६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जुम्ला काँग्रेसः सहमतीय नेतृत्व छनौट गर्न दबाब

नेपाली काँग्रेस जुम्लाका नेता कार्यकर्ताले सहमतीय नेतृत्व छनौट गर्नको लागि दबाब दिएका छन्। उनीहरुले स्वस्थ प्रतिस्पर्धाका नाममा पार्टीभित्र चुनाव गरी तिक्तता नबढाउनको लागि आग्रह गरेका छन्।

‘अहिले स्थानीय तह र आम चुनाव नजिकिँदै गइरहेको छ। पार्टीभित्र निर्वाचन गरेर माहोल धुमिल बनाउनु हुँदैन। एक भएर सहमति गरेर एकताको सन्देश दिनुपर्छ भन्ने आवाज कार्यकर्ता माझ उठेको थियो’, युवा नेता महेन्द्र कार्कीले भने, ‘नेताहरुलाई सहमतिको वातावरण बनाउन व्यापक दबाब सिर्जना भएको छ। उनीहरुले पनि सहमतिको अन्तिम विन्दु सम्म छलफल गर्ने बताएका छन्।’

नेताहरुले पनि सहमतिको लागि हदै सम्मको पहल गर्ने जनाएका छन्। नेपाली काँग्रेस जुम्लाका सचिव कार्मा बुढा सहमतिको प्रयास जारी रहेको बताउँछन्। उनले भने, ‘स्थानीय तहको चुनाव नजिकिँदै गर्दा पार्टीभित्र हुने चुनावले पक्कै पनि राम्रो सन्देश जाँदैन। सबैको जीत हुने गरेर नेतृत्व चयन गर्न आवश्यक छ। यो नै उपयुक्त विकल्प हुनुपर्छ।’

काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट दीपबहादुर शाही र प्रधानमन्त्री तथा पार्टी सभापतिको प्यानलबाट कर्णबहादुर शाहीले सभापतिको दाबी गरिरहेका छन्। शाही झण्डै दुई कार्यकाल जुम्लाको सभापति भएका व्यक्ति हुन्। शाही नेपाली काँग्रेसका वर्तमान सचिव हुन्।

नेपाली काँग्रेस जुम्लामा अहिले तीनवटा खेमा स्पष्ट रुपमा देखिएका छन्। एउटा पौडेल, अर्को देउवा र तेस्रो खेमा सहमतीय नेतृत्वको लागि दबाब सिर्जना गरिएको छ। तेस्रो खेमाले दुई जनाको विकल्पमा सबैलाई मान्य हुने अर्को व्यक्तिलाई सभापतिको रुपमा अघि सार्न माग गरिरहेको छ। त्यो मागप्रति पौडेल र देउवा प्यानल राजी छैनन्।

सचिवको लागि लक्ष्मण शाही, दिल्लीबहादुर महतले पौडेल प्यानलबाट तयारी थालेका छन्। देउवा प्यानलबाट दानबहादुर बुढा र घनश्याम थापाले तयारी गरिरहेको नेपाली काँग्रेस जुम्लाले जनाएको छ।

प्रकाशित: २ मंसिर २०७८ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App