१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रचण्ड र माधव कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा छन्ः पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागेको बताएका छन्। 

सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेताद्वय दाहाल र नेपाल पुँजिवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिशनमा लागेको दावी गरे।

उनले दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भएको आरोप समेत लगाए। महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको राजनीतिको चुनौतीको रुपमा रहेको उल्लेख गरेका छन्। 

 ‘यो दक्षिणपन्थी अवसरवाद कस्तो रहेछ, कुरा क्रान्तिकारीका गर्ने तर आफ्नो स्वार्थमा धक्का लाग्ने वित्तिकै त्यो क्रान्तिको आदर्शबाट च्युत भएर दक्षिणपन्थीको सेवामा सर्मपित गरिहाल्ने। यो इतिहासको शिक्षा हो। उग्रताको कुरा गर्नेहरु अन्तिममा दक्षिणपन्थी अवसरवादको शिकार हुन्छन् भनेर हाम्रा अग्रजहरुले भन्ने गरेका थिए त्यो चिज आज माओवादी आन्दोलनका सुप्रिमो ठानिने पुष्पकमल दाहाल प्रचण्डको जीवनमा पनि देखिया,’उनले भने। 

‘हाम्रै आन्दोलनको लामो समयको नेताका रुपमा रहेका माधव नेपाल जसलाई हामीले ३ कार्यकाल पार्टीको प्रमुखको रुपमा जिम्मेवारी सुम्प्यौँ, उहाँलाई नेता मान्यौँ। उहाँले पनि आफ्नो जिवनमा त्यो चिजलाई प्रकट गर्नुभयाे।’

प्रकाशित: २७ मंसिर २०७८ १०:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App