४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पोखरामा मेयरसहित दश वडामा 'अटेरी उम्मेदवार'

पोखरा महानगरपालिकाका मेयरसहित विभिन्न वडामा गैर राजनीतिक व्यक्तिले उम्मेदवारी घोषणा गरेका छन्। गैर राजनीतिक ती उम्मेदवारहरुले आफूहरुलाई ‘अटेरी उम्मेदवार’ को नाम पनि दिएका छन्।  

अटेरी अभियान चलाएका उनीहरुले पोखरा महानगरपालिकासहित १४ वटा वडामा उम्मेदवारी घोषणा गरेका हुन्। सामाजिक सञ्जालमार्फत यसअघि नै उम्मेदवारी दिने बताएका उनीहरुले शनिबार पोखरामा औपचारिक कार्यक्रम गरेर उम्मेदवारी घोषणासँगै कार्ययोजना सार्वजनिक गरेका छन्।

 अटेरी अभियानका संस्थापक गणेश पौडेलले पोखरा महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी घोषणा गरेका छन्। साहित्यकार तथा शिक्षासेवी पौडेलले दलहरुले बारम्बार जनतालाई ढाँटेकाले अटेर गर्नका लागि मेयरमा उम्मेदवारी घोषणा गरेको बताए।

त्यस्तै, अटेरी अभियान अन्तर्गत पोखरा महानगरपालिका–३ मा महेश उदास, पोखरा–६ मा प्रेमबहादुर केसी, पोखरा–१० मा सोहेल खान, पोखरा–१३ बाट अमृतबहादुर विश्वकर्मा उम्मेदवार छन्। त्यस्तै पोखरा–१४ मा सुजन कार्की, पोखरा–१७ मा प्रतीक्षा ढकाल, पोखरा–२१ मा सागर पौडेल (ओम), पोखरा–२५ मा सोमनाथ अधिकारी, पोखरा–२६ मा नवीन ढुंगाना, पोखरा–३० मा  सुजन कमरले वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। त्यस्तै, पोखरा–१३ बाट सागर बराल र केशबहादुर गुरुङ तथा पोखरा–१९ बाट सुशील क्षेत्रीले वडासदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

 अटेरी अभियानमार्फत पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका पौडेलले दलहरुविरुद्ध अटेरी गरेर उम्मेदवारी घोषणा गरेको बताए। स्थानीय तहको निर्वाचनलाई दलीय बनाउन नहुने बताउँदै उनले भने, ‘निर्वाचनमा यो र त्यो दल भनेर नलडौं, यसलाई दलविहीन निर्वाचन बनाऔं। बरु स्वतन्त्र उम्मेदवारलाई दलले समर्थन गरौं ।’ 

दलहरुले तीसौं वर्षदेखि राज्य सञ्चालन गरिरहे पनि नतिजा नआएको भन्दै उनले थपे, ‘एउटै काम एउटै तरिकाले बारम्बार गर्ने तर नतिजा फरक अपेक्षा गर्ने, यो सम्भव हुँदैन। त्यसैले अब विधि बदलौं, तरिका बदलौं।’ तीसौं वर्षदेखि एउटै दललाई मत दिएर पनि सुधार नभएकाले अब दलका उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाई थियो।

यसैबीच, अटेरी उम्मेदवारहरुले कार्ययोजना पत्र सार्वजनिक गरेका छन्। कार्ययोजनामा यो समूहले भाग्य निर्माणमा पर्यटन, अर्जुन दृष्टिमा शिक्षा र स्वास्थ्य, पहिचानमा सुशासन’ राखेको छ। अटेरी समूहले पोखराको विकासको मुख्य आधार पर्यटन भएकाले यसको विकास गर्ने भन्दै पहिलो प्राथमिकतामा राखेको बताएको छ। त्यस्तै शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने घोषणा गर्दै पाँच वर्षभित्रमा पोखरालाई देशकै उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा स्थापित गर्ने बताएको छ।

यसैगरी, अटेरी समूहले पोखरालाई स्वास्थ्य उपचारको गन्तव्य सहरको रुपमा विकास गर्ने बताएको छ। त्यसका लागि जनशक्ति व्यवस्थापन र पूर्वाधार निर्माणमा जोड दिने कार्ययोजना पत्रमा उल्लेख छ। सुशासनलाई प्राथमिकतामा राखेको अटेरी समूहले सार्वजनिक जग्गा फिर्ता ल्याउने, वातावरणीय प्रभाव मूल्याङ्कन, त्यसको पूर्णतया कार्यान्वयन बिना विकास योजना नबनाउने, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, व्यवस्थित खेलकुद मैदान बनाउने, पार्क निर्माण गर्नेलगायतका कार्ययोजना बनाएको जनाएको छ।

त्यस्तै, पारदर्शिताका लागि प्रविधि, अनियमिततामाथि शुन्य सहनशीलता, वैज्ञानिक कर प्रणाली, कर छुट, सहरी सुरक्षामा ध्यान दिने, अधिकार सम्पन्न टोल विकास समिति, महिलामुखी कार्यक्रम सञ्चालन, लैङ्गिक हिंसाप्रति शून्य सहनशीलता, सडक, यातायात र पार्किङ व्यवस्थापन, बसपार्कको समस्या हल गर्नेलगायतका योजना कार्यान्वयन गर्ने घोषणा सो समूहले गरेको छ।

प्रकाशित: २६ चैत्र २०७८ १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App