१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

स्थानीय चुनावः युवा मतदाता किन अनिच्छुक?

माइकल गुरुङ, २२, स्नातक तहमा पढ्छन्। पोखरा महानगरापालिका–५ मालेपाटनका बासिन्दा उनले अहिलेसम्म मतदाता परिचयपत्र बनाएका छैनन्। परिवारका सदस्यले उनलाई बेलैमा मतदाता परिचयपत्र बनाउन भनेका पनि थिए। तर, उनलाई त्यो प्रति चाँसो नै जागेन। कारण–राजनीतिप्रति उनको गुनासो छ।  

गुरुङ भन्छन, ‘मतदाता परिचयपत्र बनाएपछि भोट हाल्नुपर्छ। तर, मेरो भोट पाउने ती उम्मेवार मेरो नजरमा योग्य छैनन्। म उनीहरुमा कुनै ‘भिजन’ नै देख्दिन। मतदाता परिचयपत्र नै बनाएको छैन भनेपछि हाइसन्चो भइहाल्यो, भोटै हाल्नुपरेन।’ राजनीतिक दलका नेताहरु गफमा मात्र सिमित भएकोले उनीहरुलाई मत दिन मनले नमानेको गुरुङले बताए। चिनजानका व्यक्ति नै उम्मेदवार बनेपनि उनीहरुप्रति आफ्नो अविश्वास रहेको उनले सुनाए।  

‘जनताका दुख जहाँको तही छन छन्। तर दलका नेताहरु गफमा भुले । काम गरेनन, त्यही भएर उनीहरुप्रति मेरो विश्वास छैन,’ उनले भने, ‘त्यसैले मत दिन पनि मन लागेन । अघिल्लो पटक चुनाव जितेका नेताको काम देखेर यो पटक उनीहरुप्रति विश्वास नै जागेन।’ पोखराको एक सामुदायीक क्याम्पसमा अध्ययनरत उनले यो चुनावमा उपयुक्त उम्मेदवार देखेका छैनन। ‘जर्बजस्ती राजनीति गरेका, तर, कुनै योजना र दृष्टिकोण दिन सक्ने खुबी उम्मेदवारमा छैन,’ उनले भने, ‘जो उम्मेदवार बनेका छन, उनीहरुसँग विकासको बलियो ‘भिजन’  हुनुपर्दथ्यो, त्यो भएन र छैन।’

कास्कीको अन्नपूर्ण गाउँपालिका–७ तोल्काका उनले राजनीतिक दलको घोषणापत्रलाई ‘गफ’ को रुपमा बुझेका छन। ती गफ पत्याउन उनी तयार छैन। ‘यो अवस्था अहिले मात्र हौईन, वर्षाैदेखि उस्तै अवस्था छ। नेताहरुले काम नगरेको देख्दा उनीहरुप्रति र राजनीतिप्रति नै चाँसो जागेन,’ उनले भने, ‘उनीहरुले काम गरेनन, सधै गफ मात्र गरे।’ नजिकिएको निर्वाचनप्रति उत्तिसारो चाँसो नभएको र कुनैपनि दलको घोषणापत्र पनि नपढेको उनले बताए।  

अभिषेक पौडेल, २३, ले पनि मतदाता परिचयपत्र बनाएका छैनन् । पोखरा–७, बुँलौदीमा उनको घर छ। मतदाता परिचयपत्र नबनाउनुको कारणबारे पौडेल भन्छन, ‘दलहरुले असम्भव सपना बाढ्ने गरेका छन। म उनीहरुका कुरा पत्याउन चाहन्न। त्यही भएर भोटै दिन नजाने सोँच बनाएर मतदाता परिचयपत्र बनाईन।’ उनले पनि पोखरा महानगरका लागि विभिन्न दलहरुले सार्वजनिक गरेको घोषणापत्र अहिलेसम्म पढेका छैनन। 

‘घोषणापत्रमा जत्ति नै राम्रो आश्वासन दिएपनि त्यो सबै उनीहरुका कार्यकर्ताका लागि मात्र भएको छ। घोषणापत्र भोट माग्नका लागि मात्र आकर्षक छन,’ उनले भने, ‘भोट पाएपछि आफ्ना लागि मात्र काम गर्ने हुन्। जनताका लागि काम गर्दैनन। त्यही भएर घोषणापत्र प्रति मेरो रुची नभएको हो।’  

उनका विचारमा पोखरामा अहिले दलहरुको घोषणापत्रमा मेट्रो र मोनो रेलका कुरा गरेका छन, तर, ती वास्तविक जीवनमा उनले सम्भव देखेका छैनन। ‘सम्भवै नभएको कुरा घोषणापत्रमा राखेर भोट तान्ने योजना बनाएका छन,’ उनले भने, ‘अबको उम्मेदवार युवापुस्ता हुनुपर्ने हो। तर, युवालाई पनि अवसरै दिइएन। सधैं उनैखाले पाका नेताहरु उम्मेदवार बनेका छन्। उनीहरु काम गर्न सक्दैनन।’  

रुकुम पश्चिमको सानोभेरी गाउँपालिका घर भएर पोखरामा बस्दै आएकी मिलियन घर्तीमगरले पनि अहिलेसम्म मतदाता परिचयपत्र बनाएकी छैनिन्। अहिलेको राजनीति, चुनावी चर्चा र तयारीबारे थोरधेर ज्ञान भएपनि दलको काम गराईप्रति उनी पनि असन्तुष्ट छिन। उनी भन्छिन, ‘चुनावी तयारी र भोट हाल्नुपर्छ भन्ने पनि थाहा छ। तर, मलाई दलहरुले मतदाताप्रति देखाएको सपनाप्रति विश्वास छैन, त्यही भएर मतदाता परिचयपत्र नै बनाईन।’ राजनीतिक दलले बाँडेको सपना अनुसार बढीमा १० प्रतिशत मात्र काम भएको हुनसक्ने उनको आँकलन छ।

‘मनैदेखि काम गर्ने नेता र राजनीतिक दल भएनन । दवावमा केही काम भएको होला। तर, हामीजस्ता मतदातालाई आकर्षण गर्ने गरि दलले योजना बनाउन सकेनन र काम गरेनन,’ उनले भनिन, ‘अबका मतदाताले सधैं एकै दल वा उम्मेदवार भन्दा फरक र काम गर्न सक्ने दल वा उनीहरुका उम्मेदवारदलाई भोट दिनुपर्छ, जसले चुनावी परिणामलाई पनि फरक पार्न सकोस। पुस्तौदेखिको भोट दिएको पार्टी भनेर सम्झनु हुँदैन।’  

गण्डकी प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार पोखरा महानगरमा मात्र यो निर्वाचनका लागि ३९ हजार ६ सय ४५ जना मतदाता थपिएका छन्। ती मतदाता पहिलो पटक निर्वाचनमा मत दिँदैछन्। यसअघि २०७४ मा स्थानीय तह निर्वाचन हुँदा पोखरा महानगरपालिका भित्र १ लाख ६८ हजार ६७ जना मतदाता थिए।  थपिएका सहित यो पटकको निर्वाचनमा २ लाख ७ हजार ७ सय १२ जनाले मत दिँदैछन्। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार मतदातामध्ये युवा मतदाताको संख्या करिब ३५ प्रतिशत अनुमान छ। तर, आधिकारिक तथ्यांक तयार छैन।  

विश्लेषकहरु युवाको एउटा जमात निर्वाचनका लागि योग्य भएपनि उनीहरुले मतदाता परिचयपत्र बनाउन नचाहनुमा राजनीतिप्रतिको अविश्वास भएको बताउँछन्। राजनीतिक विश्लेषक विश्व सिग्देल भन्छन, ‘जब राजनीति असफल हुन्छ, राष्ट्रियता खतरामा पुग्ने जोखिम हुन्छ। राजनीति समाप्त हुँदा राजनीति र नेतृत्व, दलप्रति अनास्था बढ्छ। युवापुस्ताको रुची नहुनुमा कारण त्यही हो।’ 

कतिपय मुलुक विभाजन हुनुमा  राजनीतिप्रति जनताको अनास्था बढ्नु र चरम भ्रष्टाचारका कारण अर्थतन्त्र धरासायी हुनु हो। यी दुवैमा हामी निकट छौ। युवापूस्ताको असन्तुष्टि बढ्नु यहि कारण हो।’  

उनको बिचारमा युवापुस्ता यो अनास्थाको विरोधमा उत्रिन पनि सकेको छैन। त्यसमा त्यो पुस्ताले भरपर्दाे साथ भेटाउन सकेको छैन। ‘अघिल्लो पटक विश्वास मानएका वैकल्पिक दलहरु पनि पुरानौजस्तै बने। त्यसले गर्दा ती युवापुस्ताले हाम्रो आवाज कुनैपनि दलले सुन्न सकेनन भनेर चाँसो दिएका छैनन,’ उनले भने, ‘कलेज जाने पुस्ताको यो सिस्टमप्रति विश्वास छैन र उनीहरुले इमान्दार नेतृत्व नपाउँदा खुल्न पनि सकेनन। यहाँ केही हुँदैन भनेर भनिरहेका छन।’ 

यस्तै अवस्था आउँदा यो पुस्ताले पलायन हुने बाहेक विकल्प नदेखेको उनले बताए। ‘विद्रोह गर्न उनीहरुलाई बलियो साथ छैन। सातदशकसम्म अस्थिर भएको यो देशमा विकासको पालो कुदाकुर्दै समय बित्दा पुराना दलप्रति पनि विश्वास छैन,’ उनले भने, ‘त्यसैले युवाले साथ दिएनन।’  

प्रकाशित: २४ वैशाख २०७९ १२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App