१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सिट बाँडफाँट सम्पन्न गर्न सबै दलहरु लचिलो हुनुको विकल्प छैनः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति पूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दलहरु लचिलो हुनुको विकल्प नरहेको बताएका छन्।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको सिट बाँडफाँटका लागि शीर्ष नेताहरुको छलफलका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल निर्णयको नजिक रहेको बताए।

मन्त्री कार्कीले निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल भइरहेको र बैठकको अवस्था सकारात्मक रहेको बताए। उनले बैठकमा द्विपक्षीय, त्रिपक्षीय र सामूहिक रुपले छलफल प्रारम्भ भएको जानकारी दिए। मन्त्री कार्कीले दलहरुको आफ्नो आफ्नो अडान कायम रहेको भन्दै दलहरुका अडानमा सुक्ष्म ढंगले विश्लेषण भइरहेको बताए।

उनले भने, ‘बैठकको अवस्था सकारात्मक छ, द्विपक्षीय, त्रिपक्षीय र सामूहिक रुपले छलफल प्रारम्भ भएको छ। निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल अघि बढीरहेको छ। अहिलेको आवश्यक्ता सबैले लचिलो हुनुको विकल्प छैन। तथापि पनि दलहरुको आफ्नो आफ्नो अडान छ। ती अडानमा हामीले अलिकति सुक्ष्म ढंगले विश्लेषण गरेर अघि बढेको अवस्था छ। छलफल बाँकी नै रहन्छ। एकै सिटमा दुई, तीन पक्षले दाबी गरेको अवस्था छ। त्यसलाई समाधान गरेर एउटा मात्रै गठबन्धनको उम्मेदवार बनाउनुपर्ने छ।’

मन्त्री कार्कीले केही निर्वाचन क्षेत्रमा सबै दलहरुले आफ्नो आफ्नो दाबी गरेका कारण उम्मेदवार टुंगो लगाउन छलफल भइरहेको बताए। आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्रका पाँच दलबीच सिट बाँडफाँटको टुंगो लगाउन लामो समय यता बैठक र छलफल चलिरहेको छ।

प्रकाशित: २७ भाद्र २०७९ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App