७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

उदयपुर २ मा गठबन्धनबाट माओवादीकै हक लाग्छः सांसद राई

पार्टी कमाण्ड बैठकमा आफुले गरेका कामको विवरण पेश गर्दै सांसद राई

नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य तथा संघीय सांसद सुरेशकुमार राई (हिमाल)ले उदयपुरको २ नं. निर्वाचन क्षेत्रमा माओवादीकै हक लाग्ने बताएका छन्।  

बिहीबार उदयपुृरगढीस्थित नेपालटारमा आयोजित पार्टीको ‘निर्वाचन क्षेत्रस्तरीय कमाण्ड बैठक’मा प्रशस्त आधारहरु देखाउँदै २ नं. क्षेत्र माओवादीकै भागमा पर्ने ठोकुवा गरेका हुन्।  

०७४ को प्रतिनिधिसभा चुनाव प्रत्यक्षतर्फ जितेका सांसद राईले ०७४ मा विजयी हुनु र सो क्षेत्रका १ नगर र ४ गाउँपालिकामध्ये ३ वटामा गएको स्थानीयतह चुनाव माओवादीले जित्नुले पनि यो निर्वाचन क्षेत्र पार्टीका लागि १ नं. प्रदेशकै सबभन्दा सुरक्षित भएकाले माओवादीकै दाबी रहने उनले बताए। आफू ०७४ को प्रत्यक्ष निर्वाचित, ०६४ को संविधानसभामा प्रत्यक्षतर्फ मोहन खत्री र ०७० को चुनावमा समानुपातिकतर्फ भेषकुमारी राउतले जितेको क्षेत्र भएकाले पनि यो निर्वाचन क्षेत्र माओवादीलाई नै दिनुपर्ने बताए।  

कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद राईले अहिलेसम्म चुनावमा नउठेका माओवादीका एकसे एक खारिएका नेताहरु रहेको भन्दै आपसी सरसल्लाह गरेर उम्मेदवारको नाम पार्टी केन्द्रमा सिफारिस गर्ने बताए। गठबन्धन गर्दा यो क्षेत्र माओवादीकै भागमा पर्ने बताउँदै राईले जसले टिकट पाए पनि पार्टी एकढिक्का भएर र गठबन्धन दलहरु इमान्दार भएर चुनाव जित्नुपर्नेमा जोड दिए।  

आफू पहिलेका सांसदजस्तो जितेर गएपछि गाउँमा देखा नपर्ने, फोन नउठाउने तथा भेटघाट नगर्ने खालको नभएर हरेक महिना कम्तीमा १ साता निर्वाचन क्षेत्रबासीलाई समय दिँदै आएको बताए। उनले चुनावमा घोषणा गरे बमोजिम सबै स्थानीयतहमा विद्युत, सडक र खानेपानीको विकास गरेको दाबी गर्दै त्यसका लागि संघबाटै पर्याप्त बजेट छुट्याईदिएको बताए। पार्टीले ०६४ मा खत्रीलाई प्रत्यक्षतर्फ र ०७० मा राउतलाई समानुपातिकबाट सांसद बनाएको तथा ०७४ मा आफु प्रत्यक्षतर्फ जितेपछि निर्वाचन क्षेत्रका सबै वडासम्म सडक सञ्जाल विस्तार गरेको बताए। कटारी नगरपालिका र ४ गाउँपालिका समेटिएको निर्वाचन क्षेत्र २ का ४० वडा सबैमा अहिलेसम्म विद्युत र सडक बिस्तार भईसकेको सांसद राईको दावी छ। विद्युत पुग्न नसकेका केही कुनाकाप्चामा छिट्टै पु¥याउन पोल र लाईन बिस्तारको काम भइरहेको राईले बताए।  

सांसद राईले कच्ची सडक सबै वडामा पु¥याईसकेको र अब स्तरोन्नति र कालोपत्रे गर्न नियमित बजेट विनियोजन गर्दै आएको बताए। उनले ०५८ सालमा तत्कालीन शाही नेपाली सेनाले बनाएको सिराहाको मिर्चयादेखि कटारी–घुर्मी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको अवस्था जिर्ण भईसकेकाले स्तरोन्नतिसहित कालोपत्रे गर्न आफुले पटकपटक संसदमा आवाज उठाए अनुृसार गत विगत वर्षदेखि नै मर्मत कार्य भईरहेको बताए। उनका अनुसार चालु आर्थिक वर्ष त्यसका लागि पर्याप्त बजेट विनियोजन भएको छ। यसै वर्षदेखि सिद्धिचरण लोकमार्गकै लागि कटारी बजारमा डिभिजन सडक कार्यालय खोलेर बहुवर्षीय योजना सञ्चालन गर्न लागिएको नेता राईले बताए। त्यसका लागि बहुवर्षीय योजना अन्तर्गत ७ अर्व बजेट संघीय सरकारबाट आफूले सुनिश्चित गराएको उनको दाबी छ।

काठमाडौँसँग छोटो सडक मार्गले जोड्न सिन्धुलीको खनियाखर्कदेखि सीमानाका चित्रेनागी हुँदै कटारीको गहुबारी–बेतेनी–ताप्ली–माझखर्क–जाँते–लाफागाउँ–रसुवा हुँदै खोटाङ र भोजपुर जोड्ने संघीय रणनीतिक सडक योजना अघि बढेको जानकारी गराए। अर्को सडक कटारीदेखि बेतेनी, नुनथला, रुपाटार, ठानागाउँ, बुत्कु हुँदै बाराहा, ताम्लिछा, बलम्ता हुँदै जाँते, लाफागाउँ भएर भुटार, चिसापानी, मुर्कुची, नेपालटार, उदयपुगढी तावाश्रीबाट कटारी जोड्ने निर्वाचन क्षेत्रस्तरीय चक्रपथ (रिङरोड)को योजना पनि अघि बढिसकेको सांसद राईको भनाई छ।

केहीदिन अघि मात्र उनले मुर्कुचीको तेलतेलेदेखि रानीवास, चौकी भञ्ज्याङ, नामन्त, चिसापानी सडकको सिल्यान्यास गरेर काम अघि बढाईसकेका छन्। मुर्कुचीदेखि १५ मिनटमा रौतापोखरी पुग्ने उक्त सडकका लागि विनियोजित ४० करोडमध्ये २६ करोड हाराहारीको ठेक्का लागेर काम सुरु भईसकेको छ। उनका अनु्सार खाँवु, रानीवास, निकास, चिसापानी, पँुवारे भञ्ज्याङ, डिल्लीबर, माझखर्क हुँदै लिमचुङबुङ केन्द्र बाराहा, कुनाईघाट भएर हलेसी जोड्ने अर्को महत्वपूर्ण सडकको स्तरोन्नति कार्य हरेकबर्ष बजेट छुट्याएर भईरहेको छ। मुर्कुचिदेखि पुवारे भञ्ज्याङ, भुट्टार खण्डलाई संघ र प्रदेशले बजेट विनियोजन गरेर स्तरोन्नति गरिरहेको उनले बताए।

चुनावमा दिएको बचन अनुसार विद्युत, सडक र खानेपानीमा आफू र आफ्नो पार्टीले विशेष जोड दिएर लागिरहेको बताउने सांसद राईले सडक र विद्युतसँगै लिफ्टिङ खानेपानी १ नं. प्रदेशमै सबैभन्दा ठूलो आकारको बजेट लगानी भइरहेको बताए। लिमचुङबुङ, ताप्ली र रौतामाई गाउँपालिकाका लागि ‘सुनकोशी लिफ्टिङ खानेपानी आयोजना’ र कटारी र उदयपुरगढी गाउँपालिकाका लागि अर्को ‘सुनकोशी लिफ्टिङ खानेपानी आयोजना गरी दुई ठूला आयोजनाका लागि संघीय सरकारले २ अर्ब बजेट सुनिश्चित गरेको छ।  

शिक्षाक्षेत्रमा सुधार गर्न निर्वाचन क्षेत्रका ७ सय ५ वटा विद्यालयलाई संघीय सरकारमार्फत २, ४ र ८ कोठे भवनहरु धमाधम निर्माण भइरहेका छन् भने कतिपय निर्माण सम्पन भईसकेको उनले बताए। सबै स्थानीय तहमा एक÷एक नमूना विद्यालय खोलेर प्राविधिक शिक्षामा जोड दिन आवश्यक भौतिक संरचना निर्माण भईरहेको छ। नमूना विद्यालयलाई हरेक वर्ष करोडौँ बजेट प्राप्त भईरहेको छ। कटारीमा त्रिबेणी नमूना मावि (१–१२), रौतामाईमा नमूना मावि मुर्चुकी (१–१२), उदयपुरगढीमा नमूना मावि नेपालटार (बाली विज्ञानतर्फ प्राविधिक क्याम्पस) र लिमचुङबु्ङमा क्या. पर्शुराम पद्मा मावि बलम्ता (आईसिटी) तथा ताप्लीमा मावि कटहरेमा प्राविधिक शिक्षालयमा पठनपाठन भइरहेको छ।  

उनका अनुसार स्वास्थ्यतर्फ ४० वटै वडामा १५ शैय्या (बेड)को अस्पताल निमार्ण कार्य भइरहेको छ भने स्वास्थ्य चौकी नभएका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र खोलेर सेवा दिईदै छ। कृषितर्फ नियमित बजेट विनियोजन गर्दै स्थानीय तह र प्रदेशबाट संभव नभएको योजनामा संघले बजेट र अन्य प्राविधिक सहयोग गर्ने गरेको छ।  

बैठकमा सांसद राईले ५ वर्षे आफ्नो कार्यकालमा करिव ३ सय जना युवा प्रहरी र सेनामा भर्ती गराएको, निजामतितर्फ ५० हाराहारीलाई रोजगारी दिलाएको तथा नीजि कम्पनीतर्फ ३० जनाको रोजीरोटी व्यवस्थापन गरिदिएको बताए। सांसद भएपछि गरेका  सबै कामको परिणाम निर्वाचन क्षेत्रबासीले प्रत्यक्ष देखिरहेको भन्दै पहिलेका सांसदजस्तो काठमाडौं केन्द्रित नभएर आफु हरेक क्षे निर्वाचन क्षेत्रबासीकै दुःखसुखमा साथ दिदै आएको दावी पेश गरेका थिए।

प्रकाशित: १० भाद्र २०७९ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App