५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपालमा राजनीतिबाट समृद्धि सम्भव छैनः खनाल

पूर्व अर्थसचिव रामेश्वर खनालले नेपालमा राजनीतिबाट समृद्धि सम्भव नभएको बताएका छन्। कर्पोरेट गल्फ प्रतियोगिताबारे बाह्रखरी मिडियाले आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले राजनीतिमा लाभ लिने प्रवृत्ति बढेको भन्दै युवाहरूलाई उद्यमशील बनाएर मात्र समृद्धि हासिल हुने बताए। ‘राजनीतिबाट समृद्धि सम्भव भएन। जसले जहाँ सक्छ, त्यहाँ लाभ लिने प्रवृत्ति बढ्यो,’ खनालले भने,‘यो समस्या निजी क्षेत्रमा पनि छ। धन संग्रह आफूले मात्र गर्ने प्रवृत्ति देखियो।’

खनालले युवा उद्यमशीलताबाट मात्र समृद्धि आउने उल्लेख गर्दै निजी क्षेत्रमा पनि जसरी पनि धन संग्रह गर्ने प्रवृत्ति रहेको टिप्पणी गरे तथापि उनले निजी क्षेत्र अग्रसर नभै विकास पनि नहुने बताए। ‘अब गर्ने भनेको निजी क्षेत्रले नै हो तर कस्तो हुनुपर्‍यो भने उद्यमी निजी क्षेत्र हुनुपर्‍यो, उत्पादनशील निजी क्षेत्र हुनुपर्‍यो,’ खनालले भने,‘जसले आफू मात्र सम्पन्न हुने होइन कि सम्पत्ति सेयरिङ गर्नुपर्छ भन्ने कुरामा विश्वास गरोस्। त्यो सेयररिङ भनेको चन्दा दिएर, बाँडेर जस्तो होइन कि उसले गर्ने उत्पादनको श्रृंखलामा अरू साना व्यवसायी, आम किसान र उत्पादकहरू गाँसिनुपर्‍यो।’

अर्थविद् खनालले उद्यमीको चरित्र बिग्रदै गरेकामा पनि चिन्ता प्रकट गर्दै निष्ठावान् युवा उद्यमी हुनुपर्ने बताए। ती उद्यमीहरूले लुटतन्त्रमा नभै पौरखमा विश्वास गर्ने हुनुपर्नेमा खनालको जोड थियो। ‘अब युवा उद्यमीहरू मात्र होइन, निष्ठामान् पौरखी उद्यमी हुनुपर्छ,’ उनले भने, ‘जसले पौरखमा विश्वास गरोस्, लुटतन्त्रमा विश्वास नगरोस्, राज्यको स्रोत कब्जा गरेर, प्राकृतिक स्रोत कब्जा गरेर हुँदाहुँदा ऐतिहासिक, पुरात्तात्विक सम्पत्ति पनि कब्जा गर्ने प्रवृत्ति देखियो।

त्यसरी धन संग्रह गरेर निजी क्षेत्रले नेपाललाई योगदान गर्न सक्दैन।’ खनालले देशको विकास गर्न नविन सोचमा आधारित भएर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुने गरी उद्यमशील हुनुपर्ने बताए। नेपाली युवा जनशक्तिको क्षमता र दक्षता प्रमाणित भइसकेको भन्दै उनले वित्तीय बजार पनि लगानी गर्न समक्ष भएको खनालले बताए। ‘नेपालको वित्तीय बजार पनि पर्याप्त मात्रामा यी गतिविधिलाई फाइनान्स गर्न सक्षम छ। दक्षिण एसियमा सबभन्दा बढी मुद्रा र जिडिपी रेसियो छ। यो पैसाको प्रयोग उद्यमशील उत्पादनमा गर्न सकियो भने लाभ पुग्छ,’खनालले भने।

प्रकाशित: १७ माघ २०७८ ०४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App