५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेसमा गठबन्धनबाट टाढिँदै जसपाः भट्टराई र यादवसँग दाहालको भेट

स्थानीय तहको तहको निर्वाचनमा जनता समाजवादी पार्टी मधेस तथा लुम्बिनी प्रदेशमा सत्तारुढ ५ दलीय गठबन्धनबाट टाढिँदै गएको छ। कैलालीमा जसपाले छुट्टै गठबन्धन गरेको छ भने नेपालगञ्जमा गठबन्धन नमान्ने निर्णय गरेको छ।

जसपाका कार्यकारिणी समितिका सदस्य तथा केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य मृगेन्द्रसिंह यादवले पछिल्लो निर्वाचनमा एमालेले जितेको तथा यसपटक एमालेसँग सोझो प्रतिस्पर्धा हुने स्थानीय तहमा ५ दलीय गठबन्धन गर्ने, तर पछिल्लो निर्वाचनमा पाँच दलीय गठबन्धनभित्रका कुनै दलले जितेका स्थानीय तहमा मैत्रीपूर्ण प्रतिष्पर्धा गर्ने पार्टीको नीति रहेको बताए।

उनका अनुसार जसपाले वीरगञ्ज महानगरपालिका कुनै पनि अवस्थामा नछाड्ने पार्टीको नीति छ। ‘वीरगन्ज हामी छाडदैनाैँ। बरु त्यसको सट्टा विराटनगर छाड्न तयार छाैँ,’ उनले भने। वीरगन्जमा पनि जसपा सत्तारुढ गठबन्धनबाट बाहिरिने सम्भावना रहेको जसपाका अर्का एक नेताले बताए। तर यादवले भने ५ दलीय गठबन्धनबाट जसपा नभागेको दाबी गरे। उनले भने, ‘स्थानीय तहमा कुनै ठाउमा छुट्टै गठबन्धन भएको छ। तर ५ दलीय गठबन्धनबाट हामी भागेका छैनाैँ।’

स्थानीय तहमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीसँग प्रतिस्पर्धा नगर्ने जसपाका नेताहरूले सार्वजनिक रूपमा घोषणा गरेका थिए तर कैलालीमा त्यस्तो भएन। कैलालीमा जसपाले लोसपा र नेपाल लोकतान्त्रिक पार्टीसँग गठबन्धन गरेको छ। यसैगरी जसपा बाँकेले पनि मेयर नपाएमा नेपालगञ्जमा ५ दलीय गठबन्धन नमान्ने निर्णय गरेको छ। जसपाको प्रभाव सबैभन्दा बढी मधेस प्रदेशमै छ। त्यसपछि लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि जसपाको प्रभाव छ।

आफ्नो प्रभाव रहेको तथा पछिल्लो निर्वाचनमा जसपाले जितेका प्राय सबै स्थानीय तहमा जसपाले दावी गरेको छ। ती पालिकामा अन्य दलहरूले जसपालाई नछाडेमा एक्लै चुनाव लडन सक्ने सम्भावना रहेको जसपाका अर्का एक नेताले बताए।

जसपाले अघिल्लो महिना नै पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई चुनाव अवधिभर आफ्ना पालिका नछाड्न उर्दी जारी गरेको छ। पालिकामा खटाइएका केन्द्रीय सदस्यहरूको काम स्थानीय निर्वाचनमा आफ्नो पार्टीलाई जसरी पनि जिताउनु रहेको जसपाका कार्यकारिणी समितिका सदस्य मनिष सुमनले बताए। सुमनका अनुसार तराई मधेसमा आफ्नो पकड बढाउन जसपाले आफ्नो पूरै शक्ति प्रयोग गरेको छ। स्थानीय तहको निर्वाचनमा जसपालाई लोसपाभन्दा जसरी पनि बलियो बनाउने पार्टीको तयारी छ।

जसपा र लोसपाको भोट बैंक मधेसमा केन्द्रित छ। त्यसैले मधेसमा जसपा बलियो कि लोसपा बलियो भन्ने होडवाजी जसपा र लोसपाका नेताहरूवीच छ। जसपाका नेताका अनुसार जसपाले नेपालगञ्ज, कलैया तथा जनकपुर उपमहानगरपालिकामा दाबी गरेको छ।

पछिल्लो निर्वाचनमा वीरगञ्जमा जसपाबाट मेयर जितेका विजय सरावगी एमालेमा प्रवेश गरेका छन्। करिब २ महिनाअघि मात्र एमालेबाट जसपामा प्रवेश गरेका राजेशमान सिंहलाई जसपाले वीरगञ्जको मेयरमा टिकट दिने प्रतिबद्धता दिएको छ। यसमा उनी ढुक्क छन्। तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जनकपुर उपमहानगरपालिकाम चुनाव जितेका लालकिशोर साहले जसपाभित्र विवाद हुँदा उपेन्द्र यादवलाई साथ दिएका थिए। यसअघि उनी राजेन्द्र महतोसँग निकट मानिन्थे। अहिले उनी उपेन्द्रसँग निकट भएका छन्। त्यसैले एक्लै चुनाव लडे पनि जनकपुर जसपाले जित्ने जसपाका नेताहरूको बुझाइ छ।

यसैबीच, मधेस प्रदेशमा जसपा गठबन्धनबाट टाढिने संकेत देखिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी समितिका सदस्य उपेन्द्र यादवसँग कुराकानी गरेका छन्। सिंहदरबारमा भएको उक्त भेटवार्ता स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा केन्द्रित भएको कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादवले बताए।

प्रकाशित: ४ वैशाख २०७९ २३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App