५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

स्मार्ट सिटी तीन वर्षसम्म अधुरै

स्मार्ट सिटीअन्तर्गत टीकापुर नगरपालिका ‘ब्लक ए’ को स्तरोन्नति तीन वर्षसम्म सम्पन्न हुन सकेन। डेढ वर्षभित्र सम्पन्न गर्ने गरी तीन वर्षअघि काम सुरु भए पनि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो। समयमा काम सम्पन्न हुन नसक्दा दुईपटक म्याद थप भएको छ। पछिल्लो समय थपिएको म्यादसमेत यही कात्तिक मसान्तभित्र सकिँदै छ। अझै सडक कालोपत्रेको काम सुरु हुन सकेको छैन भने नाली निर्माणको काम पनि अलपत्र अवस्थामा छ।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालयको करिब आठ करोड लागतमा ब्लक ए को स्तरोन्नतिअन्तर्गत ३ किलोमिटर सडक कालोपत्रे र नाली निर्माण गर्नुपर्ने छ। ब्लक ए को तीनतिरको मुख्य सडक र केही भित्री सडकसमेत कालोपत्रे हुनेछन्।

महालक्ष्मी/एमके जेभीले स्तरोन्नतिको जिम्मा पाएको हो। कोरोनाका कारण विगत एक वर्ष काम हुन नसकेको निर्माण पक्षले जनाएको छ। कबोरोनाका कारण लकडाउन भएपछि काम हुन नसकेको बताइएको छ। निर्माण व्यवसायी चक्र शाहले विद्युत् पोल र खानेपानी पाइपका कारणसमेत निर्माण कार्य प्रभावित भएको बताए। उनले विद्युत् पोल सार्न र खानेपानी पाइप व्यवस्थापन गर्न मात्रै दुई वर्ष लागेको जानकारी दिए। ‘दुई वर्षसम्म विद्युत् पोल र खानेपानी पाइपका कारण कार्यादेश पाइएन’, उनले भने, ‘काम ढिलो हुनुको मुख्य कारण यो पनि हो।’

उनले नाली निर्माणको काम लगभग सकिएको र सडक कालोपत्रेको काम मात्रै बाँकी रहेको बताए। उनले अबको दुई महिनाभित्र कालोपत्रेको कामसमेत सम्पन्न हुने जानकारी दिए। उनले तिहारलगत्तै निर्माणको काम सुचारु हुने बताए। ‘अबको दुई महिनामा काम सकिन्छ’, उनले भने, ‘कालोपत्रेका लागि आवश्यक पर्ने सन जुटाइसकेका छौं।’ स्तरोन्नतिको काममा ढिलाइ भएको मात्रै हैन, निर्माण पक्षले सडकमा निर्माण सामग्री थुपारेको छ। जसका कारण सडक दुर्घटना हुने गरेका छन्। स्थानीयले समयमै काम सम्पन्न गर्न निर्माण पक्षलाई आग्रह गरेका छन्। उनीहरूले विभिन्न बहानामा निर्माण पक्षले काममा ढिलासुस्ती गरेको आरोप लगाएका छन्।

प्रकाशित: ६ कार्तिक २०७९ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App