६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बाँके–३ बाट चुनाव लड्न कांग्रेसका तीन शीर्ष नेताको नाम सिफारिस

आसन्न प्रतिनिधी सभा निर्वाचनका लागि बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर ३ बाट कांग्रेसका तीन जना शीर्ष नेताको नाम सिफारिस भएको छ। आगामी मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन एकैसाथ हुँदैछ। प्रत्यक्ष निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रिय उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौंर र केन्द्रिय सदस्य डा. आरजु राणा देउवाको नाम सम्भावित उम्मेदवारका रुपमा सिफारिस गरिएको हो। यसअघिका निर्वाचनमा कांग्रेस उपसभापति खड्का सुर्खेत, राठौंर बर्दिया र देउवा कैलाली जिल्लाबाट चुनाव लड्दै आएका थिए।

बाँके, क्षेत्र नम्बर ३ बाँकेका सभापति मोहम्मद नक्की खाँले तीन जना शीर्ष नेतासहित ११ जनाको नाम बिहीबार सिफारिस गरिएको बताए। उनका अनुसार बाँकेका कांग्रेस नेता बादशाह कुर्मी, आशा बि.क, मेघराज ओली, लक्ष्मणनारायण शाह, मोहम्मद नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरे र तेजेन्द्र कँडेलको नाम पनि सिफारिस गरिएको छ।  

यसैगरी समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरिएको छ। समानुपातिकमा कांग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठसहित कृष्ण बिके रसाईली, हरिभक्त उप्रेती, गगनबहादुर बिक, अनिता योगी, शेरबहादुर गुरुग, अर्जुन पाण्डे, पुष्पा बिक र चक्रबहादुर मल्ल सिफारिसमा परेका छन्।  

प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बन्न चाहने नेताहरुले इच्छा राखेको आधारमा मर्यादाक्रम अनुसार सिफारिस गरिएको सभापति खाँले बताए। ‘केही साथीहरुले निवेदन पनि दिनु भएको थियो,’ उनले नागरिकसँग भने ‘केन्द्रिय नेताहरुले चाही हामीसँग फोनमार्फत क्षेत्र नम्बर ३ मा चुनाव लड्ने ईच्छा जाहेर गर्नु भएको हुँदा सिफारिस गरिदिएका हौं।’ क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको नाम जिल्ला, लुम्बिनी प्रदेश हुदै केन्द्रिय कार्यसमिति समक्ष पुग्नेछ।  

२०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका नन्दलाल रोकाय निर्वाचित भएका थिए। नेपाली कांग्रेसका उम्मेदवार बादशाह कुर्मीलाई रोकायले पराजित गरेका हुन्।  

यसपटक सत्तारुढ पाँच दलिय गठबन्धन बनेकाले नेकपा एमालेलाई जित्न कठिन देखिन्छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको भागमा उक्त क्षेत्र पर्ने चर्चा चलिरहेका बेला तीन जना शिर्ष नेताले आकांक्षा राखेको हुन सक्ने कांग्रेस वृत्तमा चर्चा छ।  

 

फोटो क्याप्सन ः

बाँकेको क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेका उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौंर र केन्द्रिय सदस्य डा. आरजु राणा देउवा।

 

 

 

प्रकाशित: १६ भाद्र २०७९ १०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App