५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नारायण नगरः एमाले किल्ला भत्काउन काँग्रेसलाई गठबन्धनको आड

गठबंन्धनबाट नारायण नगरपालिकामा नेपाली काँग्रेस उम्मेदवार निर्मला खड्का। २) नारायण नगरपालिकाको कार्यालय दैलेख। तस्बिर: गोविन्द/नागरिक

नारायण नगरपालिका दैलेखमा यसपालीको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले एमालेको किल्ला भत्काउने रणनीतिमा लागेको छ। २०५२ सालमा स्थापना भएयता काँग्रेसले नारायणमा नेतृत्व लिन पाएको छैन। 

अघिल्लो निर्वाचनमा झिनो मतान्तरण नगरपालिकाको नेतृत्व लिनबाट बञ्चित भएको काँग्रेस यसपाली गठबन्धनसहित नगरको नेतृत्व लिने दाउमा देखिन्छ। मुख्यतः विगतमा नारायणमा एमाले र काँग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुन्थ्याे। तर, यसपाली गठबन्धनको मतका कारण काँग्रेसबाट नगर प्रमुखको उम्मेदवार निर्मला खड्काले बाजी मार्ने दाउमा छिन्। एमालेबाट नगर प्रमुखको उम्मेदवार लोमन शर्मा पनि पुराना नेता भएकाले नारायणमा एमालेको संगठन बलियो भएकाले जित्नेमा ढुक्क छन्। तर पनि जित आफ्नो पक्षमा पार्न दुवै उम्मेदवार चुनावी मैदानमा होमिएका छन्।

२०७४ को स्थानीय चुनावमा नारायणमा काँग्रेसका उम्मेदवार मणीराम रेग्मीले ४ हजार ४ सय ४७ मत ल्याए भने, एमालेका उम्मेदवार रत्नबहादुर खड्काले ४ हजार ६ सय ९४ मत ल्याई २ सय ४७ मतअन्तरले विजयी भएका थिए। यसपाली गठबन्धनको मतले चुनावमा प्रभाव पार्ने देखिन्छ। समाजवादीबाट उपमेयर सावित्री मल्ल चुनावी मैदानमा छिन्। 

त्यस्तै माओवादी केन्द्रले पनि काँग्रेस र समाजवादीका उम्मेदवारलाई सहयोग गर्ने अन्तिम तयारी भएको नेपाली काँग्रेस दैलेखका सभापति मणीराम रेग्मीले बताए। काँग्रेसभित्रबाट धोका नभए र गठबन्धनबाट मत विभाजन नभए काँग्रेसबाट उम्मेदवार निर्मला खड्काको जित्ने सम्भावना बलियो रहेको स्थानीय नागरिकहरुको आंकलन छ। काँग्रेसबाट उम्मेदवार खड्काले सामाजिक क्षेत्रमा अग्रणी रुपमा काम गरेको र लोकप्रिय यूवा नेतृकोरुपमा आफूलाई स्थापित गरेकी छिन्। निडर र स्वच्छ छवी बनाएकी काँग्रेस उम्मेदवार खड्काले अहिलेको निर्वाचनमा नगर प्रमुख जित्ने सम्भावना बढी रहेको सामाजिक अगुवा गोविन्दबहादुर प्याकुरेलले बताए।

‘अघिल्लो चुनावमा झिनो मतअन्तरले काँग्रेसले नगरमा पराजय व्याेहोर्नु परेको थियो।’ नेपाली काँग्रेस दैलेखका सभापति मणीराम रेग्मीले भने, यसपाली काँग्रेसका मतदाता पनि बढेको र गठबन्धनका कारण मेयर र उपमेयर विजयी हुनबाट कसैले रोक्न सक्दैन्।’ २०५४ सालमा एमालेबाट रविन्द्रराज शर्माले पहिलो पटकनारायण नगर प्रमुखमा विजयी भए। त्यसयता माओवादी जनयुद्धका कारण चुनाव हुन सकेन। राजाबाट २०६१ सालमा पूर्णबहादुर थापा मनोनित भए, त्यसपछि राजाकै शासनमा फेरी नगरको चुनाव भयो त्यसमा स्वतन्त्र उम्मेवारका रुपमा मणीराम रेग्मी विजयी भए। त्यसयता २०७४ सालमा एमालेबाट नगर प्रमुखकोरुपमा रत्नबहादुर खड्काले जितेका थिए।

प्रकाशित: २६ वैशाख २०७९ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App