२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

एमसीसी चीन घेर्ने नीतिः नेमकिपा

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले संयुक्त राज्य अमेरिकाले ‘चीन घेर्ने नीति’ अन्तर्गत एमसीसी ल्याएको बताएको छ। पार्टी अध्यक्ष नारायणमान विजुक्छेंले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ‘चीन घेर्ने नीति’ अन्तर्गत हिन्द–प्रशान्त रणनीति, एमसीसी, क्वाड, अउकस आदि नीति र संगठन निर्माण गरी क्षेत्रीय शान्ति तथा विश्वशान्ति खल्बल्याउने कार्य अमेरिकाले गरिरहेको आरोप लगाएका छन्।

संयुक्त राष्ट्रसंघ अमेरिकाले युद्ध उत्तेजनात्मक गतिविधि केही समयदेखि तीव्र पारेको जगजाहेर भएको विज्ञप्तिमा उल्लेख छ। ‘चिनियाँ मुख्य भूमिबाट थाइवानलाई अलग्ग’ बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिनु साम्राज्यवादी आक्रामक नीति निन्दनीय भएको पनि पार्टीले बताएको छ। त्यो कार्य सन् १९७१ मा गरिएको संयुक्त राष्ट्रसंघको २५७८ घोषणा विपरीत रहेको पनि जनाएको छ।

संयुक्त राष्ट्रसंघ अमेरिका स्वयम्ले विगतमा ‘एक चीन नीति’ लाई स्वीकार गरेको यथार्थ जगजाहेर हुँदाहुँदै ‘चिनियाँ मुख्य भूमिबाट थाइवानलाई अलग्ग’ बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिनु साम्राज्यवादी आक्रामक नीति निन्दनीय भएको बताएको हो। यो कार्य विभिन्न कालखण्डमा चीन–संयुक्त राष्ट्रसंघ अमेरिकाबीच भएका अन्य सम्झौताको मर्म विपरीत पनि भएको पनि पार्टीले जनाएको छ।

‘चिनियाँ भूमिमा अस्थिरता फैलाउने, थाइवानमा क्रियाशील विखण्डनकारी संगठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तेजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध ‘शीत युद्ध’ को अभ्यास गर्ने कार्य गर्दै आएको सर्वविदित भएको विज्ञप्तिमा उल्लेख छ। त्यसैको सिलसिला अन्तर्गत पेलोसीको थाइवान भ्रमण भएको प्रष्ट भएको र निश्चय पनि यसको परिणाम वाइडेन प्रशासनले भोग्नुपर्ने छ भन्ने चिनियाँ घोषणा देशभक्तिपूर्ण रहेको जनाएको छ।

पार्टीले संयुक्त राष्ट्रसंघ अमेरिकी साम्राज्यवादको एसियामा नयाँ युद्ध थोप्ने चालबाजीको विरोध गर्दै आएको पार्टीले जनाएको छ। ‘नेमकिपा एसिया महादेश र विश्वमा अशान्ति फैलाउने कार्य बन्द गर्न माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा चीनको सम्प्रभुताको कदर गर्नु र ‘एक चीन नीति’ साँचो अर्थमा पुनः अडिग भएर प्रस्तुत हुनु स्वयम् संयुक्त राष्ट्रसंघ अमेरिकाको निम्ती हितकारी हुनेतर्फ वाइडेन प्रशासनको ध्यानाकर्षण गराएको छ।

‘थाइवान चीनको अभिन्न अड्डा हो भन्नेबारे नेपाली शान्तिप्रिय जनता तथा कामदार जनता दृढ छन्। एसियाली र संसारका अन्य मानिसहरूझैं नेपाली जनता पनि युद्ध चाहँदैनन्, शीतयुद्ध अगाडि बढेको मन पराउँदैनन्’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, नेमकिपा र नेपाली कामदार तथा शान्तिकामी नेपाली जनता संयुक्त राष्ट्रसंघ अमेरिकी सरकारको संसारका विभिन्न भाग र देशहरूमा झगडाको ‘आगो झोस्दै’ हिड्ने कार्यको विरोध एवम् निन्दा गर्दछ।’

‘विश्वभरि शान्ति, विकास र मानव जातिको ‘साझा भविष्य’ का निम्ति प्रयत्नरत चीन, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व तथा चिनियाँ जनताको उद्देश्यप्रति पार्टीले ऐक्यवद्धता प्रकट गरेको छ। साम्राज्यवाद र अन्यायपूर्ण युद्धको विरोध गर्दछ र संयुक्त राष्ट्रसंघ अमेरिकालाई आफ्नो युद्धपिपासु नीति तुरून्त त्याग्नसमेत आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

चीनको अभिन्न अड्डा थाइवानमा भ्रमण नगर्न चीनले बारम्बार गरेको आग्रह र भ्रमण गरेको खण्डमा परिणाम खतरनाक हुने चेतावनीबीच २ अगष्ट, मंगलबार संयुक्त राज्य अमेरिकाको प्रतिनिधिसभाको सभामुख नान्सी पेलोसी थाइवान पुगेको र उत्तेजनात्मक अभिव्यक्ति दिएको खबर सार्वजनिक भएको थियो।

चीनले त्यस कार्यलाई चीनको सम्प्रभुतामाथि ठाडो हस्तक्षेप, भू-अखण्डतामाथि खलल पुर्‍याउने तथा थाइवान जलडमरुमा शान्ति र स्थिरतामाथि गम्भीर क्षति पुर्‍याएको बताएको थियो। चीनले ‘आगोसँग खेल्नेले भस्म हुन तयार हुनुपर्ने’ कडा प्रतिक्रियासमेत दिएको थियो।  

प्रकाशित: १८ श्रावण २०७९ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App