१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

‘समयमै निर्वाचन गरेर संविधानको कार्यान्वयन गरियो’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गरेर संविधानको सफल कार्यान्वयन गरिएको बताएका छन्। शुक्रबार भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्थानीय तह निर्वाचनले संविधान संस्थागत हुने काम भएको भन्दै स्थानीय सरकारलाई अब कसैले पनि भत्काउन नसक्ने बताएका हुन्।  

अध्यक्ष दाहालले स्थानीय निर्वाचनलाई सफल बनाउन सकिएको भन्दै ठट्यौली पारामा भने, ‘अहिले नेपाली कांग्रेसले जिते पनि, समाजवादी र एमाले जसले जिते पनि मैले जितेजस्तो लाग्छ।’ दाहालले एकता पक्षधर र एकताविरोधी पक्षबिच अहिले राजनीतिक लडाइँ भइरहेको बताए। आफूहरू मिलेर अगाडि बढ्ने पक्षमा रहेको भन्दै दाहालले प्रदेश र संघको निर्वाचनसम्म अहिलेको गठबन्धन कायम रहने दोहोर्‍याए। त्यति मात्र नभई अझै परसम्म शान्तिप्रक्रिया टुंग्याउने विषय र विकासको नयाँ युगमा जाने क्रममा पनि सामूहिकतामा जाने बताए। अध्यक्ष दाहालले अझै पनि संविधान जोखिममा रहेको भन्दै सबैखाले चुनौतीलाई सामना गर्न गठबन्धनक सरकार अगाडि बढेको बताए।  

दाहालले इन्डो प्यासिफिक स्ट्राटेजिक (आइपिएस) र स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकै बेलामा नेपाल भित्रिएको प्रमाणित भइसकेको बताएका छन्। आगामी कार्यदिशा विषयक छलफलमा अध्यक्ष दाहालले आइपिएस र एपपिपी केपी ओलीले नै छिराएको बताएका हुन्। ‘मैले हिजो एउटा कार्यक्रममा सन् २०१९ मा आइपिएस केपी ओलीजीकै पालामा भएको हो। यो एसपिपीलाई पनि केपीले नै छिराएका हुन् भनेर के निस्किएको थिएँ। एमालेका एक वरिष्ठ भन्नेले ल चुनौती, प्रमाणित गरेर देखा भन्नुभयो। चार घण्टापछि प्रमाणित भयो,’ उनले भने, ‘त्यसैले राष्ट्रवादको ढोंगको पछि नलाग्न र सक्कली राष्ट्रवाद हुन अपिल गर्दछु।’ उनले आइपिएस र एसपिपीले दुई पक्षको कित्ताकाट गरेको बताए। दाहालले एकताको पक्ष र एकता विरोधीको लडाइँ स्पष्ट भएको बताए। उनले सिंगै देशलाई चितवनबाट विकासको मोडल दिन सकिने बताए।  

‘आफैं जन्मेहुर्केको जिल्लाबाट जनप्रतिनिधि बन्न आउँदा केही सपना बोकेर आएको पक्कै हो,’ उनले भने, ‘सामाजिक विकास र रूपान्तरणको मोडल चितवनबाट दिन सकिन्छ भन्ने छ।’ उनले भावी विकासका लागि सबैले दिएको सुझाव मार्गदर्शनका रूपमा लिने बताएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रमणि पाण्डे, भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासैनी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङ, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा तथा विभिन्न विकास निर्माण कार्यालयका महानिर्देशकसहित दाहाल चितवन आएका थिए।  

उनीहरूले भरतपुरको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। मुख्यमन्त्री राजेन्द्रमणि पाण्डेले वाग्मती प्रदेश सरकारका अधिकांश योजना भरतपुरमा रहेको समेत जिकिर गरे। महानगरले आगामी कार्यदिशामा शिक्षा क्षेत्रको रूपान्तरण गरी गरिखाने सिपमूलक प्राविधिक शिक्षाको सुनिश्चित गर्दै दिगो विकासमैत्री पूर्वाधारको सहरका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। महानगरप्रमुख रेनु दाहालले अघि सारेको कार्ययोजनामा हरियाली सुन्दर र लगानीमैत्री पूर्वाधारको सहरका रूपमा विकास गर्ने रहेको छ।

प्रकाशित: ४ असार २०७९ ००:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App