८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

पाँच वर्षपछि मुसहर बस्तीमा नेता पुग्न थाले

स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै  महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा कहिल्यै नपुगेका नेता अहिले पुग्न थालेका छन्।

विसं २०७४ को निर्वाचनमा सो बस्तीमा पुगेका नेताहरूले आफू जितेपछि मुसहर समुदायका लागि दर्जनौँ योजना तथा कार्यक्रम ल्याउने आश्वासन दिए पनि हराएका थिए। बस्तीका अगुवा मुसहर अमृत सदाका अनुसार अहिले नेताहरूको आगमनका कारण प्रत्येक दिन मुसहर बस्ती राति १/२ बजेसम्म जाग्राम बस्छ।

'सबै चुनावमा लालपुर्जा बन्ने आसले नेतालाई भोट दिन्छु तर अहिलेसम्म कुनै पनि नेताले मुसहरको लालपुर्जा बनाइदिएनन्', अगुवा मुसहर अमृत बताउँछन्। जलेश्वर बजारबाट एक किलोमिटर दूरीमा रहेको खैरा गाउँका मुसहर समुदायका कोही कुनै नेतालाई भेट्न जाँदा बेवास्ता गर्ने गरेको, कसैको कुरा सुन्न तयार नहुने गरेको र कुनै कामकाजसमेत नगरिदिने गरेको बस्तीकी ६० वर्षीया मुसह तेतरी सदाले दुखेसो गरिन्।

'हामीलाई आपत्विपत् पर्दा जनप्रतिनिधिलाई बस्तीमा बोलाउँदा आउँदैनथे। फोन गर्दा उठाउँदैनथे र समस्या सुनाउँदा पन्छिन्थे', तेतरीले थनिन्। त्यही बस्तीमा अहिले नेताहरूको नियमित भिड लाग्छ।

'स्थानीय तहको चुनावको मिति तय भएयता दिनहुँ आएर नेताहरू फेरि आफूले आगामी निर्वाचनमा मुसहरको मत पाएर जितेपछि तपाईँहरूका लागि विकासको लहर ल्याउने भनी भाषण सुरु गरिसकेका छन्। मुसहर मतदातालाई अहिले नेताको भाषण सुन्न भ्याइनभ्याइ छ', बस्तीका अर्का ७० वर्षीया सिलिया सदाले बताए।

खैरा गाउँमा मुसहर समुदायको करिब ९० घर छ।  उनीहरूका लागि न  शौचालयको व्यवस्था छ न त खानेपानीमै सहजता छ। सिङ्गो बस्तीमा एक थान मात्रै खानेपानी ह्यान्डपाइप तथा प्रत्येक आठ–दश घरमा एउटा शौचालय छ त्यो पनि तीन रिङ्ग भएको जुन एक/दुई महिनामै भरेर सबैलाई फेरि वनमै शौच गर्ने बाध्यता रहने गरेको स्थानीयवासी ४५ वर्षीया सुकमरिया सदाले बताए।

उनका अनुसार नेताहरूले सो बस्तीमा विकास गरिदिने आश्वासन बाँडेकाले प्रत्येक चुनावमा आफूहरूले भरोसा गरेर मत दिए पनि  खानेपानी, नाला र सडक बनाउनुपर्ने वर्षौंदेखिको माग अहिले पनि यथावत् छ। घर बनाइदिने, खानेपानी पाइप, स्कुल, नालालगायत विकासको काम गरिदिने आसले नेतालाई मत दिए पनि अहिलेसम्म बन्न नसकेको स्थानीयवासी लड्डु सदा बताउँछन्।

भारतीय सीमासँग जोडिएको जलेश्वर नगरपालिका जिल्लाको सबैभन्दा गहिरो ठाउँ हो। वर्षातको समयमा घरघरमा पानी पस्छ। मुसहर बस्ती ऐलानी जमिनमा छ। बस्तीका करिब १५० जनाको नागरिकता प्रमाणपत्र छैन।  बुबाको नागरिकता नभएकै कारण छोराछोरीको समेत जन्मदर्ता नबन्दा तिनले विद्यालयको मुखसमेत हेर्न पाएका छैनन्।

मुसहरले गत चुनावमा नागरिकता र जन्मदर्ता बनाइदिने, बर्सात्को पानी व्यवस्थापन गरिदिने, खानेपानी, सडक र सबै ऐलानी जमिनको लालपुर्जा बनाइदिनुपर्ने माग राखेका थिए। अहिलेसम्म पनि बस्तीमा केही हुन सकेको छैन। अझै पनि दर्जनौँ व्यक्ति नागरिकताविहीन, दर्जनौँ बालबालिका जन्मदर्ताविहीन र बस्ती सडक-विद्यालय-खानेपानी-नालाविहीन छ।

स्थानीयवासी अर्जुन सदा भन्छन्, 'बस्तीमा मात्र एउटा चापाकल (खानेपानी पाइप) छ।  यहाँ गर्मीमा पानीको हाहाकार हुन्छ। लालपुर्जा नहुँदा घरबारविहीन हुने चिन्ता छ। नाला नबन्दा बर्सात्मा घर डुब्छ। त्यसैले हरेक निर्वाचनमा हामीहरू यी माग अघि सार्छौँ र नेताहरूले आश्वासन दिएपछि मत दिन्छौँ, तर हाम्रा माग अहिलेसम्म पूरा भएका छैनन्।'

खैरा गाउँभरी बिजुलीबत्ती पुगे पनि मुसहर बस्ती चाहिँ बर्सौँदेखि अँध्यारो छ। गरिबी र विपन्नताले गर्दा कतिले बिजुलीबत्ती जडान नै गर्न सकेका छैनन् भने एक/दुई जनाले जडान गर्न चाहे पनि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा मिटर नपाएको गुनासो गरेका छन्।

गाउँमा लाइन त छ, तर विद्युत् कार्यालयले लालपुर्जा नभएकालाई मिटर दिन मानेको छैन, विद्युत् चुहावट गर्‍यो भने प्रहरीले समात्छ। स्थानीयवासी सिरिया सदा भन्छिन्, 'मुसहर बस्ती अझै उस्तै छ। यहाँका सबै सधैंँ अभावमा बाँचिरहेका छन्। बस्तीमा नेताहरू भोट माग्न मात्रै आउँछन्। भोट पाएपछि नेताको रङ फेरिन्छ तर बस्तीको रङ फेरिँदैन।’

नेपाल सरकारले भारतलाई पछि पार्दै बडो धुमधामका साथ देशलाई खुलादिसामुक्त घोषणासमेत गरिसकेको अवस्थामा बस्तीमा शौचालय नहुँदा खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता छ। सबै नेताहरूले बस्तीमा सार्वजनिक शौचालय बनाइदिने आश्वासन दिए पनि कसैले पूरा नगरेको स्थानीयवासी बिरु सदाको गुनासो छ।

'जमिनदारको जमिनमा बटैया अर्थात् आधी/आधीमा उनीहरू खेती गर्छन् तर बर्सातको बेला खेत डुबानमा पर्छ। वर्षा नभएका बेला खडेरी लागेर बाली नष्ट हुन्छ। त्यसको क्षतिपूर्ति हुँदैन। गरिबको भोको पेट भर्न कहिले कुनै पहल गरिँदैन', अर्का स्थानीयवासी विमलेश सदाले दुखेसो पोखे।

बस्तीका वडाध्यक्ष अहिले लोसपा नेपालका सञ्जयकुमार पाण्डे र बस्ती रहेको क्षेत्रका नगर प्रमुख रामशङ्कर मिश्र शाही तथा सोही बस्ती समेटेको सङ्घीय निर्वाचन क्षेत्र नम्बर ३ का सङ्घीय सांसद लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर छन्।

त्यस्तै मधेश प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ३ ख अन्तर्गत पर्ने सो क्षेत्रबाट मधेश प्रदेशका प्रदेशसभा सदस्यमा रानीकुमारी तिवारी छिन्। बर्सौँदेखि गरिबी, विपन्नता र समस्यासँग जुध्दै गरेका सो बस्तीका मुसहरका लागि वडाध्यक्ष, नगर प्रमुख, प्रदेशसभा सदस्य र सङ्घीय सांसदसमेतले अहिलेसम्म केही नगरिदिएको उनीहरूको सामूहिक गुनासो छ।

अहिले मत माग्न बिहान, बेलुका र राति अबेरसम्म पनि दर्जनौँ नेताहरू पुग्ने मुसहर बस्तीका ८५ बालबालिका जनप्रतिनिधिकै कारण जन्मदर्ताविहीन रहेको स्थानीयवासी मुसहरहरू आरोप लगाउँछन्। सो सम्बन्धमा कतैबाट कुनै सहयोग नपाएको दुखेसो स्थानीयवासी बिरजु सदाले गरिन्।

जन्मदर्ताका अभावमा सो बस्तीका बालबालिका सङ्घीय सरकारबाट प्राप्त हुने पोषणभत्ता, बालबालिकासँग सम्बन्धित अन्य सुविधा र निःशुल्क शिक्षाबाट समेत वञ्चित रहेको बताइएको छ। वडाध्यक्ष पाण्डेले सो बस्तीमा पुस्तौँदेखि बस्दैआएका अभिभावकसँग नागरिकता प्रमाणपत्र नरहेका कारण बालबालिका पनि जन्मदर्ताविहीन रहेको बताए। उनले भने, 'मैले पटकपटक उनीहरूका लागि नागरिकता प्रमाणपत्र र जन्मदर्ता बनाउने प्रयास गरेको छु र अझै पनि लागिरहेको छु।'

बस्तीका वृद्धबहादुर सदाले पनि बालबालिकाले के खाने, कसरी बाँच्ने कुराको व्यवस्थापनमै बस्तीका महिला, पुरुषहरुको दिनचर्या बित्ने गरेको कारण अरु कुनै कुरामा ध्यान पुर्‍याउन नसकिएको थपे।

मुसहर बस्तीमा पुगेका सञ्चारकर्मीलाई उनीहरूले यसपालि आफूहरूले नागरिकता प्रमाणपत्र तथा बालबालिकाको जन्मदर्ता, बस्तीमा खानेपानी शौचालय, पानी निकास, लालपुर्जा तथा रोजगारीको सुनिश्चितता भए मात्र मत दिने निधोसमेत गरिसकेको बताए। रासस

प्रकाशित: ८ वैशाख २०७९ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App