१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री हुँदा पनि कार्यकर्ताकै घरमा

पोखरा-भर्खर नयाँ घर बनेको छ । टिभी जोडिएको छैन । सुशील कोइराला बितेको खबर सुन्नासाथै पति अर्जुन कुँवर काठमाडौं हान्निएपछि मीनालाई छटपटी भयो । के भयो होला कसो भयो होला भन्दै उनी टिभी हेर्न छोरीको घर लागिन् । टिभीमा आँखा अडिए, तर आँखामा आँसु अडिएन । साँझ घर फर्किंदा नरमाइलो अनुभूति लिएर उनी रमाइला अतीत सम्झना गर्दै थिइन्।


'यस्तो भए हुन्थ्यो, उस्तो भए हुन्थ्यो भन्ने उहाँको केही बानी थिएन,' अर्जुनकी पत्नी मीना भन्छिन्, 'माछामासु नखाने, सामान्य दालभात भए पुग्थ्यो ।' अर्जुनका बुबा प्रेमबहादुरका पालादेखि सुशील कोइराला कँुवर परिवारसँग नजिकिएका थिए । पञ्चायतकालको बेला २०४४ सालमा प्रेमले आफ्नै घरमा कांग्रेसको पश्चिमाञ्चल स्तरीय भेला राख्ने हिम्मत गरेका थिए । 'त्यति बेलादेखि नै उहाँ हाम्रो घरमा आउनुहुन्थ्यो,' मीना सम्झिन्छन् । सुशील कहिल्यै घरबाहिरको मान्छे नलागेको उनी बताउँछिन् । उनी आफ्नो परिवारसँग कोइराला पोखराका विभिन्न ठाउँमा घुमेको सम्झन्छिन् ।

बीसौं वर्षदेखि कुँवर परिवार कोइरालासँग नजिक थियो । जसरी कोइराला प्रधानमन्त्री हुनुअघिसम्म सार्वजनिक लाभको पदमा रहेनन्, त्यस्तै कुँवर परिवारले पनि आफूहरुका लागि केही मागेन उनीसँग । 'उहाँको सादगी नै हामीलाई राम्रो लाग्थ्यो,' मीना भन्छिन्, 'हामीलाई के चाहियो र जनतालाई गर्नुभए हुन्छ भन्थ्यौं ।'

प्रधानमन्त्री हुँदा सुशील कोइराला एकपटक पोखरा आएका थिए । उनका लागि ५ तारे होटलमा बस्ने चाँजो मिलाइएको थियो । दिनभरिका कार्यक्रम सकिएपछि साँझ उनको गाडी होटलतिर हिँडेन । लुसुक्क लेकसाइड पस्यो र एक कार्यकर्ताको घरमा कोइराला छिरे । सँगै गएका अरुलाई लाग्यो—कोइराला एकछिन् कार्यकर्ताको परिवारलाई भेट्नेछन् र फर्कनेछन् । तर, कोइराला होटलमा होइन त्यही घरमा बस्न इच्छुक भए र बसे । पोखरा—६ लेकसाइडका अर्जुन कुँवरको घरमा कोइराला प्रधानमन्त्री नभएका बेला पनि धेरैपटक आएर बसेका थिए । प्रधानमन्त्री हुँदा पनि त्यहीं बस्नुलाई त्यतिबेला फेरि पनि उनको सादगी ठानेका थिए कास्केली कांग्रेसजनले ।

पोखरा—११ रानीपौवाका निर्मल कर्माचार्यको घर पनि कोइराला पोखरा आउँदा पसिरहने ठाउँ हो । 'मेरी जहानलाई फोन गरेर म आउँछु भाउजू खाना पकाउनोस् है भन्नुहुन्थ्यो,' कर्माचार्य सम्झन्छन्, 'पन्ध्र दिनअघि काठमाडौंमा भेट्दा खै त भाउजू ल्याउनुभएन भन्नुभएको थियो ।' कोइराला घरमा आउँदा उनले भगवतीको फोटो र क्यारेक्टर साइन्स भन्ने किताब उपहार दिएका थिए । फेरि पनि पार्टी सभापति भएर हाँक्नुपर्ने सुझाएको पन्ध्र दिनमै निधनको खबर सुन्नुपर्दा मर्माहत बनेको कर्माचार्यले सुनाए । 'तर, उहाँले उठ्छु भनेरचाहिँ भन्नुभएको थिएन,' उनले सम्झिए ।

प्रकाशित: २६ माघ २०७२ २३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App