१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

राजनीतिक संयन्त्र गठनको विवादले बैठक निष्कर्षविहीन

 काठमाडौँ - प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) को बैठक उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विवादले निष्कर्षविहीन बनेको छ।


प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको तीन दलको बैठक संविधान निर्माणलगायत यसअघि थाती रहेको विभिन्न नियुक्ति र सरकारका कामकारबाहीका सम्बन्धमा नजिक पुगे पनि राजनीतिक संयन्त्र गठन गर्ने विषयले निष्कर्षविहीन बनेको हो।

 बैठकमा समयमै संविधान निर्माण गर्न विवादित विषयमा तीन दलको समान धारणा बन्न लागेको बेला एमाओवादीले राजनीतिक संयन्त्र गठन हुनुपर्ने अनावश्यक विषय तेर्साएर बैठकबाट बाहिरिएको काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सञ्चारकर्मीलाई जानकारी दिए।  

 बैठकमा सत्य, निरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोग छिट्टै गठन गर्ने, शासकीय र सङ्घीय स्वरुप, निर्वाचन र न्यायप्रणालीलगायत विषयमा सहमति नजिक पुगी काँग्रेस एमालेले नेकपा–माओवादी र अन्य दलसमेतको सहमतिमा निष्कर्षमा पुग्ने धारणा राखेका थिए।

 सोही बेला एमाओवादीले विगतको सहमतिअनुसार उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने माग गरेपछि सत्तारुढ दलहरुले एमाओवादीकै नेतृत्वमा राजनीतिक सहमति तथा संवाद समिति निर्माण भई काम गरिरहेकाले संयन्त्रको औचित्यमाथि प्रश्न गरेको उपसभापति पौडेलले बताए।

 बैठकमा संविधान निर्माण अघि बढिरहेको परिस्थितिमा एमाओवादीले आफ्नो नेतृत्वमा गठन गरेको सङ्घीय गणतान्त्रिक मोर्चाका कामकारबाहीका सम्बन्धमा समेत सत्तारुढ दलले आलोचना गरेका थिए।

 आजको बैठकमा एमाओवादी एकाएक राजनीतिक संयन्त्र गठन हुनुपर्ने माग राखेर अघि बढिरहेको संविधान निर्माणको कामबाट विचलन हुन खोजेको एमालेका उपाध्यक्ष भीम रावलले आशङ्का व्यक्त गरे।

 नियमित तीन दलको बैठक बसिरहेको र प्रधानमन्त्री स्वयम्ले संविधानसभा बाहिरका दलसँग पनि वार्ता गरिरहेको बताउनुहुँदै उपाध्यक्ष रावलले संविधानसभाको दोस्रो निर्वाचनपछि दलहरुबीच संविधानसभा बाहिर कुनै पनि संयन्त्र गठन नगर्ने सहमति भएको समेत जानकारी गराए।

 तर यस सम्बन्धमा एमाओवादीले फरक विचार राखेको छ। एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरुले बैठकमा विगतमा प्रमुख तीन दलबीच भएको चारबँुदे सहमतिका कार्यान्वयन हुन बाँकी काम यथाशक्य हुनुपर्ने माग राखेको जानकारी दिए।

 उपाध्यक्ष श्रेष्ठले सत्तारुढ प्रमुख दलले शनिबारमात्रै चारबुँदे सहमतिमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठन आवश्यक नरहेको निष्कर्ष निकालेका कारण समस्या उन्पन्न भएको सञ्चारकर्मीलाई जानकारी गराए।

 साथै, उनले तोकिएको समयमै संविधान निर्माण गर्ने वातावरण बनाउन सत्तारुढ दल गम्भीर नभएको समेत आरोप लगाए।

 बैठकमा काँग्रेसका तर्फबाट सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, केन्द्रीय सदस्य नरहरि आचार्य र प्रवक्ता दीलेन्द्रप्रसाद बडू, एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, पूर्व वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय भीम रावल र विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल र एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव पोष्टबहादुर बोगटी र नेता देवेन्द्र पौडेल सहभागी थिए।

सत्तारुढ काँग्रेस र एमालेको बैठक आजै साँझ ५ बजे बालुवाटारमा बसी सहमति खोजिने बताइएको छ।

प्रकाशित: ८ भाद्र २०७१ ०४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App