१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

तीन महिना पछि काममा फर्किए पोखरा महानगरका मेयर

उपमेयरलाई कार्यबाहकको जिम्मेवारी

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कार्यबाहक प्रमुखको जिम्मेवारी उपमेयर मन्जुदेवी गुरुङलाई दिएका छन्। महानगर प्रमुख जिसीले उपप्रमुख गुरुङलाई आफू कार्यालय नआउँदासम्म कार्यवाहक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा जिम्मेवारी दिएका हुन्।  

बिरामी भई उपचारकालागि राजधानीमा रहेका मेयर जिसी तीन महिनापछि पोखरा फर्किएसँगै महानगरको कार्यालय पुगेका थिए। गत साउन १ गते बिरामी भएपछि पोखरा फर्किए लगत्तै कार्यालय पुगेका हुन्।  

जिसीलाई गत साउन १ गते मस्तिष्कघात भएपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा प्रारम्भिक उपचारपछि काठमाडौं लगिएको थियो। सोमबार कार्यालय पुगेर प्रमुख जिसीले नेपालीहरुको महान पर्व दसैं लगायत अन्य चाडपर्वहरुको अवसरमा नगरवासी तथा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरे।  

उनले कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडपर्व मनाउन आग्रह गरेका छन्। ‘चाडपर्वहरु अर्को वर्ष पनि आउँछन्,’ जिसीले भने, ‘स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन आग्रह गर्दछु।’ उनले स्वास्थ्यमा कुनै समस्या भएमा महानगरका स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा स्वास्थ्य जाँच गराउन आग्रह गरेका छन्।  

करिब एकघण्टा कार्यालयस्थित कार्यकक्षमा बसेका मेयर जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई अनुरोध गरेका थिए। आफू पनि पूर्ण रुपमा निको भएर छिट्टै काममा फर्किने विश्वास जिसीले त्यस अवसरमा व्यक्त गरे।  

महानगर प्रमुख जिसी कार्यालयमा पुग्दा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, सचेतकद्वय शोभामोहन पौडेल, रामराज लामिछाने, प्रवक्ता धनबहादुर नेपाली, वडाअध्यक्षहरु तथा विभिन्न महाशाखा प्रमुख तथा कर्मचारीहरुले स्वागत गरेका थिए।

प्रकाशित: २५ आश्विन २०७८ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App