६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘कत्ल की रात’ अर्थात् मौन अवधिः नतिजा उल्ट्याउने समय

मौन अवधिमा सिरहाको गोलबजारमा रकम बाँडेर मत मागिरहेका बेला स्थानीयले नियन्त्रणमा लिएका व्यक्ति प्रहरीलाई बुझाउँद।तस्बिरः नागरिक

वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि ‘निर्वाचन मौन अवधि’ सुरु भयो। वैशाख ३० गते शुक्रबार देशैभरका ७ सय ५३ स्थानीय तहका लागि निर्वाचन हुँदै छ।

मौन अवधिभर राजनीतिक दलका कोणसभा, बाजागाजा, झ्याली–दमाहाका प्याइँप्याइँ र पुइँपुइँ, आमसभालगायत निर्वाचनका सबै तामझाम र रमितामा प्रतिबन्ध लगाइएको छ। निर्वाचन आचारसंहिताले मौन अवधिमा सरोकारवाला पक्षलाई प्रचारप्रसारका सार्वजनिक गतिविधिमा रोक लगाएको छ। निर्वाचन हुनुपूर्वको ४८ घण्टाको अवधिलाई मौन अवधि भनिन्छ। मौन अवधिमा मतदाताको मन शान्त पार्ने अवधिका रूपमा पनि लिइन्छ।

निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचारप्रसारलगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने गरी रोक लगाएको भए पनि निर्वाचन क्षेत्रमा मौन अवधिकै बीच गुपचुप रूपमा मत आफ्नो पक्षमा पार्ने कसरत चुलिन्छ। यही अवधिमा अधिकांश चुनावी आँकलन ‘उलटफेर’ हुने गरेको विगतको अनुभव छ। मधेसको चुनावमा मौन अवधिलाई ‘नतिजा बदल्ने रात’ का रूपमा लिइन्छ। प्रतिस्पर्धामा रहेका उम्मेदवारले तटस्थ मत र विपन्न बस्तीका मतलाई खरिद गर्न मोलतोल यही अवधिमा हुने गर्छ।

मधेसमा अन्तिम अवस्थामा पनि नतिजा उलटपुलट हुन्छ। यही अवधिको कसरतले जित्ने पक्का भनिएको उम्मेदवारलाई पछारेर अर्को उम्मेदवार अघि बढेका र अप्रत्यासित परिणाम आएका उदाहरण थुप्रै छन्। यो उलटपुलटको खेल चुनावको अघिल्लो रात अझ तीव्र हुन्छ। मधेसको चुनावी अंकगणित मौन अवधिमै तय हुने गरेको जानकारहरू बताउँछन्।

समुदायका अगुवाले आफ्नो पकड क्षेत्रका मत अहिले पनि आफूले चाहेको उम्मेदवारका पक्षमा खसालिदिन सक्छन्। त्यस्ता मत हासिल गर्न उम्मेदवारले उनीहरूलाई निश्चित रकम दिन्छन्। अगुवाले कति मत प्रभावित पार्न सक्छन्, त्यसैका आधारमा मौन अवधिमा उसलाई एकमुष्ट रकम उपलब्ध गराउँछन् उम्मेदवारले।

‘कतिपय अगुवाले पैसा लिएको उम्मेदवारको पक्षमा तोकेरै यति मत खसाल्न लगाउँछु भनेर लिखितरूपमै सकारेका हुन्छन्,’ लहानका एक राजनीतिकर्मी भन्छन्, ‘रकम लिएजति त्यस क्षेत्रबाट भोट नआउँदा निर्वाचनपछि पैसा फिर्ता माग्ने चलनसमेत छ।’ गत स्थानीय तह निर्वाचनमा यही विषयमा धेरै स्थानमा मारपिट नै भएको कुरा ती राजनीतिकर्मीले बताए।

आफूले नजित्ने देखेपछि प्रतिस्पर्धामा रहेका अर्का उम्मेदवारलाई प्रचारप्रसार खर्चमा केही रकम थप लिएर सघाउने चलन पनि छ। मधेसका आठ वटै जिल्लामा करिब ४० प्रतिशत मतदाता प्रष्ट खुल्न नसेकको अनुमान छ। ‘यो मत जता ढल्किन्छ, जित उसैको पक्षमा जान्छ। त्यसैले प्रत्यासी मौन अवधिमा मौनमत हत्याउन साम, दाम, दण्ड, भेद सबै दाउ अपनाउँछन,’ एक राजनीतिकर्मीले भने।

‘मधेसका दलित बस्तीहरूमा ‘बिराना मान्छे’ को आउजाउ बाक्लिएको छ। राति मात्र मान्छे कति आए र गए पत्तै छैन,’ लहान नगरपालिकादगाउँकी मंगलीदेवी पासवानले भनिन्, ‘भोट दिय नोट दिय(भोट दिनुस्, नोट लिनुस् भनेर फकाउँछन्। तपाइँ भोट दिनुस्, हामी केही पर्‍यो भने सहयोग गर्छौैं भनेर समेत फकाउँछन्,’ उनले भनिन्। करिब ५६ हजार मतदाता रहेको लहान नगरपालिकाका करिब ४० प्रतिशत हिस्सा मौन रहेको अनुमान छ। आक्रामक प्रचारमा हिँडेका राजनीतिक दल मौन अवधिमा त्यही हिस्सालाई आफूतिर तान्न लागिपरेका छन्।

लहानको खुट्टीखेला किनार र पारीको यो बस्ती राजनीतिक रूपमा ‘मौन’ छ। कुनै दलप्रति प्रतिबद्ध नभएकैले विभिन्न राजनीतिक दलले यस्ता मत आफूतिर तान्न मौन अवधि उपयोग गरिरहेका छन्। ‘मौनअवधि अघिसम्म सतही तबरले माहोल बनाउने गरी प्रचारप्रसार गरियो, वास्तविक चुनाव त अब लागेको छ,’ एक राजनीतिक दलका जिल्ला स्तरीय नेताले भने, ‘यहाँको चुनावी नतिजा मौन अवधिमा मौन मतदातामा पारिने प्रभावबाटै निर्धारण हुन्छ।’

समुदायका अगुवालाई प्रभावित पारेर, आफै मतदातालाई भेटेर वा अप्रत्यक्ष रूपमा मत आकर्षित गर्ने सूत्र प्रयोग गरेर चुनावी चलखेल भइरहेको ती नेता बताउँछन्। ‘यसमा फलानो पार्टीले यस्तो गर्‍यो, उस्तो गर्‍यो भन्नुको कुनै अर्थ छैन,’ उनले भने, ‘चुनाव जित्न सबैले आफ्नो हैसियतअनुसार सूत्र प्रयोग गरिरहेका छन्।’

मौन मतदाता आफ्ना लागि पार्टीभन्दा मान्छे महत्वपूर्ण ठान्छन्। त्यसैले मौन अवधिमा जुन उम्मेदवारले मन जित्न सक्यो, उसकै पक्षमा भोट खस्छ। प्रभावशाली उम्मेदवारले निर्वाचनको पूर्वसन्ध्यामा भ्रम फैलाउन कार्यकर्तासमेत परिचालन गर्ने गरेका छन्। ‘गाउँमा गएर फलाना पार्टीका उम्मेदवारले समर्थन जनाए, हाम्रा उम्मेदवारले फलानालाई यति रकममा खरिद गरिसके, फलाना हार्दै छन् किन मत खेर फाल्नु’ लगायत भ्रमपूर्ण हल्ला फैलाउने क्रम पनि बढेको छ। प्रतिस्पर्धीमा अगाडि निस्कन उम्मेदवारले यस्तो भ्रम फैलाउने गर्छन्।  

मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज, उपमहानगर एवं मधेस प्रदेशको राजधानी जनकपुरधामलगायत नगरपालिकाहरूका मेयर उम्मेदवार अधिकांश पैसावाला भएकाले मौन अवधिमा विगतको भन्दा बढी रकमी चलखेल हुने राजनीतिक जानकारहरू बताउँछन्। तीनै जना पैसावाल उम्मेदवारबीच भिडन्त छ। मौन अवधि अर्थात ‘कत्ल कि रात’ मा जसले बढी खर्च गरेर मौन मत आफ्नो पक्षमा पर्न सक्छ उसैले मेयरको कुर्सी जित्छ। मधेसको चुनावी अंकगणित मौन अवधिमै तय हुने विगतको दृष्टान्त छ।

मौन अवधिमा पैसा बाड्ने पक्राउ

सिरहाको गोलबजार नगरपालिका– २ गुरुधामको पहाडे आदिवासी बाहुल्य बस्तीमा पैेसा बाँडेर मत मागिरहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने सोही ठाउँका ५५ वर्षीय प्रेम लामा रहेको प्रहरीले जनाएको छ।

लामाको साथबाट मतपत्र र करिब ५४ हजार नगद रूपैया बरामद भएको छ। स्थानीयले उनलाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएको हो। पक्राउ परेका लामामाथि अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले बताए। पक्राउ परेका लामा गोलबजार नगरपालिकाका खेल कुद शाखाका कर्मचारी कसम लामाका बुबा हुन्। लामा माओवादी केन्द्रका कार्यकर्ता हुन्।

प्रकाशित: २९ वैशाख २०७९ ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App