१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

हिन्दुराज्यको मुद्दा बोक्दै मन्त्री भए गजेन्द्र हमाल

बाँकेका पुराना कांग्रेस नेता गजेन्द्र हमाल अहिले पार्टीको कुनै सक्रिय पदमा नरहेपनि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्न सफल भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई शुक्रबार मन्त्रीमा नियुक्त गरेका हुन्। यसका लागि हमाललाई प्रधानन्यायधीश चोलेन्द्रशम्शेर राणाको सिफारिस रहेको केही दिनअघिबाट चर्चा हुँदै आएका छ। तर हमालले उक्त आरोपलाई अस्वीकार गर्दै आएका छन्।  

उनी र प्रधानन्यायाधीश राणाबीचको साइनो ज्वाई–जेठान हो। आफू मन्त्री बन्नमा पार्टी बाहिरभन्दा भित्रैबाट सहयोग भएको हमालको दाबी छ। ‘म मन्त्री बन्नलाई बाहिरका मान्छेको सहयोग किन आवश्यक पर्‍यो र ?’ उनले भने ‘म राजनीति परिवारमा जन्मेको, हुर्केको मान्छे हुँ, नेपाली कांग्रेसको संगठन विस्तारमा मेरो योगदान कति छ ? त्यो त पार्टीले पनि मुल्यांकन गरेको होला।’  

२०१० फागुन ८ गते जन्मेका हमाल नेपालगन्ज उपमहानगरपालिका–२ का स्थायीवासी हुन्। २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा उनी बाँकेको जिल्ला अध्यक्ष थिए। २०४० सालमा स्थानीय त्रिभुवन चोकमा तत्कालिन राजा र रानीको फोटो च्यातेपछि उनको चर्चा चुलिएको थियो। २०३९ र २०४४ सालमा वडाध्यक्षमा निर्वाचित हमाल २०५३ सालमा कांग्रेस विभाजन हुँदा कांग्रेस प्रजातान्त्रिक बाँकेको सभापति बने।  

पहिलो संविधान सभा निर्वाचन २०६४ मा बाँके क्षेत्र नम्बर १ बाट उनी चुनाव लडेका थिए तर नेकपा माओबादीका नेता तिलक परियारसँग पराजित भए। त्यसयता उनी पार्टीको गतिविधीमा निष्क्रिय थिए। बरु, मुलुकमा हिन्दुराज्य स्थापना गर्नुपर्छ भन्दै हमालले अभियान नै थालेका थिए।

केही वर्षअघि उनले नेपालमा हिन्दुराज्य स्थापनाका लागि दवाव स्वरूप भारतबाट ठूलो संख्यामा सन्त, महन्तलाई नेपालगन्जमा जमघट गराएका थिए। ‘पार्टीले अहिले मलाई मुल्यांकन गरेर ठूलो जिम्मेवारी दिएको छ, म यो जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने छु,’ उनले भने। वर्तमान सरकारमा गैर सांसदबाट मन्त्री हुने उनी एक्ला हुन्। ६ महिनासम्म उनी सांसद नभए मन्त्री पद जाने कानुनी व्यवस्था छ।

प्रकाशित: २३ आश्विन २०७८ ०५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App