२५ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारको अक्षमताका कारण सबै क्षेत्र तहसनहस भयाे: नेम्वाङ

इलाममा आयोजित प्रशिक्षण कार्यक्रममा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ। तस्बिर: नागरिक

नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारको अक्षमताका कारण देशको सबै क्षेत्र तहसनहस भएको बताएका छन्। उनले गठबन्धन सरकार सबै क्षेत्रमा असफल भएको पनि बताए।  

गृहजिल्ला इलाममा सोमबार आयोजित जिल्लास्तरीय पार्टी प्रशिक्षणमा पूर्वसभामुखसमेत रहेका नेम्बाङले सरकारकै कारण कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका नै अस्तव्यस्त भएको बताए। ‘देशमा महँगी, भ्रष्टाचार बढेको छ,’ उनले भने, ‘देश अहिले अव्यवस्थाको नमुना बनेको छ।’  

नेम्बाङले अर्थ मन्त्रालयले ‘सिसी टिभी फुटेज १३ दिनमै डिलिट भयो’ भनेर जबाफ दिनुलाई पनि ‘संसारकै अचम्मलाग्दो घटना’को संज्ञा दिए। ‘करको दर हेरफेर भएका बेलाको सिसी टिभी फुटेज १३ दिनमै हरायो भन्नु संसारकै अचम्मलाग्दो घटना भएको छ,’ उनले भने, ‘सरकारको यस्तै–यस्तै व्यवहारले देशको अर्थतन्त्र ध्वस्त भएको छ, तहसनहस भएको छ।’  

नेम्बाङले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरे। ‘यसअघिको चुनाव (स्थानीय तह)मा एमाले आफ्नै कारणले थोरै सिटमा मात्र सफल भएको हो,’ उनले भने, ‘अब एमाले एक भएको छ, पार्टी एक भएको छ। सबै एकजुट हुँदा विपक्षीलाई परास्त गरी विजयी हुन एमालेलाई कसैले छेक्ने छैन।’

प्रकाशित: २३ श्रावण २०७९ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App