२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

सदन चलाउन संवेदनशील बन्नोसः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले लामो समयदेखि सदन चल्नै नपाएको बताउँदै बहसबाटै निकासको लागि सदन खोल्नुपर्ने बताएका छन्। सदन नचल्दा सरकारका महत्वपूर्ण कामहरु रोकिएको भन्दै दलहरुलाई सदन चलाउन गम्भीर बन्न आग्रह समेत गरे। मन्त्री खाँणले निर्वाचनमा सहभागी हुने दल, नेता तथा प्रतिनिधि समस्याप्रति संवेदनशील हुनुपर्ने बताए।  

‘जनप्रतिनिधिले आफनो विचार राख्ने, सरकारलाई सल्लाह दिने, खबरदारी गर्न पाउनुपर्छ,’ गृहमन्त्री खाँणले बिहीबार पोखरामा आयोजित २३ औं पोखरा सडक महोत्सवको उद्घाटन गर्दै भने, ‘सदन(हाउस) चल्नै पाउँदैन, कसरी जनप्रतिनिधिले आफनो विचार राख्ने र खबरदारी गर्ने?’ लामो समयदेखि सदन चल्न नपाएको भन्दै गृहमन्त्री खाँणले राजनीतिक दल, नेता एवं प्रतिनिधिलाई बहसको लागि सदन खोल्न आग्रह गरे।

‘दलहरु सदन सूचारु गर्न गम्भीर बन्नुपर्छ,’ उनको भनाई थियो। दल तथा नेताहरु संवेदनशील नहुँदा समस्याको समाधान हुन सकेको छैन। सरकार वार्ताबाट समस्याको समाधान गरेर अगाडि बढ्ने स्पष्ट धारणा रहेपनि सदन चलाउने विषयमा अरु दलहरु गम्भीरता नदेखाएको आरोप उनको थियो।  

उनले समस्याप्रति सबै संवेदनशील बनौ भन्दै सदन सूचारु गरेर नीति तर्जुमा गर्नुपर्नेमा जोड दिए। तर्जूमा गरिएको नीतिलाई सरकार कार्यान्वयन गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। गृहमन्त्री खाँणले संविधानको मुल धारमा सामेल भएका नभएका दलहरु बार्ताको लागि समेत आह्वान गरेका छन्। तराईमा पछिल्लो समयदेखिको हिंसात्मक गतिविधिप्रति इंकित गर्दै मन्त्री खाँणले बहस र छलफलबाटै समस्याको समाधान गर्नुपर्नेमा जोड दिए। सदन चलेमात्रै सरकारले आवश्यक पर्ने विधेयक ल्याउन सक्ने बताउँदै विधेयकको लागि समेत राजनीतिक दल, नेताबीच छलफल र बहस हुुनुपर्ने बताए। सदन चल्नै नपाउँदा दलहरुबीच बहस र छलफल हुन कठिनाई भएको मन्त्री खाँणको भनाई थियो।

‘जनताको चाहना शान्ति हो। शान्तिको विकल्प शान्ति नै हो,’ उनले भने,‘संविधानलाई जोगाउने, टिकाउने र चलाउने हामी नै हौं।’ उनले लोकतान्त्रिक विधिबाटै सम्बोधन गर्न सरकार रहेको उल्लेख गरे। ‘संवाद र वार्ताबाटै सम्बोधन गर्न सकिने विश्वास छ,’ उनको भनाई थियो। मन्त्री खाँणले लामो समयको प्रयासपछि संविधानको निर्माण भएको उल्लेख गर्दै संविधानप्रति सबैले अपनत्व ग्रहण गर्नुपर्ने जिकिर गरे।

प्रकाशित: १५ पुस २०७८ ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App