१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

काठमाडौंमा रोचक प्रतिस्पर्धा

२०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा वैकल्पिक शक्तिका रूपमा प्रचारित विवेकशील नेपाली दल र साझा पार्टीका उम्मेदवारको पक्षमा झन्डै ४२ हजार मत खस्यो।

वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषसहित स्थापना भएको विवेकशील नेपालीबाट मेयरको उम्मेदवार बनेकी रञ्जु न्यौपाने (दर्शना) ले २३ हजार ४ सय ३९ मत ल्याएर तेस्रो स्थान ओगटेकी थिइन्। ६४ हजार हाराहारी मतसहित एमालेका उम्मेदवार मेयरमा विजयी भए।

कांग्रेस उम्मेदवार ४५ हजार हाराहारी मतसहित दोस्रो स्थानमा सीमित भए। त्यतिबेला बिबिसी नेपाली सेवाबाट अवकाश लिएर रवीन्द्र मिश्रले वैकल्पिक राजनीति गर्ने भन्दै साझा पार्टीको घोषणा गरेका थिए। उनको पार्टी निर्वाचन आयोगमा दर्ता हुन बाँकी थियो।

सोही पार्टीको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका किशोर थापा १८ हजार ४ सय ९६ मतसहित चौथो स्थानमा आएका थिए। साझा र विवेकशील दुवै पार्टीका उम्मेदवारको प्राप्त मतको योग ४१ हजार ९ सय ३५ थियो। यसरी नयाँ पार्टी, त्यसमा पनि राजनीतिमा खासै अनुभव नभएका उम्मेदवारलाई ‘सम्मानजनक’ स्थान दिएर राजधानीवासीले पृथक् मत अभिव्यक्त गरेका थिए।

यसरी राजधानी सहर काठमाडौंका बासिन्दाले यसरी फरक मत अभिव्यक्त गरेको त्यो पहिलोपल्ट भने थिएन। अघिल्ला निर्वाचनहरूमा पनि भिन्नभिन्न मत अभिव्यक्ति झल्किएका थिए। शिक्षा र चेतनाको दृष्टिकोणबाट अब्बल जनमत रहेको राजधानीमा निर्वाचनमा फरकफरक सन्देश आउनु स्वाभाविक रहेको जानकार बताउँछन्।

अहिले फेरि वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। विगतमा जस्तै अहिले पनि अनेक पृष्ठभूमिका उम्मेदवारले काठमाडौं महानगरको मेयर लगायत पदमा उम्मेदवारी दिएका छन्। प्रमुख पार्टीहरू एमाले र कांग्रेसले पनि विगतका अभ्यासभन्दा केही फरक सन्देश दिनेगरी उम्मेदवार खडा गरेका छन्।

२०७४ मा वैकल्पिक शक्तिका नाममा ठूलो जनमत बटुलेर हौसिएका विवेकशील नेपाली दल र साझा पार्टीका नेताले सोही वर्ष एकता गरेर ‘विवेकशील साझा पार्टी’ बनाएका थिए। विवेकशील साझामा अहिले चरम विवाद छ। २०४६ सालपछि जनताको चरम उपेक्षामा परेको राप्रपा राजेन्द्र लिङ्देनको नेतृत्व पाएपछि अहिले हौसिएको छ।

र्‍यापर बालेन शाहले स्वतन्त्र उम्मेदवारी दिएर सामाजिक सञ्जाल पिटिरहेका छन्। उनको पक्षमा युवा जमात देखिएको छ। यस्तोमा यसपटकको राजधानीको चुनावी ‘ब्याटल’ निकै रोचक देखिएको छ। यस्तोमा राजधानीका स्थायी बासिन्दाले कस्तो मत जाहेर गर्लान् भनेर चासोको साथ हेरिएको छ।

प्रमुख दलबाट ‘सरप्राइज’ उम्मेदवारी

अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई झन्डै २० हजारको मतान्तरले जितेका थिए। शाक्यलाई राप्रपाको पनि मत परेको थियो।

यसपटक पनि मेयर शाक्य पुनः उम्मेदवार हुने चर्चा थियो। अहिले एमालेमा आफ्ना विरोधीलाई तितरबितर पारेर अध्यक्ष केपी शर्मा ओलीले एकछत्र राज गरिरहेका छन्। मेयर शाक्य शक्तिशाली अध्यक्ष ओलीसँग निकट रहेका कारण उनको टिकट पक्कापक्की ठानिएको थियो। तर सबैलाई चकित पार्दै एमालेले मेयरको टिकट सार्वजनिक चर्चामा छाइरहन सिपालु केशव स्थापितलाई दिएको छ।

एमालेले उपमेयरमा पनि ‘सरप्राइज’ उम्मेदवार खडा गरेको छ। सुरुमा पूर्व मिस नेवाः सुनिता डंगोलले घोषणापत्र सहित काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। उनैलाई एमालेले आफूतिर तानेर उपमेयरमा उठाएको हो। जुन एमालेको विगतको अभ्यासभन्दा निकै फरक हो।

मेयरमा पुरुषले टिकट पाउँदा उपमेयरमा पार्टीमा लामो संघर्ष गरेकी कुनै महिला नेतृको अपेक्षा गरिएको थियो तर त्यसो भएन। सत्तारूढ पाँचदलीय गठबन्धनबाट कांग्रेसले पनि पुरानो अभ्यासभन्दा पृथक ढंगबाट महानगरको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ। उनी कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकी बुहारी र पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन्।

विद्यार्थी राजनीतिको पृष्ठभूमि भए पनि विवाहपछि सक्रिय भूमिका नपाएकी र्सिजनाको उम्मेदवारी धेरैका लागि ‘सरप्राइज’ बनेको छ। कांग्रेसमा अक्सर प्रत्यक्ष राजनीतिक भूमिकामै रहेका व्यक्तिलाई उम्मेदवार बनाउने प्रचलनभन्दा भिन्न उनको उम्मेदवारी आएको जानकार बताउँछन्।

उत्साही राप्रपा

पूर्वपञ्चहरूको मञ्चका रूपमा परिचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विगतमा जनताको चरम उपेक्षाको सामना गर्नुपर्‍यो। प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादीबाट असन्तुष्ट र हिन्दुत्वबाट प्रभावित जनताले २०७० मा राप्रपालाई समानुपातिकतर्फ २५ सिट दिएबाहेक ऊसँग थप कुनै आकर्षण थिएन।

कमल थापाले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको अजेण्डा जीवित राख्दै पार्टी चलाइरहेका थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन वाम गठबन्धनको सहयोगमा राजेन्द्र लिङ्देनले झापामा कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गरे। त्यसपछि राप्रमामा उनको उदय भयो। उनले २०७८ मा भएको महाधिवेशनमा अध्यक्ष थापालाई हराएर राप्रपाको नेतृत्व लिए।

अहिले उनका पछि जनताको भिड लागेको देखिन्ग्छ। लिम्बुको छोरा भएर हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नु र ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु’ सरह हो भन्ने अभिव्यक्तिका कारण उनी चर्चामा छन्। हिन्दु बहुल्य राष्ट्रमा हिन्दु राष्ट्रको नारा विकाउ त हुन्छ नै, पछिल्लो समय देशभर मौलाउँदै गएको भ्रष्टाचार र त्यसविरूद्धको जनआवाजलाई उनले आफ्ना सभासमारोहमा उठाएका छन्।

यसरी लिङ्देनको नेतृत्वमा हौसिएको राप्रपाले केही दिनअघि भृकुटीमण्डपमा गरेको आमसभामा पनि राजधानीवासीको राम्रै सहभागिता थियो। त्यसबाट राप्रपामा आफ्नो पक्षमा जनमतमा बटुल्न सकिने आशा पलाएको छ। तर राप्रपाले चुनावमा उठाएका उम्मेदवारमा भने खासै आकर्षण छैन। राप्रपाले कलाकार मदनदास श्रेष्ठलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ।

बालेनको ‘बोलवाला’

अब काठमाडौं महानगरपालिकाको मेयर को होला ? सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रिया हेर्दा स्वतन्त्र उम्मेदवार बालेन शाहको पक्षमा राम्रै मत देखिन्छ। सामाजिक सञ्जालमा यसरी अभिव्यक्त हुने अधिकांश युवा छन्। जसले युवामा उनको क्रेज ह्वात्तै बढेको देखाउँछ।

उनप्रतिको यो क्रेज मतमा कत्तिको परिणत हुन्छ ? त्यसको उत्तर वैशाख ३० गतेपछि पाइनेछ। बालेन चर्चित र्‍यापरका रूपमा युवामाझ परिचित छन्। त्यसबाहेक उनी सिभिल इञ्जिनियर पनि हुन्। कलाकार र इञ्जिनियरिङ पृष्ठभूमिका उनको अभिव्यक्ति आकर्षक छ, चुनावी अजेण्डा पनि आकर्षक छन्। यसैले उनीप्रति युवा आकर्षण बढेको छ।

विवेकशील साझाको भत्किएको साख

२०७४ मा छुट्टाछुट्टै रहेर झण्डै ४२ हजार मत बटुलेका विवेकशील र साझा पार्टी मिलेर निर्माण भएको विवेकशील साझा पार्टी अहिले विवादको दलदलमा छ। संयोजक रविन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ भन्ने अवधारणा ल्याएपछि अर्का संयोजक मिलन पाण्डे पक्षले त्यसमा चरम असन्तुष्टि र आलोचना जनाएपछि विवाद बढेको हो।

त्यसपछि दुवै समूहले एकले अर्कालाई कारबाहीको सिलसिला चलाए चल्यो। मिश्रले संवैधानिक राजतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा पुनर्विचार गर्नुपर्ने बहस छेडेका छन्। त्यसमा पाण्डे पक्षको असन्तुष्टि छ। अहिले विवेकशील साझा पार्टी मिश्रकै कब्जामा छ। तर जनस्तरमा भने उनको पुरानो साख धुलिसात भइसकेको छ।

वैकल्पिक राजनीतिको आशा गरिएको पार्टीभित्रको विवाद, अन्तरकलह र अस्थिर सैद्धान्तिक धरातलका कारण त्यसप्रति जनताको मोह घटेको देखिन्छ। अहिले सो पार्टीले काठमाडौं महानगरको मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाएको।

प्रमुख दलकै बीचमा प्रतिस्पर्धा

वैकल्पिक शक्तिका नामले प्रचारित दलका उम्मेदवारहरूले उल्लेख्य मत बटुले पनि अघिल्लो निर्वाचनमा प्रमुख दलहरू एमाले र कांग्रेसबीचमै प्रतिस्पर्धा भएको थियो। बरु ती उम्मेदवारहरूले ल्याएको मतले हारजितको दिशा बदलेको विश्लेषण हुने गरेको छ।

यसपटक पनि अघिल्लो निर्वाचनजस्तै एमाले–कांग्रेसकै उम्मेदवारहरूका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेससँग थप सत्तारूढ गठबन्धनका अन्य चार दल पनि मिसिएका छन्। यसले दुई दलबीचको प्रतिस्पर्धा अझै रोचक बनाएको छ।

राप्रपा र बालेनले ल्याउने मतले अघिल्लोपटक दर्शना र थापाले जस्तै जितहारको दिशा बदल्ने हैसियत राख्छन्रा/ख्दैनन् ? निर्वाचनको नतिजाले त्यो देखाउने नै छ। अघिल्लोपटक दर्शना र थापाले ४१ हजार ९ सय ३५ मत बटुल्दा एमाले उम्मेदवार शाक्य ६४ हजार ९ सय १३ मत ल्याएर विजयी भएका थिए। उनलाई राप्रपा समेतको साथ थियो।

शाक्यका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत पाएका थिए। मेयरमै अर्का प्रमुख दल नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तमदास डंगोल ७ हजार ९ सय ६ मत ल्याएर पाँचौं स्थानमा रहँदा डा. बाबुराम भट्टराईको तत्कालीन पार्टी नयाँ शक्ति पार्टी नेपालकी उम्मेदवार पवित्र बज्राचार्य ६ हजार ५० मत ल्याएर छैटौं भएकी थिइन्।

उपमेयरमा भने कांग्रेसकै हरिप्रभा खड्गी ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी भएकी थिइन्। एमालेसँगको तालमेलमा लडेका राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत मात्रै ल्याएका थिए। महानगरका ३२ वडामध्ये १८ वटामा एमाले उम्मेदवारले जितेका थिए। जसमा वडा १, २, ३, ४, ७, ९, १२, १३, १४, १५, १८, २१, २२, २३, २४, २७, ३१ र ३२ थिए।

अन्य १४ वडा कांग्रेसले जितेको थियो। जसमा वडा ५, ६, ८, १०, ११, १६, १७, १९,२०, २५, २६, २८,२९ र ३० थिए। ३२ वटै वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतको योगफल जोड्दा पनि एमाले पहिलो नै भएको थियो। जसमा एमाले वडाध्यक्षका उम्मेदवारहरू ७३ हजार १०६ मत पाएका थिए। मेयरमा एमाले उम्मेदवार शाक्यसँग १९ हजार ६ सय ४४ मत पछाडि परेको कांग्रेस वडाध्यक्षको योगफलमा भने जम्मा ९ हजार ६ सय ६८ मतले मात्रै पछि परेको थियो।

कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले ६३ हजार ४२८ मत ल्याएका थिए। माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारहरूले १४ हजार ४ सय ५७ मत ल्याउँदा राप्रपाका वडाध्यक्ष उम्मेदवारहरूले १० हजार ५ सय ३९ मत ल्याएका थिए। तत्कालीन संघीय समाजवादी फोरमका वडाध्यक्ष उम्मेदवारहरूले ३ हजारको हाराहारीमा मत पाएका थिए।

अघिल्लो पटक राप्रपाका साथमा लडेको एमाले यसपटक एक्लै भिड्दैछ। अघिल्लोपटक एक्लै रहेको कांग्रेस यसपटक पाँच दलको गठबन्धनमा जोडिएको छ। अर्को थप महत्त्वपूर्ण पक्ष पाँच दलमध्येको प्रमुख एक दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) एमालेबाटै फुटेर बनेको हो। हाल गठबन्धनबाट उपमेयर उम्मेदवार बनेका नेकपा एसका नेता रामेश्वर श्रेष्ठ पूर्वएमाले हुन्। उनी काठमाडौंका शक्तिशाली नेता मानिन्छन्।

यसबाहेक एमालेबाट निर्वाचित दुई वडाध्यक्ष नै नेकपा एसमा गएका छन्। यस्तो अवस्थामा सो पार्टीले एमालेको १८ हजार मत तान्ने दाबी गरिरहँदा एमाले नेताहरू भने नेकपा एसले ३ हजारको हाराहारीमा मात्रै मत प्रभावित पार्ने बताइरहेका छन्। यसकारण एमालेलाई पुरानो जनमत जोगाउँदै थप मत तान्नुपर्ने दबाब छ भने कांग्रेसलाई गठबन्धनको मत सुरक्षित गर्दै अझै थप मत ल्याउनुपर्ने चुनौती छ।

त्यसका लागि दुवै दलले पहिले दर्शना र थापाले पाएको मत र नयाँ मतदाताको भर पर्नुपर्ने अवस्था छ। विवेकशील साझा पार्टीको आकर्षण घटिरहँदा दर्शना र थापाले पाएको झन्डै ४२ हजार मतमध्ये अधिकांश मत अन्य उम्मेदवारमै खस्ने सम्भावना छ। यसबाहेक महानगरमा यसपटक २० हजार ९३३ मतदाता थपिएका छन्।

२०७४ सालमा काठमाडौं महानगरमा २ लाख ७९ हजार ३०९ मतदाता थिए। तीमध्ये ७० दशमलव ६ प्रतिशत अर्थात् १ लाख ९७ हजार २ सय २७ मत खसेको थियो। खसेको मतमा मेयर पदमा १ लाख ६७ हजार २ सय ८६ मत सदर भएको थियो।

यसपटक कुल मतदाता संख्या ३ लाख २ सय ४२ पुगेको छ। यसरी अघिल्लोपटक दर्शना र थापाले पाएको झन्डै ४२ हजार र २० हजार ९ सय ३३ जना नयाँ मतदाता गरी ६२ हजार मतमध्ये कांग्रेस–एमालेका उम्मेदवारहरू स्थापित र सिंहमध्ये जसले बढी तान्छ उहीँ निर्वाचित हुने आकलन गरिएको छ।

विभाजित स्थापित र संयमित सिंह

एमाले उम्मेदवार स्थापितले मनोनयन दर्ता गरेलगत्तै आफूले २०५४ सालमै ८४ हजार मत ल्याएकाले अहिले ‘गेम ओभर’ भएको बताएका छन्। उनको त्यो भाषा प्रस्ट रूपमा ‘राजनीतिक’ थियो। राजनीतिमा ‘चतुर’ र कलाकारिता गर्न सक्षम भनिने स्थापितको त्यो भाषा जनमत प्रभावित पार्ने किसिमको भए पनि अहिल्यै यसै भन्न सकिने अवस्था छैन।

उनले त्यहीक्रममा आफूले विपक्षी उम्मेदवारभन्दा दोब्बर मतले जित्ने दाबी पनि गरेका छन्। उनले आउने चुनावमा कम्तीमा १ लाख २० हजार मत प्राप्त गर्ने जिकिर गरेका छन्। त्यति मत कांग्रेस उम्मेदवार सिंहको भन्दा ‘डबल’ हुने उनको भनाइ छ।

केही समययता विवादमा रहेका स्थापित धेरै डराएजस्ता देखिन्नन्। उनले ‘विवाद नहुने पनि केशव स्थापित हुन्छ ?’ भन्ने गरिरहेका छन्। उनले विगतमा विश्वको चौथो नम्बरमा परेको भन्दै आफूलाई ‘सफल’ मेयरका रूपमा चित्रण गर्न पनि तम्सिएका छन्। काठमाडौंवासीले जिताउने दाबी गर्दै आएका छन्।

एक मुख्य दाबेदार यसरी विवादित भएर चर्चामा रहँदा अर्का मुख्य दाबेदार कांग्रेस उम्मेदवार सिंह भने आफैंभित्र हराएको जस्तै देखिएकी छन्। राजधानीवासीले उनको आवाज सुन्न चाहेको छ तर उनी आफ्नै स्वभाव अनुसारका चुनावी अजेन्डा बनाएर सरलताका साथ प्रस्तुत गरेर प्रचारप्रसारमा जुटिरहेकी छन्।

उनले असल गृहिणीजस्तै घरव्यवहार चलाएजस्तै महानगर चलाउने बताउँदै भोट मागिरहेकी छन्। उनको सरल तथा ससाना अजेन्डालाई कांग्रेस महामन्त्री गगन थापालगायत नेताहरूले प्रचार गरिरहेका छन्। स्थापितको आक्रामक र सिंहको सरल र ससाना अजेन्डाबीच रणनीतिक रूपमा कसले सफलता पाउने भनेर हेर्न भने वैशाख ३० कुर्नैपर्छ।

प्रकाशित: १८ वैशाख २०७९ ००:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App