coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जसपा असन्तुष्ट पक्ष आयोगमा

जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद चर्किएको बेला असन्तुष्ट पक्षका केही नेता नयाँ पार्टी दर्ताबारे कानुनी प्रक्रिया बुझ्न निर्वाचन आयोग पुगेको खुलासा भएको छ।

शनिबार बिहान बालुवाटारस्थित एक नेताको निजी निवासमा असन्तुष्ट केही नेताले अनौपचारिक छलफल गरेका थिए। छलफलमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आफ्नो एजेन्डा लागु गर्न थप दबाब दिने, त्यसपछि पनि यादव तयार भएनन् भने नयाँ पार्टी खोल्नेसम्मको विषयमा छलफल भएको एक नेताले बताए। ‘अब परिस्थिति धेरै अगाडि बढिसकेको छ। हाम्रो एजेन्डामा आउन अध्यक्षज्यू तयार हुनुभएन भने पार्टी फुट्न सक्छ।’

जसपाका कार्यकारिणी समिति सदस्य सांसद अमृता अग्रहरीले जसपा नफुट्ने तर केही गलत व्यक्ति पार्टीबाट निस्कने बताइन्। ‘हामीले यति दुख गरेर जन्माएको पार्टी फुट्न दिन्नौं तर केही गलत व्यक्ति पार्टीबाट निस्कनुहुन्छ,’अग्रहरीले भनिन्, ‘पहिले उनलाई सच्चिन आग्रह गर्छौं। सच्चिन तयार हुनुभएन भने उहाँहरू पार्टीबाट निस्कनुहुन्छ।’ अग्रहरीले गलत व्यक्तिको बारेमा खुल्न चाहिनन्।

पछिल्लो समय अग्रहरी पनि डा. भट्टराई पक्षसँग निकट भएको स्रोतको दाबी छ। उनले भनिन्, ‘अब हामी अध्यक्षज्यूको कार्यशैली हेर्छौं। उनले के गर्नु हुन्छ। त्यो हेरेर निर्णय गर्छौं।’ नयाँ पार्टी दर्ता गर्ने प्रक्रियाबारे बुझ्न निर्वाचन आयोगमा केही नेता गएको अर्का एक कार्यकारिणी सदस्यले स्वीकार गरे। 

उनले भने, ‘यस्तो परिस्थिति आउन सक्छ भनेर नै स्थानीय निर्वाचनअघि नै आयोगमा गएर नयाँ पार्टी दर्ताबारे बुझेका हौं। नियम कानुन एकदुई महिनामा फेरिन्न। त्यसैले नयाँ पार्टी दर्ताका लागि सबै कानुनी प्रक्रिया बुझेका छौं।’ जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले पार्टी फुट्नबाट रोक्न पार्टीको विधानअनुसार दुईजना अध्यक्ष राख्ने व्यवस्था लागु गर्न उपयुक्त हुने बताए।

‘विशेष परिस्थितिमा दुई अध्यक्ष राखेका हौं भनेर उहाँहरू भन्नुहुन्छ। अहिले पनि परिस्थिति विशेष भएको छ। त्यसैले पार्टीलाई फुट्नबाट जोगाउन दुई अध्यक्ष राख्नु उपयुक्त हुन्छ,’ उनले भने। पार्टीको कार्यकारिणी तथा केन्द्रीय समितिमा पार्टीको विधानअनुसार दुई अध्यक्ष राख्नुपर्छ भन्ने पक्ष प्रस्ट बहुमतमा रहेको उनले दाबी गरे।

प्रकाशित: ३० जेष्ठ २०७९ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App