९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

भारत भ्रमणमा आरजु राणासँगको भेटलाई षड्यन्त्र बनाएर प्रचार गरियोः प्रचण्ड

नेकपा (माओवदी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमणमा काँग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेटको विषयलाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताएका छन्।

शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्नेकुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताएका हुन्। उनले सो कुरामा कुनै सत्यता नरहेको भन्दै यो हुने नसक्ने कुरालाई प्रचार गरिएको दाबी गरे।

अध्यक्ष दाहालले झुटो कुरालाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार गरिएको बताए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुको कारण कसैलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउने भन्ने विषयलाई लिएर नरहेको स्पष्ट पारे। उनले तथ्यहीन र षड्यन्त्रमुलक प्रचारबाजीबाट सबै शतर्क हुन आवश्यक रहेको पनि बताए। अध्यक्ष दाहालले तत्कालीन सत्ता गठबन्धन चुनावसम्म रहनेमा शंका नगर्न आग्रह गरे।

अध्यक्ष दाहालले भने, ‘यो सबै हावा कुरा हो। यो एकखालको भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो। त्यसमा कुनै सत्यता छैन, हुन सक्दैन। आरजु उपचारको क्रममा दिल्लीमा हुनुहुन्थ्यो, उहाँको स्वास्थ्य लाभको कामना गरेको हो। त्यो यति प्रचारमा लगियो कि अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचार भएछ। यस्ता वाहियात, तथ्यहीन र षड्यन्त्रमुलक कुराबाट जोगिनुहोला।’

दाहालले दिल्लीमा काँग्रेस नेतृ आरजु देउवा र आफू बिचमा कुनैपनि प्रकारको सम्झौता नभएको स्पष्ट पारे। उनले केही षडयन्त्रकारीहरुले यसलाई तन्काएर षडयन्त्रपूर्ण तरिकाले उठाउन खोजेको बताउँदै यसमा कुनैपनि प्रकाराको सत्यता नरहेको दाबी गरे।

यस्तै दाहालले नागरिकता समस्या समाधान गरेर जनताको समस्या समाधान गर्न पाएकोमा आफू निकै उत्साहित रहेको बताए। उनले अहिले नेकपा समाजवादी केन्द्र वा वामपन्थी एकताको विषयमा समेत छलफल भइरहेको बताए। अध्यक्ष दाहालले चुनावी वामपन्थी मोर्चा बनाउने कुरामा चाँडै निष्कर्षमा पुग्ने घोषणा समेत गरे।

प्रकाशित: ७ श्रावण २०७९ १०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App