५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

जनकपुरधाममा मेयरका दाबेदार वडाध्यक्षदेखि सांसदसम्म

वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन तयारीमा राजनीतिक दलहरू जुटेका छन्। दलका शीर्ष नेताहरू पनि मधेसमा आएर चुनावी गतिविधिमा सहभागी भइरहेका छन्।

विभिन्न दलबाट उम्मेदवारका आकांक्षीले पनि आन्तरिक रूपमा तयारी तीव्र बनाएका छन्। आकांक्षीहरूले टिकटका लागि शीर्ष नेताहरूसँग लबिङ गर्न थालेका छन्। टिकट पाउने सम्भावना नदेखिएका आकांक्षीले दल त्याग गर्ने क्रम पनि बढेको छ। तुलनात्मक हिसाबले अघिल्लो निर्वाचनभन्दा यसपालि बढी प्रतिस्पर्धा हुने देखिएको छ।

मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा पनि दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। जनकपुरधामको मेयरमा विभिन्न दलका गरी करिब एक दर्जन आकांक्षीले दाबी प्रस्तुत गरिरहेका छन्।

प्रदेश सांसददेखि पूर्वमेयर पनि मेयर बन्ने आन्तरिक तयारीमा जुटेका छन्। वर्तमान मेयर लालकिशोर साह महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका हुन्। निर्वाचनपछि उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र ठाकुर नेतृत्वमा रहेको राजपा मिलेर जनता समाजवादी पार्टी (जसपा) बन्यो। त्यो एकता टिक्न सकेन। अहिले यादव र ठाकुर अलगअलग छन् ।

जसपाबाट अलग्गिएर ठाकुरले आफ्नो नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका छन्। लोसपामा मेयर पदका आकांक्षी धेरै देखेर वर्तमान मेयर साहले कित्ता फेरेका हुन्। जसपाबाट ठाकुर अलग भए पनि साह सोही दलमा छन्। जसपाबाट उनको उम्मेदवारी निश्चितजस्तै छ।

तर अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालका तर्फबाट मेयरका प्रत्यासी हाल जसपाका नगर अध्यक्ष विसुनदेव साहले पनि उम्मेदवारी दिने बताइरहेका छन्। ‘म अघिल्लो चुनावमा पनि लडेको हुँ। पार्टीले प्राथमिकतामा मलाई नै राख्नुपर्छ। म पार्टीको नगरअध्यक्ष पनि हो। लालकिशोरजी जसपामा आएदेखि नै उहाँलाई सहयोग गर्दै आएको छु,’ विसुनदेवले भने, ‘पार्टीले जे निर्णय गर्छ, जसलाई टिकट दिन्छ, म सहयोग गर्छु, पार्टीको निर्णयमा बाधक बन्दिनँ ।’ जसपाबाट अर्का एकजनाले पनि मेयरमा आफ्नो दाबी गरेका छन्। उनी हुन्– बजरंग यादव ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मेयरका प्रत्यासी मनोजकुमार साह थिए। उनी तत्कालीन राजपाका उम्मेदवार लालकिशोर साहका निकटतम प्रतिद्वन्द्वी थिए। यो निर्वाचनमा पनि नेपाली कांग्रेसले मेयरमा मनोजकुमारलाई नै अघि सार्ने बुझिएको छ। साह कांग्रेसमा नेता विमलेन्द्र निधिनिकट मानिन्छन्। कांग्रेस नगर उपसभापति राकेश विक्रमले मेयरमा दाबी गर्दै आएका छन्। उनी यसअघिको निर्वाचनमा उपमेयरका उम्मेदवार थिए। कांग्रेसबाट बजरंग साह पनि मेयरका आकांक्षी देखिएका छन्। उनले टिकट नपाए पार्टी त्याग्ने चर्चा छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चारजनाले मेयरमा दाबी गरिरहेका छन्। लोसपाका प्रदेश सांसद एवं प्रदेशसभामा प्रमुख सचेतक प्रमेश्वर साह सुडी पनि मेयर बन्न चाहेको बताउँछन्। लोसपाबाट जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित रीता झाले पनि महिला नेतृत्वको आवश्यकता औंल्याउँदै मेयरमा दाबी गर्दै आएकी छन्। लोसपाबाट जनकपुरधाम–७ को वडाध्यक्षमा निर्वाचित जानकीराम साह र पार्टी नगरअध्यक्ष मनोज चौधरी पनि मेयरमा लड्ने मनस्थितिमा छन्।

एमालेबाट दुईजनाले मेयरमा दाबी गरेका छन्। जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिवशंकर साह र उमेश चौधरीले मेयरका लागि आकांक्षा देखाएका छन्। जनकपुरमा एमाले कमजोर देखिएका कारण आकांक्षी कम रहेको नेताहरूको आकलन छ। ‘पार्टीले अहिलेसम्म मलाई अगाडि सारेको छ।

पार्टीले टिकट दियो भने मैले चुनाव जित्न सक्छु। वाणिज्य संघको अध्यक्ष बनेर गरेको कामको मूल्यांकन गरी नगरवासीले मलाई मत दिन्छन्,’ शिवशंकरले भने, ‘तैपनि पार्टीले जे निर्णय गर्छ, त्यो स्वीकार गरी अगाडि बढ्छु ।’ नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीबाट अहिलेसम्म कसैले पनि मेयरमा दाबी प्रस्तुत गरेका छैनन्। यी दलले अरू कसैलाई समर्थन गर्नेछन्।

प्रकाशित: २२ चैत्र २०७८ ००:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App