७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने हल्ला मात्रः नेपाल

पोखरामा शुक्रबार विहान संचारकर्मीसँग नेता नेपाल। तस्बिरः उमेश पुन/नागरिक

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर रााणालाई महाअभियोग लगाउने कुरा हल्ला मात्र भएको बताएका छन्।

नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशको आयोजनामा शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रधानन्यायाधीश रााणालाई महाअभियोग लगाउनेबारे प्रस्ताव नै नआएको बताएका हुन्। ‘प्रधानन्यायाधीश राणालालाई महाअभियोग लगाउने कुरा बजार हल्ला मात्र हो। यसबारे कसैले प्रस्ताव ल्याएको पनि छैन। दलहरुबीच छलफल पनि भएको छैन। हल्लाको पछि दौड्न जरुरी छैन,’ उनले भने।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतका पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्छ भनेर अदालतको हुर्मत लिने काम गरेको आरोप लगाए। संसद पुर्नस्थापना गरेर अदालतले संविधान, कानुन र सिस्टम बचाएको भन्दै तिनै न्यायाधीशको राजीनामा माग्नु न्यायालयको हुर्मत लिनु मात्र हुने उनको भनाई थियो।

‘जालझेल, षडयन्त्र गर्ने ओलीले पाँचैजनाले राजीनामा दिनुपर्छ भनेर न्यायालयको हुर्मत लिने काम गरे। पूर्व प्रधानन्यायाधीशहरुको पनि हुर्मत लिने काम गरे। संविधानको हुर्मत लिने ओलीको पुरानै बानी हो,’ उनले भने। उनले न्यायपालिकामा अहिले केहि समस्या भएकोबारे जानकार भएको बताउँदै उक्त समस्या जहाँबाट उत्पन्न भएको हो, त्यहिँबाट समाधान हुनुपर्ने बताए।  

अध्यक्ष नेपालले ‘अर्लि इलेक्सन’हुने सम्भावना नरहेको बताए। उनले भने,‘अर्लि इलेक्सन’ बारे कुरा चलेकै छैन। यो हुने सम्भावना पनि छैन।’ उनले बरु स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटक गर्नु राम्रो हुने बताए। यसबारे आफुले सोंचेपनि आफ्नै दल र पाँच दलीय गठबन्धनमा छलफल भने गरि नसकेको उनले बताए। 

‘एकपटक एउटा चुनाव, अर्को पटक अर्को चुनाव गर्दा खर्च धेरै हुने भो, एकैपटक गर्दा राज्यको खर्चपनि जोगिन्छ, एकपटक पार्टी भित्र र पाँचदलीय गबठन्धनमा छलफल गर्नुपर्छ,’ उनले भने।

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन बनाएरै चुनावमा जाने बताए। तर कुनैपनि दलले ईच्छा राखेनन् भने नेकपा समाजवादी एक्लै चुनाव लड्नलाई नडराउने उनले प्रष्ट्याए। ‘हामीले चुनावसम्मै गठबन्धन कायम राख्ने सोंचेका छौं। तर चुनावी गठबन्धन नभएपनि फरक पर्दैन। सबैको सहमति हुन्छ भने गठबन्धन बनाएर चुनाव लडिन्छ। होइन सबै मिल्न सक्दैन भने एक्लै चुनाव लड्न पनि तयार छौं,’ उनले भने। उनले बामपन्थीहरु बीच पनि  

गठबन्धन हुन सक्ने बताए। बामपन्थीहरु मिलेर चुनाव लड्नुपर्छ भन्ने लागेपनि त्यसबारे ठोस छलफल नभएको उनले बताए।

नेकपा माओवादी केन्द्रसँग तत्काल एकता नहुने भन्दै उनले बरु चुनाव अघिसम्म आफ्नै पार्टीलाई बलियो बनाउन लाग्ने उनको भनाई छ। उनले चुनावमा गठबन्धन बनाएर नेकपा समाजवादीले उपलब्धी हाँसिल गरेपछि केपी ओलीहरुले थाहा पाउने बताए। ‘चुनावमा पाएको उपलब्धी पछि थाहा पाउनेछन् अहंकारीहरुले,’ उनले भने।

प्रकाशित: १२ कार्तिक २०७८ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App