७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस नगर सभापतिमा तीन आकांक्षी, श्रेष्ठले गरे उम्मेद्वारी घोषणा

नेपाली कांग्रेसका युवा नेता प्रकाश श्रेष्ठले आसन्न गाउँ÷नगरपालिका अधिवेशनमा कांग्रेसको नगरसभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। कांग्रेसको महाधिवेशन अन्तरगत वडादेखि गाउँ/नगरपालिका, जिल्ला हुँदै केन्द्रीय अधिवेशनको सारगर्मी बढिरहेका बेला युवा नेता श्रेष्ठले बुधबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै कांग्रेसको नगरसभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन्।

नगरसभापतिका अर्का आकांक्षी इन्द्र घिमिरे र युवा नेता दिनेश घिमिरेको प्रस्ताव र समर्थनमा श्रेष्ठले नगरपालिका सभापतिमा उम्मेद्वारी दिने निर्णय गरेका हुन्। हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडा सदस्य रहेका श्रेष्ठले गुटका कारण छरपष्ट बनेको कांग्रेसलाई एक बनाउँदै पार्टीलाई मजवुत बनाउने लक्ष्यका साथ आगामी भदौ २७ गते हुने गाउँ÷नगरपालिका अधिवेशनमा सभापतिको उम्मेद्वारी दिने घोषणा गरेको बताए।

उनले कांग्रेसका जिल्ला सभापति नरेश श्रेष्ठ, क्षेत्र नम्बर २ का सभापति तिर्थराज भट्टराई लगायतको उपस्थितिमा नगरसभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्। हाल कांग्रेसका जिल्ला सदस्य एवं अनुशासन विभाग प्रमुख रहेका श्रेष्ठले सामान्यतः माथिल्लो पदमा जानुपर्ने भए पनि पार्टीको फेदलाई बलियो बनाउने लक्ष्यका साथ नगर सभापतिमा उम्मेद्वारी दिने तयारी गरेको बताए। ‘अहिलेको हैसियतअनुसार मैले माथिल्लो पदमा दावी गर्नु पर्ने हो। तर, नगरसभापतिमा उठ्ने निर्णय गरेको छु,’ श्रेष्ठले भने, ‘अब पार्टीको टुप्पोलाई राम्रो बनाउन खोजेर हुँदैन। फेद राम्रो बनाउनुपर्छ। म पार्टीको फेद दह्रो बनाउने भिजनका साथ अघि बढेको छु।’

उम्मेद्वार श्रेष्ठले नगर सभापतिमा चुनिएको अवस्थामा नगरपालिकाको अनियमितता र योजना फरफराकका विषयमा खबरदारी गर्ने, प्रतिपक्षीले निभाउनुपर्ने भूमिकाका विषयमा वडाध्यक्षहरुसँग छलफल गर्ने योजना बनाएको बताए। उनले आफ्नो पार्टी तथा अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरेको राम्रो कामलाई समर्थन गर्दै खराब काममा विरोध गर्ने जनाए। ‘आफ्नो पार्टीका होस् या अन्य पार्टीको। राम्रो काम गर्नेलाई समर्थन गर्ने हो, गलत काम गर्नेको विरोध गर्ने हो,’ श्रेष्ठले भने, ‘म राजनीतिको पिएचडी गर्ने परिक्षामा सामेल भएको छु। कांग्रेसको वडा समितिलाई सहकारीको सिस्टममा चलाउने योजना छ।’  

श्रेष्ठको टिमबाट उपसभापतिमा लक्ष्मण आचार्य र अर्जुनदेव राई, सचिवमा गिरीराज राई र युवक राई, सह–सचिवमा अञ्चल राई र सन्तोष खत्रीले उम्मेद्वारी दिने तयारी छ। २०४७ सालमा दिक्तेलको सरस्वती माविबाट नेविसंघको तदर्थ इकाई उपसभापति बनेर राजनितिमा प्रवेश गरेका श्रेष्ठ २०४९ सालमा नेविसंघको जिल्ला सदस्य, २०६७ सालमा कांग्रेसको जिल्ला सदस्य बनेका थिए। कांग्रेस नगर सभापतिका अर्का आकांक्षी घिमिरेले श्रेष्ठलाई समर्थन गरेपछि अव तीनजना आकांक्षी मैदानमा देखिएका छन्। यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष रामचन्द्र राईले भदौ १३ गते नगरसभापतिमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन्। नेता राजन सैंजू नगर सभापतिका अर्का आकांक्षी हुन्। सकेसम्म सहमतिमा नगर सभापति टुंग्याउन पहल गरिने श्रेष्ठले बताए। 

प्रकाशित: २३ भाद्र २०७८ १४:३७ बुधबार

कांग्रेसको महाधिवेशन