७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

संविधानले राजनीतिक र संवैधानिक विवादको अन्त्य गरेको छ: डा.महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले संविधानले राजनीतिक र संवैधानिक विवाद अन्त्य गरेको बताएका छन् ।  

सातौँ संविधान दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले झण्डै साढे सात दशक लामो लोकतान्त्रिक सङ्घर्षपछि नेपाली नागरिकले हासिल गरेको यस उपलब्धिले नेपालको राजनीतिक र संवैधानिक विवाद अन्त्य गरेको बताएका हुन्।  

 डा. महतले भने 'पहिलो पटक संविधानसभाद्वारा निर्मित नेपालको वर्तमान संविधान मुलुकमा जारी सशस्त्र द्वन्द्व र अन्य राजनीतिक मुद्दा व्यवस्थापनका लागि एक सम्झौताको दस्ताबेज हो, यो संविधान जारी भएसँगै राजनीतिक र संवैधानिक विवादहरुको अन्त्य भएको छ।'

नागरिकले प्राप्त गरेका स्वतन्त्रताको उपयोग गर्दै संविधान कार्यान्वयनका माध्यमबाट पर्याप्त भौतिक पूर्वाधार निर्माण तथा आर्थिक तथा सामाजिक क्षेत्रको द्रुततर विकास गरी नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउन आवश्यक भएको उनले बताए।  

संविधानसभाद्वारा संविधान निर्माणको विषय विसं २००७ सालको जनक्रान्तिका समयमै जननेता बीपी कोइरालाले उठान गरेको उल्लेख गर्दै सहमहामन्त्री डा महतले नेपाली कांग्रेस नेतृत्वमा नै संविधानसभाको निर्वाचन भइ संविधानसभाद्वारा निर्मित संविधान कांग्रेस नेतृत्वको सरकारले घोषणा गरेको स्मरण गरे।

उनले संविधानलाई समयानुकूल बनाउँदै लैजान सकिने बताउँदै यस ऐतिहासिक दिवसमा संविधानका हरेक विषयमा सहमति कायम गर्न खट्ने नेतागण, संविधान निर्माणमा प्रत्यक्ष सहभागी संविधानसभा सदस्य र सबै नेपाली नागरिकको योगदानको सराहना पनि गरे। 

प्रकाशित: ३ आश्विन २०७८ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App