१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

निर्वाचन नजिकिँदै जाँदा अन्य पार्टीका नेता कार्यकर्ता तान्ने होड

मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनलाई लिएर बारा, पर्सामा अन्य पार्टीका नेता कार्यकर्ताहरूलाई तान्ने होड चलेको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेकाहरूले निर्वाचित हुन चाहिने मत जोहो गर्नको लागि पार्टी प्रवेश गराएर नेता, कार्यकर्ता तान्ने कार्य गरिएको हो।

कात्तिक ११ गते शुक्रबार नेपाली कांग्रेसका पूर्व सांसद अनिल रुंगटा र पर्सा १ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार रामनारायण कुर्मीले जसपा फिरोज आलम लगाएतकालाई कांग्रेसका प्रवेश गराएका छन्।

जसपाका स्थानीय नेता रहेका वीरगन्ज महानगरपालिका–२ छपकैयाका फिरोजको नेतृत्वमा मुस्तफा अंसारी, सुरज पटेल,मकबुल देवान, श्यामकुमार वर्णवाल र नाजिर आलम देवान कांग्रेसमा प्रवेश गराइएको छ। नवप्रवेशीहरूलाई कांग्रेस नेता रुंगटा र कुर्मीले टीका लगाएर पार्टीमा स्वागत गरे।

जसपका स्थानीय नेतालाई कांग्रेसमा प्रवेश गराएका कांग्रेस नेता रुंगटाले फिरोजको प्रभावन उनको समुदायमा राम्रो रहेकोले सत्ता गठबन्धनको उम्मेदवारलाई विजयी बनाउनमा ठुलो सहयोग पुग्ने बताए।

फिरोज मात्र नभएर गाउँगाउँ टोलटोलमा रहेका अन्य पार्टीका स्थानीय नेता कार्यकताहरूलाई कांग्रेसमा प्रवेश गराएर कांग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने कार्यमा लागिएको रुंगटाले बताए।

कात्तिक १० गते पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट एमाले –जसपा गठबन्धनबाट उम्मेदवार बनेका प्रदीप यादवले काँग्रेसका स्थानीय नेता प्रमोद प्रसादलाई जसपामा प्रवेश गराएका छन्। विगत २८ वर्षदेखि कांग्रेसको सक्रिय राजनीति गर्दै वीरगन्ज महानगरपालिका १२ का साहलाई नेता यादवले जसपमा प्रवेश गराउन सफल बनेका छन्। नेता साहको जन अधार राम्रो रहेकोले जसपामा प्रवेश गराइएपछि साहले निर्वाचनमा राम्रो मतको व्यवस्था गर्न सकिने नेता यादवले दाबी गरे।

कात्तिक १० गते संविधानसभा सदस्य तथा एमाले मधेस प्रदेस कार्य समिति सदस्य जय प्रकाश यादव नेकपा एकीकृत समाजावदी पार्टीमा प्रवेश गराइएको छ।  

नेकपा एकिकृत समाजवादी बाराले बिहिबार निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजना गरेको कार्यक्रममा नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले यादवलाई पार्टीमा प्रवेश गराएका हुन्।

नेता नेपालले यादवसहित एमाले र जसपाका तीन दर्जनभन्दा बढी नेता कार्यकर्ताहरूलाई टिका र माला लगाएर पार्टीमा प्रवेश गराएका छन्। एमाले नेता नेकपा एसमा प्रवेश गरेपछि निर्वाचनमा आफ्नो जित सुनिश्चित बनेको बारा निर्वाचन क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेको किसान श्रेष्ठले दाबी गरेका छन्।

नेता श्रेष्ठले निर्वाचन क्षेत्र नम्बर ४ मा रहेका जसपा र एमालेका स्थानीय नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउने उद्देश्य लिएर अगाडी बढिएको बताए ।

कात्तिक १० गते नै नेकपा एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दुई केन्द्रीय सदस्य सहित १० जना पार्टी प्रवेश गरेका छ। लोसपाका केन्द्रीय सदस्यद्वय राजाराम साह र प्रिया रानी रश्मी सिंह लगाएतकालाई एमाले अध्यक्ष ओली निवास बाल्कोट पुगेर उनीहरू एमाले प्रवेश गरेका हुन्।

एमाले–जसपा गठबन्धनबाट बारा निर्वाचन क्षेत्र नम्बर. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको एकबाल मियाले उनीहरूको प्रवेशले निर्वाचनमा मत बढाउने कार्यमा ठुलो सहयोग हुने दाबी गरेका छन्।

दुई दिनको अन्तरालमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ र बाराको निर्वाचन क्षेत्र नम्बर ४ मा सत्त गठबन्धनका नेताहरूले एमाले–जसपा गठबन्धनको नेता कार्यकर्ता र एमाले–जसपा गठबन्धनको नेताले सत्ता गठबन्धनका नेता कार्यकर्ताले तानेर पार्टी प्रवेश गराएको उदाहरण मात्रै हो।

निर्वाचनमा जसरी भए पनि निर्वाचित हुनका लागि दुवै गठबन्धनका उम्मेदवार र नेताहरूले मत बढाउन अन्य पार्टीका नेता कार्यकर्ता तान्ने होड चलाएका छन्। संविधानसभा सदस्य तथा एमाले नेता यादवलाई नेकपा एसमा प्रवेश गराउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल।

प्रकाशित: १२ कार्तिक २०७९ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App