५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

बाजुरामा गठबन्धन: टिकट बाँडफाँटमा व्यापक असन्तुष्टी, स्वतन्त्र उम्मेदवारीको बहस

टिकट बाँडफाँडको विषयलाई लिएर सत्ता गठबन्धन दल बाजुरामा व्यापक असन्तुष्टी देखिएको छ। जनस्तरको भावना र पार्टी संगठनको धरातलको अवस्थालाई विश्लेषण नगरी टिकट बाँडफाँट र वितरण गरिएको प्रति नेता कार्यकर्तामा व्यापक अन्तर विरोध सुरु भएको हो।

नेपाली काँग्रेसका नेता कार्यकर्ताले सामाजिक सञ्जालमै गठबन्धनको नाममा शीर्ष नेताहरुको निर्णय मान्न सकिने अवस्था नरहेको धारणा सार्वजनिक गरेका छन्। एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा संघमा काँग्रेस, प्रदेश ‘क’ मा माओवादी र ‘ख’ मा काँग्रेसलाई दिने निर्णय गरिएको छ।

कमजोर जनमत भएको माओवादीलाई काँग्रेसले प्रदेश सभाको सिट छाड्न नसकिने तर्क काँग्रेस नेताहरुको छ। भूमि सुधार सहायक मन्त्री समेत रहेका काँग्रेस नेता जनकराज गिरीलाई पाखा लगाएर माओवादीका उम्मेदवारलाई सघाउन नसकिने र स्वतन्त्र उम्मेदवारीको तयारी थाल्नु पर्ने धारणा काँग्रेसका युवा नेता योगेन्द्र रावलको छ।

काँग्रेस नेता चक्र शाहले पनि काँग्रेसले आफ्नो संगठन बनाउने की, अरुलाई बलियो बनाउन लाग्ने नेतृत्वले सोच्नु पर्ने प्रश्न गरेका छन्। नेपाली काँग्रेसका अधिकांश नेताहरुले बाजुरामा समाजवादी र माओवादीको बलियो जनमत नभएकोले काँग्रेसलाई नै सघाउनु पर्ने अडानमा छन्।

तर गठबन्धनको शीर्ष तहको निर्णयमा प्रदेश ‘क’ मा माओवादीका केन्द्रीय सदस्य कर्णबहादुर विकको नाममा टिकक फिक्स गरिएको छ। संघमा काँग्रेस सहमहामन्त्री बद्री पाण्डे र प्रदेश ‘ख’ मा काँग्रेस प्रदेश सदस्य पदम शाहीलाई टिकट दिने निर्णय गरेको छ। उसो त काँग्रेसमा संघको टिकट दिने निर्णय विरुद्ध पनि नेता कार्यकर्ता विरोधमा उत्रिएका छन्।

२०७४ को निर्वाचनमा पराजित निवर्तमान सभापति कविराज पण्डितलाई किनारा लगाएर काँग्रेस बाजुरामा बलियो नहुने र पण्डितको क्षेत्रका काँग्रेसीहरु पाण्डेलाई जिताउन लाग्छन्, भन्ने ग्यारेन्टी नहुने प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त गरिएका छन्।

काँग्रेसका युवा नेता एवं निवर्तमान वडा अध्यक्ष प्रकाश रावलले पदकाको पहुँच लगाएर ल्याएको टिकट जितका लागि नहुन सक्ने र कविराज पण्डितलाई न्याय नगरिए बीच भेगले काँग्रेसका पक्षमा मतदान गर्न नसक्ने अभिव्यक्ति नै दिएका छन्।

काँग्रेस सहमहामन्त्री पाण्डे काँग्रेसबाटै सभासद र राष्ट्रिय सभा सदस्य भइसकेकोले अवसर अरुलाई पनि दिनुपर्ने तर्क देउवा पक्षधर नेता कार्यकर्ताको देखिएको छ। टिकटको बारेमा काँग्रेसमै मात्र असन्तुष्टी र विरोध देखिएको छैन, समाजवादीले पनि विरोध गरेको छ।

गठबन्धनका नाममा शीर्ष नेताहरुको निर्णय मान्ने हो, तर यसो भन्दैमा सहयोग गर्ने मात्रै भूमिकामा समाजवादी नरहने प्रक्रिया आउन थालेका छन्। प्रदेश ‘ख’ मा हाम्रो पार्टीको तर्फबाट मेरो दाबी हो, निर्णयमा पनि काँग्रेस र समाजवादी मध्ये एक भनिएको छ, त्यही अनुसार निर्णय गरिनु पर्छ, नत्र सोच्नु पर्ने समाजवादीका जिल्ला अध्यक्ष गगन रावलले बताएका छन्।

स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले नौ वटा पालिका र ६९ वटा वडा मध्ये कुनैमा पनि जित हासिल गरेको छैन। निर्वाचन आयोगको तथ्यांकअनुसार वडाध्यक्षहरुको मत केलाउँदा एमालेले २७ हजार ६५५ मत ल्याएको छ। प्रतिस्पर्धी कांग्रेसको २४ हजार ४ सय ५७ मत छ।

माओवादी केन्द्रले भने ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ। एकीकृत समाजवादीले १ हजार ३ सय ६४ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सय ७२ मत र स्वतन्त्र तर्फका उम्मेद्वारहरुले ५ सय ८४ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ आश्विन २०७९ ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App