१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘बलात्कार आरोपित’ को प्रवचन: भिआइपीको लस्कर

पशुपति मन्दिरमा चलिरहेको ‘अतिरुद्र महायज्ञ’ मा मंगलबार एकाएक होहल्ला हुन थाल्यो। होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन्।

उनले ‘बलात्कार आरोपित व्यक्तिले आयोजना गरेको महायज्ञ’ भन्दै विरोध जनाएर हल्लाखल्ला गर्न थालिन्। सार्वजनिक कार्यक्रममा होहल्ला गरेको भन्दै प्रहरीले उनलाई तत्काल पक्राउ गर्‍यो। उनलाई पक्राउ गरेर प्रहरीले महायज्ञको वातावरण शान्त पारे पनि उनको आरोप गम्भीर थियो। महायज्ञ आयोजना बलात्कारका आरोपितबाटै भएको थियो। ‘सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान’ नामक संस्थाले महायज्ञ आयोजना गरेको हो। जसका मुख्य पात्र ‘सिद्धबाबा’ का नामले परिचित कृष्ण गिरी हुन्। उनीमाथि बलात्कारको आरोप छ।

सुनसरीको चतराधाम आश्रममा बस्ने सिद्धबाबाविरुद्ध एक महिलाले जबरजस्ती करणी (बलात्कार) को आरोप लगाएकी थिइन्। ती महिलाका अनुसार २०७६ कात्तिक ३ गते राति उनीमाथि सिद्धबाबाले बलात्कार गरेका थिए। ती महिलाले भनेअनुसार त्यस दिन राति ११ बजे सिद्धबाबाले फोन र फेसबुक म्यासेन्जरबाट कल गरेर आश्रममा बोलाएका थिए। आश्रममा बोलाएर सिद्धबाबाले ‘आफूले भनेअनुसार नगरे अनिष्ट हुने’ भन्दै जबर्जस्ती करणी गरेको बयान ती महिलाले दिएकी थिइन्। त्यसको दोस्रो दिन कात्तिक ४ गते सिद्धबाबाविरुद्ध किटानी जाहेरी लिएर ती महिला प्रहरीकहाँ पुगेकी थिइन्। सुरुमा शक्तिकेन्द्रसँग पहुँचमा रहेका सिद्धबाबाविरुद्धको जाहेरी प्रहरीले लिन मानेनन्। त्यसपछि उनी काठमाडौं आएर पतिको समेत सहयोग लिई जिल्ला प्रहरी परिसर काठमाडौं र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा किटानी जाहेरी दिन पुगेकी थिइन्।

मुद्दा दर्ता भएपछि जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई पक्राउ पुर्जी जारी गरेको थियो। तर पक्राउ पर्नबाट बच्न सिद्धबाबाले अनेक बहाना बनाउन थाले। उनी बिरामी भएको भन्दै अस्पताल भर्ना भए। धेरै दबाब बढेपछि २०७६ मंसिर तेस्रो साता प्रहरीले उनलाई अस्पतालको आइसियुबाटै पक्राउ गर्‍यो।

यो मुद्दामा सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबालाई सफाइ दियो। अदालतको यो फैसला पनि विवादित छ। अदालतमा सिद्धबाबाले आफू ‘वैदिक सनातनी भएको, मोबाइल, फेसबुक केही नचलाउने, स्त्रीबाट टाढा रहने’ जस्ता बयान दिएका थिए। उनको यो बयानको प्रत्युत्तरमा पीडित पक्षबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्तालाई बहसको समय नै नदिई फैसला भएको बताइन्छ।

अदालतको पूर्णपाठमा ‘उमेर पुगेका महिला र पुरुषबीच सहमतिमा शारीरिक सम्बन्धलाई जबर्जस्ती करणी भन्न नमिल्ने’ भन्ने फैसला थियो। ‘जाहेरवाली प्रतिवादीसँग मोहित भई आफ्नो शरीर समर्पण गरी भएको करणी निजहरूका बीच सहमतिमा भएको भन्ने देखियो। अतः यस्तो सहमतिबाट भएको करणीलाई जबरजस्ती करणी मान्न नसकिने हुँदा प्रतिवादीउपरको अभियोग दाबी स्थापित हुन आएन,’ फैसलामा उल्लेख छ, ‘तसर्थ प्रतिवादी सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ।’

सिद्धबाबालाई बलात्कार प्रमाणित गर्न सरकारी वकिल कार्यालयसँग पर्याप्त प्रमाण रहेको कार्यालयस्रोत बताउँछ। पीडित महिला प्रहरीकहाँ पुगेपछि आरोपित सिद्धबाबाले फोन गरेर ‘एक पटकलाई माफ दिन’ भनी गरेको अनुनयदेखि विभिन्न ‘फिजिकल एभिडेन्स’ रहेको स्रोत बताउँछ। ती प्रमाण प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएका थिए। त्यसको रिपोर्ट आउँदा अडिओ आवाज सिद्धबाबाको नै रहेको पुष्टि भएको थियो।

त्यसपछि यो मुद्दा उच्च अदालत विराटनगर पुग्यो। जहाँ यो मुद्दा विचाराधीन छ। मुद्दाका विषयमा उच्च अदालत विराटनगरले गत असारमा न्यायिक टिप्पणी गर्दै न्यायाधीश अर्जुन कोइरालाले ‘प्रमाण नै नबुझी फैसला गरेको’ भनेको छ। उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले ‘जिल्ला तहबाट मुद्दामा बुझ्नुपर्ने आधारभूत प्रमाणसमेत नबुझी फैसला गरेको’ टिप्पणी गरेको छ।

बलात्कार आरोपको मुद्दा खेपिरहेका यिनै सिद्धबाबाले पशुपति मन्दिर परिसरमा धार्मिक मेला आयोजना गरिरहेका छन्। पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालित अनिरुद्ध महायज्ञमा सिद्धबाबा नै मुख्य प्रवचक देखिएका छन्। जहाँ दर्शन गर्न देशका उच्चपदस्थ अधिकारी पनि सहभागी भएका छन्। साउन १ देखि सुरु भएर बुधबारसम्म चलेको मेलामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, सरकारका महान्यायाधिवक्ता खम्मबहादुर खातीदेखि नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्रबहादुर धानुकसम्म सहभागी भएको देखिएको छ।

यसबाहेक तमाम सांसद, पूर्वमन्त्री, निजामती एवं सरकारी सेवामा रहेका उच्चपदस्थ कर्मचारीका साथै हजारौं श्रद्धालु भक्तजनले बसेर बलात्कार आरोपित सिद्धबाबाको प्रवचन सुनेका छन्। आरोपित सिद्धबाबाका विगतका कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वसभामुख कृष्णबहादुर महरासम्म सरिक भएका थिए।

प्रकाशित: १२ श्रावण २०७९ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App