१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गुरुराज घिमिरेको टिप्पणीः सभापति देउवाले ममाथि दोस्रो पटक राजनीतिक हिंसा गरे

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा गरेको टिप्पणी गरेका छन्।

मंगलबार चाक्सीबारीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता घिमिरेले नेपाली कांग्रेस प्रदेश नं. १ को निर्वाचनमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले सत्ताको चरम दूरुपयोग गरी आफूलाई हराएर दोस्रो पटक राजनीतिक हिंसा गरेको बताएका हुन्। गत संसदीय निर्वाचनमा आफू जनमत, योगदान र पहिचानले पहिलो नम्बरमा पर्न सफल भएपनि टिकट नदिएर सभापति देउवाले पहिलो पटक राजनीतिक हिंसा गरेको उनको भनाइ छ।

कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन मुल्य स्खलनको जिवन्त उदाहरण भएको उनले बताए। पार्टीको सिद्धान्त, आदर्श र मुल्यमान्यतालाई अपहेलित गरेर निर्वाचन सम्पन्न गराइएको उनले उल्लेख गरे।

उनले भने, ‘मूल्य स्खलनको एउटा चरम दृष्टान्त हो, जिवन्त दृष्टान्त हो प्रदेश नम्बर १ को निर्वाचन। पार्टीको सिद्धान्त, आदर्श, मूल्यमान्यतालाई कुल्चेर, त्यसलाई अपहेलित गरेर प्रदेश नम्बर १ को निर्वाचन सम्पन्न भयो। सत्ताको चरम दुरुपयोग गरियो। राजनीतिक हिंसाको श्रृङ्खला उहाँले नै सुरु गर्नुभएको हो।’

नेता घिमिरेले प्रदेश १ को निर्वाचनमा धनवाद र डनवादको प्रयोग भएको बताए। सभापति देउवाले आफ्नो गुटलाई पक्षपोषण र मलजल गर्न प्रधानमन्त्रीको कुर्सी प्रयोग गरिएको भन्दै उनले पार्टीको महाधिवेशनमा सत्ताको चरम दूरुपयोग गर्नेले मूल्य चुकाउनुपर्ने बताए।

प्रकाशित: २१ मंसिर २०७८ १३:३७ मंगलबार

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा