देशभर स्थानीय तह निर्वाचनको माहोल तातेको छ। दलहरु जबरजस्त भोट माग्न घर-घर छिरेका छन्। अघिल्लो चुनाव जितेर गएका दलले ५ वर्षमा के गर्यौं भनेर जनतालाई देखाउने केही छैन। फेरि पनि नयाँ गर्छौं चाँही भन्दै छन्। भोट दिनुको कारण नसोध्ने सोझा मतदातालाई जवाफ दिनै नपरेपछि उनीहरुलाई सहज पनि भएको छ।
सडक र भौतिक संरचना देखाएर भाषण गर्ने उमेदवारसंग गतिलो भाबी योजना पनि छैन। उमेदवारहरु फगत जित्नका लागि भोट माग्दैछन्। करोडौं रकम खर्चेर बनाईएका भ्यु टावरबाट नदेखिने मतदाताका समस्या हेर्न ५ वर्षपछि घरमै पुगेका उमेदवार देखेर मतदाता दिक्क छन्। ‘खै आजसम्म कसले के गर्यो र? चुनाव जितेपछि चिल्ला गाडिमा हुईकिएका हुन्। सबैले आफू र आफ्नाका लागि मात्र गरे।’ एक सहिद पत्नी भन्छिन्, ‘हाम्रो घरमाथि भ्युटावर छ। त्यहाँबाट हाम्रो पीडा देखिने भा पो हुन्थ्यो।’
करोडौंको लगानिमा तयार भएका भ्युटावर जस्ता संरचनाबाट द्वन्द्वकालका घाईतेको घाउ, मृतक बेपत्ता परिवारको पीडा नदेखिने भन्दै उनीहरु आक्रोस भएका हुन्। ‘भ्युटावरबाट हाम्रो घाउ देखिने भए पो हुन्थ्यो। भोट माग्न घरमै आउँदा त घाउ कस्तो छ भनेर कसैले सोध्दैनन्।’ द्वन्द्वकालका एक घाईते भन्छन् ‘हामिलाई न्याय र परिपुरण चाहिएको छ तर त्यसमा कसैको कहिल्यै चासो हुदैन।’
दश वर्ष द्वन्द्वमा थलिएको रोल्पामा जनप्रतिनिधि बन्न चाहानेहरुसंग द्वन्द्वपीडितमैत्री कुनै खाका छैन। अधिकांश उमेदवारलाई जिल्लामा रहेका सहिदको संख्या, बेपत्ताको संख्या समेत थाहा छैन। शिक्षा, स्वास्थ्य र रोजगारिको बारेमा चिन्ता छोडेर सडक कै रटान लगाउँदै भोट मागिँदैछ।
‘उमेदवारसंग आफ्नो मौलिकता केही छैन। घोषणापत्र केन्द्रको फोटो कपी छ। त्यसमा जनताको चासो पनि छैन।’ पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष महेश न्यौपाने भन्छन, ‘प्रतिबद्धता भन्दा पनि भोट कसरी माग्ने र पाउने भन्ने ध्यान छ।’ उनका अनुसार जिल्लामा दिईएको उमेदवारी हेर्दा सहिद र बेपत्ता परिवारलाई ठाउँ पनि दिएको देखिँदैन।
जनताको छोरालाई राजा बनाउन त्याग गरेका परिवारको भोटले पदमा पुग्नेहरुले सुशासन कायम नगरेको देखेका स्थानीयहरु फेरि केही होला भन्ने अपेक्षामा छैनन्। ‘श्रीमान गुमाउने हामी। छोरा र सासुको मुख हेरेर जीवन भर दुख गर्ने हामी तर, अवसर आउँदा सोध्न समेत आउदैनन्।’ माओवादी सशस्त्र द्वन्द्वमा श्रीमान गुमाएकी एक महिला भन्छिन्, ‘अब चुनाव जित्नेले द्वन्द्वपीडितका पीडा मस्तै छन् भन्ने बुझिदिए हुन्थ्यो।’
उमेदवारको टुङ्गो लागि सकेपछि टिकट पाउनेहरु गाउँ छिरेका छन् भने नपाउनेहरु मनमा तुष बोकेर बसेका छन्। गठबन्धनका नाममा भएका छलफलहरु अर्थपूर्ण नभएपछि रोल्पामा फरक आफ्नै पाराले समिकरण भएको छ। ‘टुरीष्ट नेता/कार्यकर्ताहरु समेत टोलटोल छिर्न थालेका छन्।
हरेक दिन कुनै न कुनै टोलमा पार्टीका झण्डा बोकेकाहरु नमस्कार गर्दै घुमिरहेका छन्। जिल्लामा माओवादी विरासत बचाउने धुनमा छ भने कांग्रेस विरासत फर्काउने योजनामा छ। यतिबेला ठूला भनिएका एमाले, कांग्रेस र माओवादीका उमेदवारसंग कुनै नयाँ योजना छैन भने पुरानाले के गरे वा के गरेनन् त्यसको समीक्षा पनि भएको छैन।
रोल्पाली मतदाताको अपेक्षा सन्ततीले गतिलो शिक्षा पाउन्, उपचार सहज होस् अनि रोजगारी पाईयोस् भन्ने छ। विद्यालय छोडेर उपत्यकातिर ईट्टा बोक्न वा मनाङ, मुस्ताङमा सडक खन्न जान नपरोस भन्ने आशामा रहेका मतदाता देशमै केही गर्न पाए विदेशिएका युवा पनि गाउँ आउँथे कि भन्ने अपेक्षामा छन्।
प्रकाशित: १६ वैशाख २०७९ ०४:४१ शुक्रबार