१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रतिमतदाता खर्च २८४ रुपैयाँ

फाइल तस्बिर

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा प्रतिमतदाता दुई सय ८४ रूपैयाँ खर्च भएको छ। यो खर्च २०७४ सालको स्थानीय तह निर्वाचनको भन्दा कम हो। दुई वा तीन चरणको सट्टा एकै चरणमा निर्वाचन गराउँदा खर्च केही कम देखिएको हो।  

संविधानसभा निर्वाचनदेखि संघीयता कार्यान्वयन भएपछिका तीनवटा चुनावको खर्च तुलना गर्दा यस पटकको चुनावी खर्च मीतव्ययी देखिएको छ। यसअघि तीन चरणमा स्थानीय चुनाव गर्दा खर्च बढी भएको थियो। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७० र २०७४ सालमा भएका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भन्दा यस पटक केही सस्तो देखिएको छ।  

२०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा कुल ५ अर्ब ४ करोड ३ लाख ९२ हजार खर्च भएको छ। निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए। सबै मतदातालाई निर्वाचन खर्च बाँड्दा २ सय ८४ रूपैयाँ हुन्छ। यो २०७० सालको संविधानसभाको चुनावभन्दा पनि सस्तो हो। यस पटक आन्तरिक स्रोतको खर्चमा मात्रै चुनाव भएको आयोगले जनाएको छ। आयोगका अनुसार प्राविधिक र व्यवस्थापकीय खर्चमा मात्रै बाह्य स्रोत प्रयोग गरिएको र बाँकी आन्तरिक स्रोतबाटै गरिएको थियो।  

स्थानीय तह निर्वाचन–२०७९ मा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार खर्च भएको छ। २०७४ सालमा तीन चरणमा स्थानीय तह निर्वाचन हुँदा ७ अर्ब १५ करोड ७७ लाख रूपैयाँ खर्च भएको थियो।  

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा एकजना मतदाताको थाप्लोमा ५ सय ९ रूपैयाँ खर्च परेको थियो। तीन चरणमा भएको सो निर्वाचनमा ७ अर्ब १५ करोड ७७ लाख रूपैयाँ खर्च भएको थियो। आयोगका अनुसार एउटा मतदान केन्द्रमा ३ लाख ८५ हजार रुपैयाँ खर्च भएको थियो। देशभर १८ हजार ७ सय ७३ वटा मतदान केन्द्र रहेका थिए। १ करोड ४० लाख ७४ हजार जना मतदाता रहेकोमा १ करोड ४ लाख ८९ हजार २ सय ४ मत खसेको थियो।  

त्यस्तै, २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा प्रतिमतदाता ४ सय ९३ रूपैयाँ खर्च भएको आयोगको तथ्यांक छ। कुल १ करोड २१ लाख ४७ हजार ८ सय ६५ जना मतदाता रहेको सो निर्वाचनमा ५ अर्ब ९८ करोड ८९ लाख रूपैयाँ खर्च भएको थियो। दोस्रो संविधानसभा निर्वाचनमा ९५ लाख १६ हजार ७ सय ३४ मत खसेको थियो। १८ हजार ७ सय ५५ मतदान केन्द्र रहेका थिए। ती मतदान केन्द्रमा ३ लाख १८ हजार ९ सय ८८ रूपैयाँ खर्च भएको थियो । तत्कालीन समयमा १ अर्ब १३ करोड ४६ लाख रूपैयाँ बाह्य स्रोतबाट सहयोग जुटेको थियो।

त्यसैगरी २०७४ सालमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रूपैयाँ खर्च भएको थियो। त्यसबेला १ करोड ५४ लाख २७ हजार ९ सय ३८ जना मतदाता रहेका थिए। त्यसमा १९ हजार ८ सय ९ वटा मतदान केन्द्र रहेका थिए। निर्वाचनमा कुल ७ अर्ब ८० करोड १४ लाख रूपैयाँ खर्च भएको निर्वाचन आयोगको दाबी छ। प्रतिमतदान केन्द्रमा ३ लाख ९३ हजार रूपैयाँ खर्च निस्केको छ।

प्रकाशित: ११ श्रावण २०७९ ०१:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App