३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

चुनावमा प्रतिनिधित्व खोज्दै युवा

फाइल तस्बिर

प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन मंसिर ४ गतेका लागि तोकिएसँगै युवाले प्रतिनिधित्व खोज्न थालेका छन्। युवा नेताहरूले निर्वाचनका लागि आफूहरू तयार रहेको भन्दै सामाजिक सञ्जालमार्फत उम्मेदवारीको आकांक्षा व्यक्त गरिरहेका छन्। कांग्रेस कैलालीका उपसभापतिसमेत रहेका नेता भीम बडुवालले यसपालि आफू कैलाली क्षेत्र नं ३ बाट संघीय सांसदको उम्मेदवारीका लागि बलियो दाबेदार भएको फेसबुकमा उल्लेख गरेका छन्। बडुवाल मात्रै होइन, पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत कार्यकर्तासमेत निकटस्थ युवा नेताहरूको फोटो तथा पोस्टर बनाई सामाजिक सञ्जालमा सेयर गर्न सक्रिय छन्। चुनाव नजिकिएसँगै उनीहरूले माहोल तताइसकेका छन्।

सुदूरपश्चिमबाट प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४०–४५ वर्ष उमेर समूहका युवा अघि सर्न थालेका छन्। स्थानीय निर्वाचनमा वडादेखि पालिकासम्म युवाले राम्रै स्थान पाएपछि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि युवा नेता उम्मेदवार बन्न हौसिएका हुन्। अहिले सुदूरपश्चिममा यो उमेर समूहका युवाको सक्रियताका कारण प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेको हो। एमाले कैलाली जिल्ला कमिटी सचिव डेजी पाण्डेले प्रदेशसभा सदस्यका लागि चुनाव लड्न आफूले तयारी थालिसकेको बताए।  

‘पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि तयारी अघि बढाउन भने पनि मैले कैलाली क्षेत्र नं २ ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि निर्वाचन लड्ने मनसायले घरदैलो सुरु गरिसकें’, उनले भने। आफूसँगैका साथीहरू स्थानीय तहको निर्वाचनमा जोडिइसकेको उनले बताए। उनले भने, ‘हामीसँगै राजनीति गरेका साथीहरू कहीं न कहीं अवसर पाएर जोडिइसकेका छन्। बाँकी रहेका हामी पनि प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने तयारीमा छौं।’

यस्तै कैलालीको क्षेत्र नं ५ ‘क’ बाट एमाले युवा नेता विष्णु चन्द र कैलाली क्षेत्र नं १ ‘क’ बाट द्वारिका न्यौपानेको नाम चर्चामा आएको छ। ४०–४५ वर्ष उमेर समूहका युवामा कञ्चनपुर क्षेत्र नं २ ‘क’ मा कांग्रेसका लेखराज जोशी, लक्ष्मण शाही, पूर्ण कुँवर, क्षितिज भण्डारी, केशव मिश्र, नृप सुनार, माओवादी केन्द्रका लक्षीराम आचार्य, रमेश धामी, हुकुम साउद, डिएल भण्डारी, विकास चौधरी, विवेक चौधरीलगायत सामाजिक सञ्जालमार्फत चर्चामा छन्।

सधैंभरि दोहोरिने पुराना नेताले युवा आवाज सम्बोधन गर्न नसक्नाले पछिल्ला दिनमा मतदाताले युवालाई छान्न थालेको एमाले कैलालीका युवा नेता विष्णु चन्दले बताए। उनले भने, ‘पुरानो नेतृत्वले न युवाको आवाज उठाउन सक्यो न राष्ट्रियताका पक्षमा नै बोल्न सक्यो। त्यसकारण पुराना अनुहार छाडेर मतदाताले पनि युवाप्रति भरोसा गर्न थालेका छन्।’ यसको पछिल्लो उदाहरण भनेको स्थानीय निर्वाचनमा बढीभन्दा बढी युवा निर्वाचित हुनु रहेको उनले जिकिर गरे।

स्थानीय तह निर्वाचनमा धेरै ठाउँमा स्वतन्त्रबाट लडेका युवाले जितेका उदाहरण काफी रहेको कांग्रेस नेत्री प्रेरणा पाण्डेले बताइन्। उनले भनिन्, ‘पुराना अनुहारले युवाको मनोभाव बुझ्न सकेनन्। त्यसैले स्थानीय तहमा धेरै ठाउँमा मतपरिणाम फरक देखियो। अब राजनीतिक दलले युवालाई मिलाएर जानुपर्ने आवश्यकता देखियो।’ उनले कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ ‘क’ मा युवाले युवा नेता लेखराज जोशीलाई अगाडि सार्ने तयारी गरेको बताइन्। ‘हामीले युवा प्रतिनिधित्व खोज्दै नेता जोशीलाई अगाडि बढाएका छौं,’ उनले भनिन्, ‘सुदूरपश्चिममा पुराना मात्रै नभई नयाँ अनुहारका युवा नेतालाई पनि ठाउँ दिनुपर्छ; जसले आम युवाको प्रतिनिधित्व गर्न सकोस्।’ उनले कांग्रेसको चौधौं महाधिवेशनको चर्चा गर्दै भनिन्, ‘चौधौं महाधिवेशनको निर्वाचन मतपरिणाम हेर्ने हो भने वडा, पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म पनि ४०–४५ वर्ष उमेर समूहका युवा अगाडि देखिएका छन्।’

पछिल्लो समयमा मूलधारको राजनीतिसँगै स्थानीय निर्वाचनमा पनि युवाकै वर्चस्व स्थापित हुन थालेको बताउँदै राजनीतिक विश्लेषक तथा कैलाली बहुमुखी क्याम्पसका राजनीतिशास्त्रका सहप्राध्यापक देवराज अवस्थीले भने, ‘धेरै नयाँ युवा र थोरै पुराना अनुहार आउनुपर्छ। जसले गर्दा पुरानाको ज्ञान र सीप प्रयोग गरेर नयाँले काम गर्न सक्छन्। तसर्थ पुरानाको तुलनामा नयाँ युवा बढी आउनु जरुरी छ।’ पुराना राजनीतिमा देखिएका विकृति हटाउन सकिन्छ कि भनेर राजनीतिक नेतृत्वमा युवा आउन थालेको आकलन गर्न सकिने उनले बताए। ‘केही समयदेखि पुराना नेताहरूको अकर्मण्यताका कारण देश अगाडि बढ्न सकेको छैन। जसले गर्दा युवामा राजनीतिप्रति वितृष्णा जागेको अनुभव हुन थालेको छ’, उनले भने, ‘त्यही वितृष्णा र राजनीतिक विकृति हटाउन नेतृत्व लिन युवा वर्ग अग्रसर भएको हुन सक्छ ।’

प्रकाशित: ७ भाद्र २०७९ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App