coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रोल्पामा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार

नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्। 

सोमबार बेलुका करिब ८ बजेतिर गंगादेव गाउँपालिका–५ बस्नेयौटामा माओवादी केन्द्र निकट वाइसीएलका कार्यकर्ताले खुकुरी प्रहार गर्दा कांग्रेस निकट तरूण दलका वडाध्यक्ष ३० वर्षीय मनबहादुर बुढा र २० वर्षीय कमल बुढा घाइते भएका थिए। मनबहादुरको स्वास्थ्य अवस्था गम्भिर भएपछि थप उपचारका लागि दाङ अस्पताल हुँदै अहिले नेपालगञ्ज लगिएको छ।

प्रहरीले घटनाको पुष्टि गरेको छ। रोल्पा प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरे राति नै घटनास्थल पुगेका छन्। ‘आक्रमण गर्नेका पहिचान खुलेको छ। प्रहरी टोली परिचालन गरेका छौं।’ डिएसपी घिमिरेले भने, ‘घाईतेको अवस्था गम्भिर भएकाले दाङ हुदै नेपालगञ्ज लगिएको छ। अस्पताल पुर्याएपछि बिरामीको अवस्थाका बारेमा थप जानकारी आउनेछ।’  

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार घटनास्थलको अवस्था अहिले सामान्य छ। ‘हिजो नै रातिदेखि नै थप प्रहरी परिचालन गरिएको छ। राति नै डिएसपीसहितको टोली पठाएको छु।’ प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, ‘प्रहरीको ट्रयाकिङमा खुकुरी हान्ने व्यक्ति अर्को जिल्लामा देखिएको छ। अन्य जिल्लासंग पनि पक्राउ गर्नका लागि समन्वय भईरहेको छ।’

आफ्ना कार्यकर्तामाथि आक्रमण गरिएको भन्दै कांग्रेस लुम्बिनि प्रदेश सभापती अमरसिंह पुनले प्रशासनले सहज बातावरण नगराएको आरोप लगाए। ‘प्रहरी प्रसासनले समयमै चासो नदिए आफूहरु पनि चुप लागेर बस्न सकिँदैन।’ पुनले भने, ‘सुरक्षामा लापरबाही भईरहेको छ।’

कांग्रेस, माओवादी, एमाले र विप्लव उम्मेद्वारबीच कडा प्रतिस्प्रर्धा रहेको गंगादेव गाउँपालिकामा सुरक्षा जोखिम रहेका आकलन सुरुदेखि नै गरिएको थियो। आफ्ना उम्मेद्वार जिताउन पूर्वमन्त्री बर्षमान पुन केही दिन गंगादेब बसेर फर्केका छन् भने कांग्रेस प्रदेश सभापति अमरसिंह पुन केही दिनदेखि उतै छन्।

प्रकाशित: २७ वैशाख २०७९ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App