६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्वाचन तयारीमा जुट्दै दल: गठबन्धनप्रति एमाले आक्रामक

फाइल तस्बिर

एमाले सत्ता गठबन्धनविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुन थालेको छ। एक्लै चुनाव लड्ने मनस्थितिका साथ अघि बढेको एमालेले आफ्ना नेता–कार्यकर्तालाई राजनीतिक ढंगले सत्ता गठबन्धन दलको प्रतिवाद गर्न निर्देशन दिएको छ। एमालेका शीर्ष नेताले पनि गठबन्धनविरुद्ध आक्रामक अभिव्यक्ति दिन थालेका छन्।

सत्ता गठबन्धन एमालेलाई निर्वाचनमा एक्ल्याएर जाने तयारीमा छ। साथै गठबन्धनको एक घटक माओवादी केन्द्रले एमालेबाहेकका कम्युनिस्टलाई समेटेर वामपन्थी मोर्चा बनाउने रणनीति अख्तियार गरेको छ। यसकारण एमाले उसप्रति आक्रामक बनेको छ। गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई त एमाले पार्टी नै मान्न तयार छैन। एमालेले निर्वाचनमा कांग्रेसलाई प्रमुख प्रतिस्पर्धी ठानेको छ। प्रमुख प्रतिस्पर्धीप्रति एमाले स्वाभाविक रूपमा आक्रामक हुने नै भयो। निर्वाचन लक्षित गरेर सातवटै प्रदेशमा गरिएका प्रशिक्षणमा पनि एमाले नेतृत्वले वर्तमान सरकारको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएको छ।

एमाले सचिवालयको बिहीबारको बैठकमा अध्यक्ष केपी ओलीले मंसिर ४ गते हुने निर्वाचन पार्टीका लागि चुनौतीपूर्ण रहेको बताएका थिए। उनले त्यसक्रममा विगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामलाई जनतामाझ पुर्‍याउन र वर्तमान सरकारले महँगी बढाएर जनताको दैनिक जीवनमा असर पारेको, आर्थिक मन्दी निम्त्याएको जस्ता विषयको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए।  

उनले हरेक कार्यक्रममा सरकार र गठबन्धन दलविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन आग्रह गरेका थिए। यसैबीच शनिबार आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुस्मनीतर्फ लगेको आरोप लगाएका छन्। प्रतिस्पर्धा गर्न नसकेर कांग्रेस शत्रुतामा उत्रेको उनको भनाइ थियो। लोकतान्त्रिक शेर्पा संघले आयोजना गरेको कार्यक्रममा ओलीले सत्ता गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्न नसकेर शत्रुता गर्न खोजिरहेको आरोप लगाएका हुन्। ‘अहिलेको गठबन्धनले प्रतिस्पर्धा गर्न आँट गरिरहेको छैन, शत्रुता गर्न खोजिरहेको छ’, ओलीले भने। विगतमा जातीय, क्षेत्रीय, नारा लगाउनेहरू अहिले राजनीतिमा दुस्मनी साँध्न लागेको ओलीको टिप्पणी थियो। ‘राजनीतिमा प्रतिस्पर्धा गरौं, मारामार किन  

गर्ने, चुनाव लडौं, मारामार किन गर्ने, भोट खसाऔं न। तर गठबन्धनभित्रका दलले एक्लाएक्लै निर्वाचन लड्न आँट गरेनन्’, ओलीले भने।  

उनले कांग्रेसले लोकतन्त्रलाई गलत दिशातर्फ लैजान खोजेको आरोप पनि लगाए। ‘लोकतन्त्रलाई कांग्रेसले गलत दिशामा लैजान खोजिरहेको छ, प्रतिस्पर्धातिर होइन’ उनले भने, ‘दुस्मनीतफर्, लडाइँ र झगडातर्फ लैजान खोजेको छ, जुन देशका लागि अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ।’ ओलीले जिउँदो पार्टी भन्ने कांग्रेस पनि आफ्नै खुट्टामा उभिन नसकेको बताए। ‘बिचरा ! कांग्रेसको माया लाग्छ। यो पार्टी के भएको ? लौरो टेकेर पनि अडिन सक्दैन। खुट्टै टेक्न नसक्ने भयो। कहिले प्रचण्ड खोज्याछ, कहिले को खोज्याछ। के भएको ? एउटा जिउँदो पार्टी त यति साह्रो नहुनुपर्ने’, ओलीले भने।

ओलीले एमालेलाई निर्वाचनमा बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको आरोप लगाए। एमालेको लोकप्रियताबाट आत्तिएर अरू दलहरू गठबन्धनमा लागेको उनको दाबी थियो। ‘एक्लाएक्लै चुनाव लड्दा एमालेले बहुमत ल्याइहाल्छ भनेर यो सबै गठबन्धन, सठबन्धन बनिरहेको छ,’ उनले भने, ‘पाँच दलले नपुगेर अझ गठबन्धन विस्तार गर्न लागिएको छ।’

कार्यक्रममा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको नाम लिएरै आफूले जस्तै सबै सम्पत्ति राज्यलाई दिन चुनौती दिए। ‘मैले जस्तै प्रचण्ड (पुष्पकमल दाहाल), शेरबहादुर देउवा र माधव नेपालले गर्न सक्छन्’, मैले मेरो सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छु, घर, घडेरी, बैंक ब्यालेन्स सबै, यो उनीहरूले गर्न सक्छन् ?’ उनको प्रश्न थियो।

त्यस्तै शनिबार आयोजित एक अर्को कार्यक्रममा एमाले उपाध्यक्ष सुवास नेम्वाङले पनि नेपाली कांग्रेस गठबन्धनबिना एमालेसँग आँखा जुधाएर हेर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरे। यसैगरी दल दर्ताका लागि निर्वाचन आयोग पुगेका एमाले महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारूढ दलहरूको निर्णय अराजनीतिक भएको टिप्पणी गरे। आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरूले मात्रै निर्वाचनमा गठबन्धन गर्ने उनको भनाइ थियो। गठबन्धन एमालेविरुद्ध लागे पनि जनताले एमालेलाई मत दिने उनले बताए। महासचिव पोखरेलले कुनै नीति, उद्देश्य र लक्ष्य नभएको सत्ता गठबन्धन स्वार्थको पोको भएको धारणा राखे। ‘अहिले पाँचदलीय गठबन्धन नीतिको प्रश्नमा, उद्देश्यको प्रश्नमा, लक्ष्यको प्रश्नमा स्पष्ट छैन। त्यसले मुलुकलाई सही बाटो दिन कसरी सक्छ ?’ पोखरेलले भने।

प्रकाशित: २९ श्रावण २०७९ ०१:११ आइतबार

एमाले सत्ता गठबन्धन