८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

फर्केर हेर्दा निर्वाचन: महिला प्रतिनिधित्व र गठबन्धनको सुरुवात

२००७ साल फागुन ७ गते १०४ बर्से राणा शासन अन्त्य भई मुलुकमा प्रजातन्त्र स्थापना गरियो। राजाले संविधानसभा निर्वाचन गर्ने घोषणा गरे तर कालान्तरमा संविधानसभा निर्वाचन हुन सकेन। २०१० सालमा दोस्रोपटक काठमाडौं नगरपालिकाको निर्वाचन भयो। भदौ १७ गते निर्वाचन गरिएको थियो। त्यो निर्वाचनमा महिलाले मतदान मात्र होइन; नेतृत्वमा प्रतिस्पर्धा गर्न पाउने अधिकार मिलाइएको थियो।

सुरुमा भएको निर्वाचनमा २१ वडा रहेको काठमाडौंमा २०१० सालमा त्यसलाई घटाएर १८ बनाइयो। २१ वर्ष पुगेका नागरिक बालिक हुने व्यवस्थासहित निर्वाचन प्रतिस्पर्धामा उत्रिनेले आफूलाई मनपर्ने चिन्ह पनि छान्न पाउने व्यवस्था गरियो। ५६ हजार मतदाता रहेको उक्त निर्वाचनमा पाँच राजनीतिक दलका साथै स्वतन्त्रसमेत गरेर १८ पदका लागि ७३ जना प्रतिस्पर्धामा उत्रिए। ८ नम्बर वडाबाट साधना प्रधान प्रतिस्पर्धामा उत्रिइन्। उनी २४ सय ५५ मतसहित निर्वाचित भएकी थिइन्; जहाँ ४१ सय १३ मत थियो।

२५ वर्ष उमेर पुगेका व्यक्तिले १५ जनाको समर्थकसहित उम्मेदवारी दिने नयाँ व्यवस्था गरियो। त्यस निर्वाचनमा १३ जनाले नाम फिर्ता लिए भने उम्मेदवारसँग धरौटी लिने प्रचलन पनि सुरु भएको पाइन्छ। त्यतिबेला पनि धरौटी रकम ५० रूपैयाँ तोकिएको थियो। ८ भागको १ भाग मत नपाउने उम्मेदवारको पैसा जफत हुने व्यवस्था गरिएको थियो। त्यसको स्वरूप परिवर्तन भए पनि नेपालको निर्वाचनमा उम्मेदवारले धरौटी राख्ने व्यवस्थाले निरन्तरता पाउँदै आएको छ। वडा नं १५ बाहेक सबै वडामा भएको निर्वाचनमा ५६ मतदान केन्द्र थियो। निर्वाचनका दिन बिदा दिने चलन त्यतिबेला नै सुरु भएको थियो। उक्त निर्वाचनमा ५३ प्रतिशत मत खसेको पाइन्छ।

२०१४ सालमा फेरि नगरपालिकाको निर्वाचन भयो। त्यसका लागि २०१४ माघ ७ गते काठमाडौं नगरपालिकाको निर्वाचन गठनका लागि ट्रिबुनल गठन गरियोस्; जसमा काठमाडौं मजिस्टे«ट अफिसलगायत अन्य दुई सरकारी कर्मचारी थिए। त्यसले नै निर्वाचनको रेखदेख गर्ने व्यवस्था मिलाइएको थियो। त्यतिबेला ट्रिबुनललाई अहिले निर्वाचन आयोगका रूपमा लिन सकिन्छ। १८ वडाका लागि उम्मेदवारको संख्या मात्र होइन; मतदान प्रतिशत पनि कम हुन पुग्यो। १८ पदका लागि ४९ जना मैदानमा उत्रिए भने ५०.१८ प्रतिशत मात्र मतदान भएको थियो। २०१४ सालको निर्वाचनमै नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीबीच तालमेल भएको पाइन्छ। निर्वाचित नगरपालिका सदस्यमध्येबाट नगरपालिकाका सभापति र उपसभापतिमा हुने गोप्य मतदानमा कांग्रेसबाट सभापतिमा प्रयागराज सिंह सुवाल र कम्युनिस्टबाट उपभापतिमा कृष्णलाल श्रेष्ठ चुनिएका थिए।

प्रकाशित: २ कार्तिक २०७९ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App