१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रेस काउन्सिलले निर्णय नसच्याए अवज्ञा गर्ने चेतावनी

प्रेस काउन्सिल नेपालले नागरिक दैनिकमा कात्तिक ३ गते प्रकाशित ‘कल केपीबा !’ कार्टुनलाई लिएर प्रधानसम्पादक गुणराज लुइँटेललाई सोधिएको २४ घण्टे स्पष्टीकरणको अवज्ञा गर्ने निर्णय नेपाल पत्रकार महासंघसहितका संस्थाले गरेका छन्।  

प्रेस काउन्सिल नेपालको २४ घण्टे स्पष्टीकरण पत्र सोमबार नागरिक दैनिकका प्रधानसम्पादक लुइँटेललाई प्राप्त भएको थियो। काउन्सिलको यो कदमप्रति मंगलबार नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश, नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशका साथै कार्टुनिस्ट क्लब अफ नेपाल, फ्रिडम फोरम नेपाल र नागरिक दैनिकले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै अंकुश लगाउनेगरी काउन्सिलले सम्पादकलाई २४ घण्टे स्पष्टीकरण सोधेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।  

सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंगठनले प्रेस काउन्सिल नेपाललाई आफ्नो निर्णय तत्काल सच्याउन आग्रह गर्दै नसच्याए अवज्ञा गर्ने चेतावनी दिएका छन्। नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीसहित विभिन्न संघसंस्थाका टोलीले मंगलबार प्रेस काउन्सिल नेपालको कार्यालयमै पुगेर अध्यक्ष बालकृष्ण बस्नेतलाई भेटी निर्णय फिर्ता लिन आग्रह गरेका छन्। प्रेस काउन्सिलले निर्णय नसच्याए त्यसको अवज्ञा गर्ने जानकारी पनि उनीहरूले गराएका छन्।  

पत्रकार महासंघसहितको संलग्नतामा निर्माण भएको पत्रकार आचारसंहिताको पूर्णपालना गर्न यससँग सम्बद्ध संघसंगठन प्रतिबद्ध रहे पनि काउन्सिलको पछिल्लो स्पष्टीकरण पूर्वाग्रहपूर्ण रहेको भेटमा सहभागीले बताएका छन्। पटकपटक प्रधानमन्त्रीसहित विभिन्न सार्वजनिक पद धारण गरेका व्यक्ति र नेताहरूले व्यक्त गरेका धारणालाई समाचार बनाउँदा सधैँ जवाफ दिइरहनुपर्ने भन्दै भेटमा सहभागीहरूले नागरिक दैनिकमा प्रकाशित कार्टुन विगतमा केपी ओलीले व्यक्त गरेको सार्वजनिक अभिव्यक्तिको एकीकृत रूप मात्र भएको बताएका थिए। केपी ओलीसहित सार्वजनिक पदमा रहेका व्यक्तिहरूप्रति प्रश्न र खबरदारी गर्ने सञ्चारमाध्यमको धर्म भएको सहभागीले बताएका थिए। नागरिक दैनिकमा प्रकाशित कार्टुनलाई लिएर प्रेस काउन्सिल नेपालले सोधेको स्पष्टीकरण कुनै व्यक्तिको लहड र पूर्वाग्रहको उपज भएको ठहर सञ्चारकर्मी र सञ्चारमाध्यमले गरेका छन्।

काउन्सिलका अध्यक्ष बस्नेतसँगको भेटमा महासंघका महासचिव पुरीले कार्टुन विधाको काम नै विकृति, विसंगतिविरुद्ध खबरदारी गर्ने भएको धारणा राख्दै नागरिक दैनिकमा छापिएको उक्त कार्टुनबाट आचारसंहिता उल्लघन नभएको बताए। काउन्सिललाई आफ्नो निर्णय फिर्ता लिन तत्काल आग्रह गर्दै महासचिव पुरीले सामान्य विषयलाई लिएर स्पष्टीकरण सोध्ने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने धारणा राखे।  

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशका महासचिव रोयल आर्चायले विगतमा नागरिक दैनिकसहित विभिन्न सञ्चारमाध्यममा त्योभन्दा कडा कार्टुनहरू प्रकाशित भएको भन्दै अहिले पूर्वाग्रहका आधारमा स्पष्टीकरण सोधिएको बताएका थिए। उनले तत्काल निर्णय फिर्ता लिन काउन्सिलका अध्यक्ष बस्नेतलाई आग्रह गरे।

कार्टुनिस्ट क्लब अफ नेपाल महासचिव रवि मिश्रले समान्य कार्टुनलाई लिएर काउन्सिलले स्पष्टीकरण सोधेर यो विधामाथि नै धावा बोल्न लागेको धारणा राखेका थिए। काउन्सिलले निर्णय फिर्ता नलिए त्यसको अवज्ञा गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरू उभिन बाध्य हुने चेतावनी उनले दिए।  

कार्टुनिस्ट वासु क्षितिजले कार्टुनका माध्यमबाट व्यंग्य गर्नेक्रममा विभिन्न अवरोध आफूहरूले भोग्नुपरेको बताए। उनले लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा पनि प्रेस काउन्सिलले पुरानै रबैया देखाएको धारणा राखे। काउन्सिलको पछिल्लो स्पष्टीकरण पत्रले यो सबैको संस्था हो भन्ने विश्वासलाई कमजोर बनाएको भन्दै उनले पनि निर्णय सच्याउन आग्रह गरे।  

अर्का कार्टुनिस्ट अभिनले पछिल्लो स्पष्टीकरणलाई लिएर विदेशमा रहेका कार्टुनिस्टको पनि ध्यानाकर्षण भएको भन्दै काउन्सिलले रचनात्मक क्षेत्रलाई निरुत्साहित गर्न खोजेको आरोप लगाए। काउन्सिलको यस किसिमको कार्यले अन्ततः सञ्चार क्षेत्र, लोकतान्त्रिक संस्था र निकायलाई कमजोर बनाउने धारणा उनले राखे।  

आफूले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको सबैभन्दा धेरै कार्टुन बनाएको तर उनैले आफूलाई चिया पिउन बोलाउने गरेको स्मरण अर्का कार्टुनिस्ट रविन सायमिले गरे। अहिले सामान्य कार्टुनलाई लिएर काउन्सिलले स्पष्टीकरण सोधेको भन्दै उनले असन्तुष्टि जनाए। 

नागरिकको आवाजलाई प्रेसले जहिले पनि उठान गर्ने धारणा राख्दै नागरिक दैनिकका प्रधानसम्पादक लुइँटेलले सार्वजनिक पद धारणा गरेका व्यक्ति सधैं जनताप्रति जवाफदेही हुनुपर्ने बताए। विगतमा कुनै व्यक्तिले व्यक्त गरेका प्रतिबद्धता पूरा नगरेकोेमा प्रश्न गर्नु सञ्चारमाध्यमको दायित्व भएको भन्दै लुइँटेलले ‘कल केपीबा !’ कार्टुन छाप्दा कसरी आचारसंहिता उल्लंघन भयो भन्ने आफूले बुझ्न नसकेको धारणा राख। राजनीतिक दल, तिनका नेतालाई प्रश्न गर्ने दायित्वबाट आफूहरू नरोकिने भन्दै उनले काउन्सिलले निर्णय नसच्याए स्पष्टीकरणलाई अवज्ञा गर्ने बताए।

काउन्सिलका अध्यक्ष बस्नेतले कार्टुन एक महत्वपूर्ण विधा भएको भन्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले यो विषयलाई काउन्सिलको बोर्ड मिटिङमा राख्ने पनि बताए।

काउन्सिलको स्पष्टीकरण सोध्ने निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका महासचिव रोयल आचार्य, कार्टुनिस्ट क्लब अफ नेपालका महासचिव रवि मिश्र र नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा कार्टुन प्रकाशन भएको विषयलाई लिएर काउन्सिलले नागरिक दैनिकका सम्पादकलाई २४ घण्टे स्पष्टीकरण सोध्नु संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको उल्लेख छ। पत्रकार आचारसंहिता पालनामा आफूहरू गम्भीर रहेको प्रष्ट पार्दै विज्ञप्तिमा आगामी दिनमा यस्ता घटना नदोहो¥याउन काउन्सिललाई आग्रह गरिएको छ। यसै विषयमा फ्रिडम फोरमले पनि छुट्टै विज्ञप्ति प्रकाशित गरी आपत्ति जनाएको छ ।

प्रकाशित: १६ कार्तिक २०७९ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App