२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘कूटनीतिलाई राजनीतीकरण गर्दा समस्या’

पूर्वपरराष्ट्र सचिव तथा कूटनीतिक मामिलाका जानकार मदन भट्टराई नेपालका विषयमा शक्तिराष्ट्रहरू एकपछि अर्को गर्दै आमनेसामने हुनुका पछाडि कूटनीतिलाई उपयुक्त ढंगले सञ्चालन गर्न नसक्नुको परिणाम भएको बताउँछन्। 

परराष्ट्र मन्त्रालयबाट हुनुपर्ने कुरा राजनीतिज्ञहरूले गर्दा यस्तो समस्या आएको उनको आरोप छ। एमसिसीबारे नेपालले सुरुमै एउटा प्रस्ट धारणा बनाएर अघि बढ्नुको सट्टा यसलाई राजनीतीकरण गरेकाले नेपालमा चीन र अमेरिकाबीच बाझाबाझको अवस्था आएको उनको बुझाइ छ।  

नेपालमा अन्तर्राष्ट्रिय मामिला र कूटनीतिका विषयमा परराष्ट्रलाई महŒवपूर्ण भूमिका नदिने र समस्या आएपछि मात्र परराष्ट्रलाई गुहार्ने शैलीले पनि समस्या निम्त्याएको भट्टराईको तर्क छ। ‘हाम्रोमा परराष्ट्र मन्त्रालय पोस्ट अफिसजस्तै भएको छ। परराष्ट्र मन्त्रालयलाई भूमिका नै दिइएको छैन,’ उनले भने।  

अन्य मुलुकहरूमा आन्तरिक रूपमा दलहरूबीच राजनीतिक असमझदारी भए पनि विदेश मामिलामा एक मत हुने तर नेपालमा भने विदेश मामिलामै दलहरूबीच फरकफरक धारणा भएकाले पछिल्लो समय मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर हुँदै गएको भट्टराई बताउँछन्।

‘हामीले कूटनीतिमा पनि राजनीति गर्‍यौं, कूटनीतिलाई सही रूपमा सञ्चालन गर्नै चाहेनौं। त्यसैले अहिले जे भइरहेको छ, त्यसमा आश्चर्य मान्नुपर्ने कुनै कारण छैन। यो स्वाभाविक हो,’ भट्टराईले भने।  

नेपालको कूटनीति पहिलेको तुलनामा झन्झन् खस्किँदै गएको बताउँदै  उनले शीतयुद्धका बेलामा समेत बलियो  ढंगले कूटनीति सञ्चालन गर्न सफल भएको नेपाल अहिले आफ्नै कारणले कमजोर हुँदै गएको सुनाए। नेपालमा अन्तर एजेन्सी सहकार्य निकै कम रहेको र परराष्ट्रसँग सम्बन्धित विषय पनि परराष्ट्रको जानकारीबिनै अन्य निकायले सञ्चालन गर्नेजस्ता भद्रगोलपूर्ण अवस्थाले नेपालको परराष्ट्र सम्बन्ध कमजोर हुँदै गएको भट्टराईको तर्क छ।

प्रकाशित: ३२ असार २०७९ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App