३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

आमाको स्वाभिमानमा चोट पुग्दैन: गृहमन्त्री

फाइल तस्बिर

गृहमन्त्री बालकृष्ण खाणले आमाको नामबाट नागरिकता दिने क्रममा गर्नुपर्ने स्वघोषणाले आमाहरूको आत्मसम्मानमा आँच नआउने बताएका छन्। उनले सबै आमाको आत्मसम्मान र स्वाभिमानमा आँच नआओस् भनेर सरकार सचेत रहेको बताउँदै यसले आमा र बच्चालाई न्याय हुने दाबी गरेका छन्।  

‘आमाहरूको स्वाभिमानप्रति सरकार सतर्क र सचेत छ,’ गृहमन्त्री खाणले भने। गृहमन्त्री खाणले एकल आमा वा आमाका नामबाट नागरिकता लिने, बालमन्दिर, बालआश्रमको संरक्षणमा रहेका तथा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गर्न विधेयक ल्याइएको र यसले अनागरिक भई कुनै पनि काम गर्न नपाएका नागरिकलाई न्याय गरेको समेत बताए। ‘नागरिकता दिने क्रममा आमाको स्वघोषणा सार्वजनिक हुँदैन। त्यो गोप्य हुन्छ। नागरिकतामा आमाको नाम मात्रै हुन्छ, बाबुको हुँदैन,’ खाणले भने, ‘त्यो भाग सरकारी दस्तावेजमा सुरक्षित हुन्छ।’ उनका अनुसार नागरिकताको प्रमाणपत्रमा आमाको नाम मात्रै उल्लेख गरिएको हुन्छ। त्यसबारे नियमावलीमा प्रस्ट रूपले व्यवस्था गरिनेसमेत बताएका थिए।  

‘महिलाको स्वाभिमानमाथि कुनै आँच नआओस् भन्नेमा सरकार सतर्क छ। आमा त भइहाल्यो, बच्चा अनागरिक नबनोस् भनेर राष्ट्रिय दायित्व निर्वाह गर्न खोजिएको हो। जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता नपाएको संख्या लाखौं छ। नेपाली नागरिक हुँदाहुँदै पनि अनागरिकको जीवन जिउनुपरेको छ, विश्वविद्यालयमा भर्ना हुन पाएका छैनन्, लोकसेवा दिन पाउँदैनन्, सामाजिक काम गर्न पाएनन्, बैंकमा खाता खोल्न पाएनन्,’ गृहमन्त्री खाणले भने।

राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्मा फिर्ता भएको नागरिकता विधेयकमा आमा र बच्चालाई सम्मान गरिएको गृहमन्त्रीको भनाइ छ। ‘स्वघोषणाबारे बुझाउन नसकेर पनि होला। फाराममा भर्ने हो, त्यसलाई गोप्य राखिएको हुन्छ। त्यसबारे नियमावलीमा थप व्यवस्था गरिन्छ। नागरिकतामा बुबाको नाम खाली राखिन्छ,’ उनले भने। उनका अनुसार विगतमा केपी ओली सरकारले ल्याएको अध्यादेशमा भएको व्यवस्था नै नागरिक विधेयकमा रहेको छ। एमालेले वैवाहिक अंगीकृतको विषयमा असहमति प्रकट गर्दै आएको छ।

प्रकाशित: ७ भाद्र २०७९ ०१:०३ मंगलबार

गृहमन्त्री बालकृष्ण खाण