र अन्य साना दलका कार्यकर्ताको मन जितेर चुनावी नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा देखिएको छ।
जनजाति हुनुको फाइदा भने एमालेका तामाङले लिन सक्ने छन्। यो जनजाति बाहुल्य क्षेत्र हो। जातीय भोट तानेर पल्लाभारी हुने दाउमा उनी देखिन्छन्। २०६४ र २०७० संविधान सभा निर्वाचनमा पराजय भोगेपछि राप्रपाका राणाले जनजाति उम्मेदवारकै कारण आफू हार्नु परेको बताएका थिए। कांग्रेसका बस्नेत भने माओवादीको पुरै भोट लिएर आफूले क्षेत्र नं. १ मा गरेका काम मतदातामाँझ लग्दै, भावी गृहमन्त्रीको रुपमा आफूलाई उभ्याएर एमालेकै भोट तान्दै मतान्तर बढाउने कसरतमा छन्।
प्रकाशित: २१ कार्तिक २०७९ १२:१० सोमबार