६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

भ्रष्टाचारविरुद्ध एमालेलाई मतदानः ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले धनगढीमा आयोजित चुनावी जनसभालाई सम्बोधन गर्दै भ्रष्टाचार उन्मूलन गर्न एमालेका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्रष्टाचार उन्मुलन गर्न र विकासका लागि एमालेका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन्। धनगढीमा आयोजित चुनावी जनसभालाई सम्बोधन गर्दै उनले देशको समृद्धि र विकासका लागि नेकपा एमालेको विकल्प नभएको बताए।

जनताको पक्षमा विकासका काम गरिरहेको एमालेको सरकारलाई असंवैधानिक र षडयन्त्रपूर्ण तरिकाले परमादेशबाट हटाइएकाले स्थानीय तहको चुनावदेखि नै जितको सुरुवात गर्दै आम निर्वाचनपछि जनादेशबाट एमालेको सरकार बन्ने उनले बताए।

निर्वाचनबाट सरकारलाई जवाफ दिनुपर्ने उनको भनाइ थियो। नेपाली कांग्रेसले १७ वर्ष सरकारको नेतृत्व गरेको र २७ वर्ष सरकारमा बसेको उल्लेख गर्दै एमालेले ३ वर्षको अवधिमा उसको भन्दा बढी विकासको काम गरेको उनको दाबी थियो।

१२ महिनामा सरकार उल्टो दिशामा अघि बढेको उनले बताए। लागु योजनाको बजेट कटेको र नयाँ योजना गर्न राज्यको ढुकुटीमा पैसा नभएको उनले बताए। ‘यो सरकार आएपछि देशलाई यस्तो अलच्छिन लागेका छ। कि पैसा चुहिएर जस्तो समाप्त भएको छ,’ उनले भने, ‘देशमा पैसा छैन।’

विराटनगरमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न नसकिने भएकाले गठबन्धन गर्नुपरेको भनेर अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले भने, ‘एमालेसँग एक्लै लड्न सक्तैनन्, गठबन्धन चल्दैन।’

वैशाख ३० गते निर्वाचपछि आउने चुनावी परिणाम आएपछि गठबन्धन समाप्त हुने उनको भनाइ थियो। ‘चुनाव नजितेपछि एकले अर्कोलाई दोष लगाउने छन्, जनताले मत हालेको थाह पाउने छैनन्,’ उनले भने, ‘चुनावपछि गठबन्धन विगठन र विनाशतिर जानेछ।’

प्रचण्ड र माधव नेपालले मञ्चमा बोल्न पनि नपाएको भन्दै बालुवाटारमा गएर देउवा सँग रुवावासी गरेपछि बोल्न पाएकोमा बधाई छ भनेर व्यंग्य गरे।

यसैगरी कैलालीको बर्दगोरिया गाउँपालिकामा बिहीबार दिउँसो सम्बोधन गर्दै उनले एमालेका उम्मेदवारले जितेमा भ्रष्टाचार उन्मुलन र विकास गर्ने कुराको जिम्मा आफूले लिने बताए। कांग्रेसको घोषणापत्रमा आफ्नो पार्टीको सभापतिको नाम ८ ठाउँमा र एमालेका अध्यक्षको नाम ४२ ठाउँमा राखेको उल्लेख गर्दै उनले भने, ‘घोषणापत्रमा आफ्नो प्रतिबद्धता छैन, डराएर ५ गुणा बढी एमाले अध्यक्षको नाम लेखेर गाली गरेको छ।’

प्रकाशित: २३ वैशाख २०७९ ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App