भक्तपुरको दुई वटा निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रिय सचिव प्रेम सुवाल, नेकपा एमालेका युवा नेता महेश बस्नेत, नेपाली कांग्रेस जिल्ला सभापति भक्तपुरका सभापति दुर्लभ थापालगायतको उम्मेदवारी दिएका छन्। भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका सचिव सुवाल र क्षेत्र नं २ मा एमालेका बस्नेत तथा कांग्रेसका जिल्ला सभापति थापालगायतको उम्मेदबारी परेको हो।
भक्तपुर जिल्लाका मुख्य प्रतिस्पर्धी पार्टीहरु नेमकिपा, एमाले र कांग्रेस नै हुन्। पछिल्लो स्थानीय निकायको निर्वाचनलाई विश्लेषण गर्ने हो भने भक्तपुर क्षेत्र नं १ नेमकिपाको गढको रुपमा रहेको छ भने क्षेत्र नं २ मा एमाले र कांग्रेसवीच चर्काे प्रतिस्पर्धा हुने देखिन्छ।
भक्तपुर क्षेत्र नं १ मा नेमकिपाकोतर्फबाट क्षेत्र नं १ क (चाँंगुनारायण) मा पार्टीका युवा नेता मिनबहादुर बाटा र क्षेत्र नं १ ख (भक्तपुर) मा पार्टी जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईको उम्मेदबारी परेको छ। यस क्षेत्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीको सता गठबन्धनकोतर्फबाट माओवादी केन्द्रका नेता सुनिल गोठेले उम्मेदबारी दिएका छन्। सता गठबन्धनकोतर्फबाट १ क (चाँंगुनारारायण) मा कांग्रेसका सुरेश श्रेष्ठ र क ख (भक्तपुर) मा कांग्रेसकै पवन भुुजुुको उम्मेदबारी परेको छ। यस्तै एमालेबाट क्षेत्र नं १ मा पूर्व जिल्ला समन्वय समितिका सभापति नवराज गेलाल, क्षेत्र नं १ क (चाँंगुनारायण) मा मोहनवीर श्रेष्ठ र १ ख (भक्तपुर)मा नारायणसुन्दर सिन्ताकलको उम्मेदबारी परेको छ।
उता क्षेत्र नं २ क (मध्यपुर थिमि)मा सता गठबन्धनकोतर्फबाट नेकपा एसका डा राजेद्रमान श्रेष्ठ, २ ख (सूर्यविनायक) मा नेपाली कांग्रेसका विष्णुराज कार्कीको उम्मेदबारी परेको छ। यस्तै एमालेबाट २ क (मध्यपुर थिमि) मा चन्द्रकृष्ण श्रेष्ठ र २ ख (सूर्यविनायक) मा किरण थापाको उम्मेदबारी परेको छ।
भक्तपुर क्षेत्र नं १ मा कुल मतदाता एक लाख दुई हजार पाँंच सय २८ र क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ जना मतदाता रहेका छन्। क्षेत्र नं १ मा एक सय १५ मतदान केन्द्र छन् भने २ मा एक सय सात मदतान केन्द्रहरु छन्।
प्रकाशित: २३ आश्विन २०७९ १३:०४ आइतबार